थर परिवर्तनकाे मूर्खतापूर्ण प्रस्ताव : विभेद, हिंसा दूरव्यवहार, असमानताकाे आयआर्जनसँगकाे साइनाे
जेठ २७, २०७७

राजधानीका पाँचतारे होटेलहरूमा दलित सम्वधि कार्यक्रमहरू प्राय दिनहुँ हुने गर्थे । मुलुकमा लकडाउन भएपछि भने ती कार्यक्रमहरू भर्चुअल मिटिङ भन्दै अनलाइनमा सीमित भएका छन् । केही दलितका पक्षमा काम गर्ने गैह्र सरकारी संस्थाले रुकुम घटनालाई लिएर  छलफल कार्यक्रम समेत चलाइरहेका छन् । दलितका थुप्रै कार्यक्रममा यस पङ्क्तिकार पनि सामेल भइरहेकी छु । कार्यक्रममा दलितहरूको एउटै गुनासो र मुद्दा हुन्छ दलित भएकै कारण भोग्नु परेको समस्या !  

यही विषयलाई लिएर छलफल गरेको वर्षौँ बितिसक्यो तर  मानिसको मनभित्र गाडेको छुवाछुत र विभेदको जरो र अन्धविश्वास किन हट्न नसकेको होला ? बारम्बार यस्ता घटना दोहोरी रहँदा साह्रै दुःख अनि दिक्क पनि लाग्ने रहेछ । मानिसहरू पहिलेको तुलनामा धेरै शिक्षित भइसके, सूचना हात हातमै प्राप्त गर्न सकिने अवस्था छ । तर पनि जातको विषयलाई लिएर यत्रो नरसंहार ? जातको विषयलाई लिएर नै प्रेमी मनहरू एक आपसबाट छुटिनु पर्ने !

मानिस पढेर मात्र ज्ञानी र बुद्धिमानी हुँदैन । धन सम्पत्ति भएर मात्र पनि बुद्धि विवेकी बन्छ भन्ने हुँदैन । विवेकी हुन चेतनाको स्तर नै फराकिलो हुनुपर्छ । जसको चेतनाको स्तर फराकिलो छ, त्यस्ता व्यक्तिले जातभातको कुरा नै गर्दैन । सबै मनुष्यलाई एकै देख्न थाल्दछ । म ठुलो जातको तिमी साना जातको भन्ने भावना नै राख्दैन । काम गर्ने सिलसिलामा कतिपय दलित साथीहरू भेट्दा उनीहरू कहिल्यै सानो जातको नलाग्ने अनुभव यस पङ्क्तिकारसँग पनि छ । मुलुकमा गणतन्त्र आइसक्दा समेत हामी प्राचीन युगको कुरा गरिरहेका छौँ । जातको आधारमा मानिसलाई भेदभाव गर्ने यो जस्तो क्रुरुर र अनि सङ्कुचित सोच के होला र  ?

हाम्रो देशलाई ‘चार जात अनि छत्तिस वर्णको फूलबारी’ हो भनी मानिँदै आएको छ । चार जात भनी ब्राह्मण, क्षेत्री, वैश्य अनि शूद्रलाई भनिएको हो ।  प्राचीन कालमा मानिसको काम अनुसार जात व्यवस्थाको व्याख्या गरिएको पाइन्छ । ठुलो जात र सानो जात अथवा छुन हुने जात र छुन नहुने भनी कहीँ कतै उल्लेख गरिएको छैन । तर काम र व्यवसायका आधारमा छुवाछुत जस्तो सामाजिक कुसंस्कार समाजमा कायम छ ।

पुर्ख्यौली कामलाई निरन्तरता दिन्छु भन्छ भने त झनै राम्रो हो । आफ्नो कामलाई कसरी अगाडि बढाउने व्यक्तिको आफ्नै हातमा निर्भर हुने कुरा हो ।  यदि दलितले पनि आफ्नै पुर्ख्यौली पेसा गरेर मनग्य रुपैंया र इज्जत कमाउन सक्यो भने उ समाजमा कहिल्यै हेपिनु नपरेको उदाहरण हाम्रो समाजमा सयौँ उदाहरण छन् । अतः दलितलाई अनिवार्य शिक्षा, ज्ञान र सीपसहितको  रोजगारीको सुनिश्चितता सरकारको प्राथमिकतामा  पर्नुपर्छ ।

यसै गरी वर्ण भनेको स्वभाव हो ।  मानवीय व्यवहारका आधारमा ३६ वर्ण भनेर विभाजन गरिएको हो । यदि ब्राह्मणको सन्तान, व्यापार वा युद्धमा लागे क्षेत्री कहलाउने र यदि शूद्रले अध्ययन र भक्तिमार्गमा लाग्न सक्यो भने ब्राह्मण कहलाउन सकने प्रथा प्राचीनकामा  रहेको पाइन्छ । राम्रो काम गर्न सक्यो, मानिसले पढ्न सक्यो भने त शूद्र भए पनि बाम्हण हुन सक्ने व्यवