शिक्षण सिकाइको चुनाैती : कक्षा भिन्न रुचिहरूको जमघट हो भन्ने कुरा न शिक्षक बुझ्यौं  न अभिभावकले नै !
फरक फरक आकारका भाँडोमा एकै प्रकारको बिर्को !
जेठ २७, २०७७

शिक्षा र समाजको सम्बन्ध एकै रथका दुई पाङ्ग्रा जस्तै हुन्छ । समाज जुन गतिमा चलेको छ शिक्षा पनि सोही अनुसार प्रभावित हुने गर्दछ । शिक्षालाई परिवर्तित समाज अनुकूल लैजान सकिएन  भने त्यहाँ शैक्षिक सङ्कट उत्पन्न हुन्छ । सङ्कट उत्पन्न हुने मात्र नभई समाजका हरेक पक्षमा ग्रहण नै लाग्दछ । अथवा भनौँ अन्ततः राष्ट्रले गति लिन सक्दैन । तसर्थ शिक्षामा  विकास  हुनु भनेको व्यक्तिको, समाजको र समग्र राष्ट्रको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक क्षेत्रमा सुधार आउनु हो । 

हालै सरकारले प्रस्तुत गरेको बजेटमा  सरकारले शिक्षा, स्वास्थ्य र  कृषि क्षेत्रलाई प्राथमिकतामा  राखेको छ । तर त्यो बजेट पर्याप्त भने छैन ।  देश विकासको आधार नै शिक्षा, स्वास्थ्य र  कृषि हो भन्ने हाम्रो पुस्तौँ देखिको  मान्यता रहँदै आएको छ । जुन कुरा अहिले राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रमा  सृजना भएको परिस्थितिले छर्लङ्ग पारेको छ । यस  परिप्रेक्ष्य सबै तह र तप्काका  मानिसहरूले पनि यही कुरालाई बढी महत्त्वका साथ हेरिरहेको पाइन्छ । तसर्थ अबको संवृद्धि भनेको नै शिक्षा, स्वास्थ्य र  कृषिमा आउने आमूल परिवर्तन नै हो । कृषि  र स्वास्थ्यमा क्रान्तिकारी परिवर्तन ल्याउनमा शिक्षाको महत्त्वपूर्ण भूमिका र हात हुन्छ भन्ने कुरामा कसैको दुइमत हुन सक्दैन । 

 यस परिस्थितिमा बैकल्पिक शिक्षाको रूपमा भर्चुअल कक्षा, विद्यार्थी वा शिक्षकका घरमै गएर दिइने लिइने शिक्षा , पढेलेखेका समाज सेवीले रेडियो तथा टिभीका माध्यमबाट दिइने शिक्षा, घरमा नै बसेर घरका परिवारहरूबाट सिकिने शिक्षालाई लिन सकिन्छ । जसरी शिक्षणका फरक फरक विधि प्रविध हुन्छन् । त्यस्तै  विद्यार्थीका सिक्ने प्रवृत्ति पनि फरक फरक  हुन्छन् । जोन डिवेले  भनेका छन् ‘शिक्षाले व्यक्तिका इच्क्षा चाहनालाई  पुरा गर्नु पर्दछ’ त्यस्तै  वोडर्यले भनेका छन् ‘शिक्षाले पुनरुत्थानवादी र विकासवादी उद्देश्य लिएर अगाडि बढ्नु पर्दछ ।  जसका लागि बाल मैत्री सिकाइ वातावरण हुनु आवश्यक छ । 

त्यस्तै हाल नेपाल सरकारले शैक्षिक सत्र खेर जान नदिनका लागि विद्यालय तहमा विकल्पको रूपमा अनलाइन शिक्षाको नीति अघि बढाएको छ । तर अनलाइन शिक्षा कक्षाकोठाको शिक्षाको विकल्प कदापि हुन सक्दैन । हामीलाई थाहा नै छ कि कक्षाकोठा पहिचान, प्रतिस्पर्धा र सहयोग जस्ता प्रेरकहरूको श्रोत हो । अनलाइन  शिक्षाको सबैभन्दा ठुलो सीमितता प्रेरणामा कमी नै हो । तसर्थ यसलाई पूरकको रुपमासम्म प्रयोग गर्न सकिन्छ, विकल्पको रूपमा भने होइन । 

प्रेरणाको अनुपस्थितिमा प्रयास हुँदैन र  प्रयासको अभावमा सिकाइ हुँदैन भन्ने कुरा बुझ्नु जरुरी छ । यस सङ्कटको परिस्थितिमा औपचारिक शिक्षाको रूपमा भर्चुअल कक्षाको अभ्यास धेरै जसो निजी विद्यालयहरूले गरिरहेको पाइन्छ ।  कक्षा कोठामा शिक्षकले पढाएका कुरा भन्दा पनि सहपाठी (विद्यार्थी-बिद्याथी)बाट धेरै कुरा सिक्ने गरेका हुन्छन् । क्रमशः उनीको बुद्धि लब्धि  बढेर जाने गर्दछ ।

 तर पनि यस विषम परिस्थितिमा  प्रविधिको प्रयोग उपयोगी नै देखिन्छ । प्रविधिलाई प्रयोग गरेर कक्षा कोठामा शिक्षण गर्न सकयौ‌  भने अति उत्तम सिकाई हुन्छ । अहिलेको अनलाइन कक्षाले प्रविधिलाई घरसँग जोडेको छ । निश्चित कक्षा कोठामा चुकुल लगाएर पढाउने मानसिकतालाई फराकिलो भने बनाएको छ । शिक्षक र विद्यार्थीलाई प्रविधिसँग सामीप्यमा राखेको छ ।  केही दिन अगाडी  मात्र एक  निजी विद्यालयमा पढाउने शिक्षकसँग कुरा हुँदा उहाँको भनाइ थियो  ‘ओहो ! कसरी पढाउने होला google search, google classroom, zoom, MSteams, email  हेर्ने, पठाउने बारे अनविज्ञ नै छु ।’ तर उहाँले केही तालिम लिनु भयो र  अहिले गर्दै जाँदा यस प्रविधिलाई भरपुर प्रयोग गरी कक्षा लिई रहनु भएको छ । विद्यार्थीलाई  इन्टरनेट प्रयोग गरी गुगलबाट नयाँ नयाँ कुरा खोजेर पढ्ने, विद्यार्थीलाई पठाउने, गृहकार्य दिने हेर्ने, इमेल गर्ने सबै अनलाइन बाटै गर्नु हुन्छ ।  विद्यार्थी पनि निकै रुचिका साथ यसको प्रयोग गरेर पढ्न रमाइ रहेको  देखिन्छ ।

शिक्षाका जुन विधि वा तौर तरिका अपनाएपछि त्यसले विद्यार्थीका व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्यो कि सकेन त्यो महत्त्वपूर्ण कुरा हो । शिक्षाले विद्यार्थीका आन्तरिक प्रतिभालाई इंकित गर्न सक्नुपर्दछ । त्यसलाई फक्रने वातावरण दिनु पर्दछ । यसले गर्दा बिद्यार्थीहरुमा नयाँ नयाँ ज्ञान, सिप तथा अनुभवे विकास हुने, समस्या कुशलताका साथ हल गर्ने, असल व्यवहार गर्ने, अधिकारको प्रयोगमा कर्तव्य पनि सम्झने, चुनौतीहरू सजिलै समाधान गर्ने, समूहमा काम गर्ने र सामूहिक भलाइमा जोड दिने बानीको विकास गराउन सकिन्छ । 

यसरी नै प्रविधिलाई सामुदायिक शिक्षाको पहुँचमा पनि समाहित गर्न सक्नु पर्दछ । त्यहाँका शिक्षक कर्मचारीलाई शिक्षामा प्रविधिको प्रयोग बारे अभिमुखीकरण हुने वातावरण भएमा अवश्य पनि उहाँहरूले निजी विद्यालयका शिक्षकले जस्तै सामुदायिक विद्यालयका  विद्यार्थीलाई  शिक्षा प्रदान गर्न सक्नु हुन्छ । जसले गर्दा सबै विद्यार्थीले पढ्न पाउनु पर्छ भन्ने बर्षाै देखिको हाम्रो नारा सार्थक बन्न सक्छ । समतामुखी समाजको निर्माण हुन्छ ।  समस्या भनेको सोचमा हो यदि हामी  सकारात्मक सोच लिएर अघि बढ्यौ भने सफलता हात पार्न सक्छौ । महँगा शैक्षिक समंग्री हुँदैमा सिकाई बढी हुने भन्ने होइन ।  हामीसँग भएका हाम्रै सेरोफेरोका विषय बस्तु प्रयोग गरेर पनि विद्यार्थीको सृजनात्मक क्षमताको विकास गराउन सकिन्छ र पढाई प्रति उत्प्रेरणा बढाउन सकिन्छ ।

प्रविधिको प्रयोग गरेर टिक टक बनाउन, फोटो अपलोड गर्न, म्यासेन्जरमा कुराकानी गर्न जान्ने  हामी प्रविधिको प्रयोग गरेर  पढाउन सक्ने कि नसक्ने ? अहिलेको समाजमा मोबाइल बिना बाच्न सक्ने मानिस  पनि त छैनौ नि ! तसर्थ  यस्ता बस्तुहरूको  दुरुपयोग नगरी आफ्ना बालबच्चाको पढाइमा अलि कति सचेत भयौ भने शिक्षाका धेरै उद्देश्यहरू पुरा हुनसक्छन । 

भनिन्छ शिक्षण एक कला पनि हो । यसमा विद्यार्थीका संवेग हुन्छन्, शिक्षकका अनुभव हुन्छ, अभिभावकका चाहना हुन्छन् र  राष्ट्रका गौरव एक साथ रहेको हुन्छन् । तसर्थ अब हाम्रा सोच बदलौँ, व्यवहार बदलौँ र सबैको सह अस्तित्वको खोजी गरौँ ।  सबैलाई सम्मान गर्ने परिपाटी बसालौै‌ं । बिद्यार्थीहरुले प्रदर्शित  गरेका साना–साना कामको पनि प्रशंसा गर्ने बानीकाे विकास गराैै ।  जसले बिद्यार्थीहरुमा सोही प्रकारको सकारात्मक संवेगहरूको  विकास होस् । हाम्रो मस्तिष्कको धेरै जसो भागमा संवेग उत्पन्न गर्ने हर्मोन हुने कुरा मनो बैज्ञानिकहरुको दाबी रहेको छ । 

त्यस्ता संवेगहरू सकारात्मक नकारात्मक पनि हुन्छन् र नकारात्मक पनि ।  खुसी, उत्प्रेरणा, सक्रियता सकारात्मक संवेग हुन भने रिस, डाह, नैराश्य नकारात्मक संवेग हुन् ।  सकारात्मक संवेगले बिद्यार्थीहरुलाई सही बाटो तिर धकेल्छ भने नकारात्मक संवेगले गलत बाटो तर्फ लैजान्छ । सकारात्मक संवेग बढाउनका लागि बिद्यार्थीहरुलाई सामाजिक क्रियाकलापमा संलग्न गराउने, उनीहरूसँग सञ्चार गर्ने, हरेकको भावनाहरू तथा कौतुहलतालाई खुलेर प्रशंसा गर्ने, हरेकलाई सम्मान जनक व्यवहार गर्ने र विद्यार्थीलाई घर तथा स्कुलमा आफू सुरक्षित छु भन्ने कुरा को अनुभूति दिन सक्नुपर्दछ । 

 विद्यार्थीको रुचि, क्षमता र आवश्यकतालाई केलाएर फरक फरक शिक्षण गर्नु पर्ने हुन्छ ।  तर हामीहरूले एकै प्रकारको शिक्षण विधि लादी रहेका हुन्छौँ । सबैको एकै प्रकारको मानसिक, आर्थिक, सामाजिक,  शारीरिक, बौद्धिक क्षमता हुन्छ भन्ने कुरा हुँदैन ।  यही निर हामी चुकिरहेका छौँ । हरेक विद्यार्थीका व्यक्तिगत भिन्नता हुन्छ भन्ने कुरा स्वीकार गरेनौँ अथवा तयार भएनौ । फरक फरक आकारका भाँडोमा एकै प्रकारको बिर्को लगाउने कोसिस हामीले गरिरहौँ । जस्तो कक्षाकोठामा सबैलाई एकै प्रकारको शिक्षण विधिबाट पठनपाठन गरिरहयौं । तसर्थ हामी शिक्षाले निर्धारण गरेको लक्ष्य हासिल गर्न असफल भइरहयौं । बिद्यार्थीहरुलाई न्याय गर्न सकेनौ ।  संसार (समाज  समुदाय र कक्षाओ भनेकै भिन्न रुचिहरूको जमघट हो भन्ने कुरा न शिक्षक बुझ्यौं  नत अभिभावकले नै ।  लप्सीको बोट रोपेर स्वादिलो आँपको आशा गर्‍यौ‌। जुन असम्भव थियो । अनि निराश भइरहयौं ।  

हरेक विद्यार्थीका जीवन्त सन्दर्भसँग पढाइलाई जोड्ने सहमतिको बाटो पहिल्याउन सकेनौ । राष्ट्रवादी, जनवादी, वैज्ञानिक, समाजवादी, व्यवहारिक र उत्पादनवादी शिक्षाको शब्दहरूमा  खोजी गरिरह्यौँ । तर यसको भाव नै बुझ्न सकेनौ । जसको फलस्वरूप शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भए र भइरहेका छन् । 

शिक्षण सिकाइका सन्दर्भमा व्यवहारवादी, मनोविश्लेषणवादी, संज्ञानवादी तथा मानवताबादीहरुको पनि आ–आफ्नै खालको तर्क रहँदै आएको छ । Watson, Skinner जस्ता व्यवहारवादी मनोवैज्ञानिकहरूले सिकाइमा वातावरणलाई महत्त्व दिएका छन् ।  अनुकूल वातावरण भएको खण्डमा  मानिसमा चाहेको व्यवहार निर्माण हुन्छ ।  जन्मँदै कोही पनि बदमास वा खराब हुँदैन उसको वातावरण अनुकूल भएमा खराबलाई पनि असल बनाउन सकिन्छ भन्ने मान्यता राख्दछन् । 

ममनोविश्लेषणवादी मनोवैज्ञानिक Sigmund Freud ले भनेका छन्, मानिसको व्यक्तित्व विकासमा Id, Ego Super Ego  य  ले प्रभाव पार्दछ ।  यसैका आधारमा उसका व्यवहारहरू निर्देशित हुने गर्दछन् ।  उनका अनुसार Id ले मानिसको अचेतन मनबाट उत्पन्न हुने  व्यवहारको प्रतिनिधित्व गर्दछ । मानिसको जन्म जात आफ्नो स्वार्थ हुन्छ । त्यही  स्वार्थको लागि उ मर्न र मार्न पनि सक्रिय हुन पुग्दछ । यदि मानिसमा Id हाबी भयो भने उ यौन जन्य असामान्य व्यवहार प्रति बढी लालायित हुन्छ ।  तसर्थ  कतिपय अवस्थामा हाम्रो समाजमा यौन जन्य असामाजिक तथा अमानवीय व्यवहारहरू प्रदर्शित हुने गर्दछन्

। त्यस्तै Ego  ले चेतनशील मनको प्रतिनिधित्व गर्दछ । मानिसले तर्क सङ्गत राम्रो नराम्रो आफ्नो अर्काको ठिक बेठिक  छुट्टाउन सक्ने सामर्थ्य राख्दछ ।  त्यसैगरि Super Ego अर्ध चेतन अवस्थामा रहन्छ । यसले मानिसलाई  आवश्यकता भन्दा बढी आदर्श र भावनामा डुबेर वास्तविकता भन्दा माथिल्लो अवस्थामा पुर्‍याउँछ । फलस्वरूप  कतिपय मानिसहरू आफ्नो जीवन प्रति नै नैराश्य भएर वैराग्यको बाटो रोज्न पुग्दछ । अहिले हाम्रो समाजमा उद्दण्ड स्वभाव देखाउने, मरेका मरेका घटनाहरू आउनुमा अचेतनशिल Id  हाबी भएको हुनसक्ने देखिन्छ । हाम्रो शिक्षा दिक्षा खान पिन रहन सहनले पनि कतिपय हाम्रा व्यवहारलाई निर्देशित गरिरहेको हुन्छ ।   

अर्को थरी मानवतावादी मनोवैज्ञानिक Maslow ले के भन्दा रहेछन् भने मानिसका आधारभूत आवश्यकता हुन्छन् । जस्तै गाँस बास कपास श्वास प्रश्वास तथा हाम्रा शरीरलाई चाहिने अन्य निन्द्रा आराम भएन भने उसले राम्रोसँग सिक्न पनि सक्दैन ।  गतिशील हुन पनि सक्दैन ।  खाली पेटमा उच्च चिन्तन सम्भव छैन र  हुँदैन ।   उसले पहिला  आधारभूत समस्या पुरा गर्छ त्यस पछि माया, सम्बन्ध, प्रतिष्ठा चाहिन्छ ।  अन्तिममा उ आत्म स (Self actulization) को खोजीमा पुग्छ ।  त्यसपछि समाजमा प्रतिष्ठा  खोज्छ । समाजमा मेरो के भूमिका हुनसक्छ समाजलाई मैले के दिन सक्छु भन्ने चिन्तन गर्न थाल्छ  । यसरी नै मानिसका व्यवहारहरू निर्देशित हुने गर्दछन् ।

संज्ञानात्मक पक्षका मनोवैज्ञानिकहरू भने बालकको मानसिक प्रक्रियालाई जोड दिन्छन् । बालकले जन्म जात रूपमा लिएर आएको क्षमताको आधारमा सिक्दछ र उमेर  अनुसार प्रत्यक्षीकरण, अन्तर्दृष्टि, चिन्तनका आधारमा नयाँ सम्बन्धको खोजी गर्दछ । यसैका आधारमा संज्ञान निर्माण हुन पुग्दछ ।  उनीहरूका अनुसार सबै  व्यक्तिको बुद्धि एकै प्रकारको हुँदैन कोही न्यून कोही मध्यम र कोही उच्च बुछि का मानिसहरू हुन्छन्  । यदि सबै  एकै प्रकारका  हुने हो भने त क्षमता परीक्षण नै गर्न पर्दैनथ्यो ।  सामान्यता संसारका मानिसहरूको बुद्धि लब्धि हेर्ने हो भने १५ प्रतिशत जति औसत भन्दा माथिका वा तलका हुन्छन् । त्यो भन्दा पनि माथि वा तलका २–७ प्रतिशत सम्म  हुन्छन् र ६० प्रतिशत जति औसत बुद्धि लब्धि भएका मानिसहरू हुन्छन् ।  यदि हामीहरूले कुनै एउटा कक्षाका विद्यार्थीको नतिजा हेर्‍यौं भने अथवा शारीरिक संरचना हेर्‍यौ‌ भने पनि यस्तै परिणाम पाउँछौ ।  

मानिसका व्यवहारहरू जन्मजात लिएर आएका गुण र वातावरणबाट निर्माण भइरहेका हुन्छन् । तसर्थ हरेकमा  व्यक्तिगत भिन्नता पाइन्छ । सोही कारण हरेक बालकहरू फरक फरक प्रवृत्तिका हुन्छन्  र उमेर अनुसार बालकको  सिक्ने  सक्ने क्षमता पनि फरक–फरक हुन्छ । जस्तै बालक ताते ताते गरेर हिँड्न र पटक–पटक लडी  सिकेपछि बल्ल दगुर्न थाल्दछ । तर पहिले नै दगुराउन थाल्यौ भने दुर्घटना हुने निश्चित छ । तसर्थ सिकाइ पनि बालकमा क्रमिक रूपले आउने प्रक्रिया हो भन्ने कुरा भुल्नु हुन्न । यस्ता कुरालाई बुझेर शिक्षण गर्न सक्नु नै बाल मनोविज्ञान बुझ्नु हो भन्ने कुरालाई ख्याल राख्न जरुरी छ । तसर्थ प्रभावकारी शिक्षणका लागि हरेक शिक्षकले  बाल मनोविज्ञान बुझेर पढाउन सक्नु पर्दछ । 
शिक्षाका जुन विधि वा तौर तरिका अपनाएपछि त्यसले विद्यार्थीका व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्यो कि सकेन त्यो महत्त्वपूर्ण कुरा हो । शिक्षाले विद्यार्थीका आन्तरिक प्रतिभालाई इंकित गर्न सक्नुपर्दछ । त्यसलाई फक्रने वातावरण दिनु पर्दछ । यसले गर्दा बिद्यार्थीहरुमा नयाँ नयाँ ज्ञान, सिप तथा अनुभवे विकास हुने, समस्या कुशलताका साथ हल गर्ने, असल व्यवहार गर्ने, अधिकारको प्रयोगमा कर्तव्य पनि सम्झने, चुनौतीहरू सजिलै समाधान गर्ने, समूहमा काम गर्ने र सामूहिक भलाइमा जोड दिने बानीको विकास गराउन सकिन्छ । 
 


लेखक  त्रिभूवन विश्व विद्यालयमा उप-प्राध्यापक हुनुहुन्छ ।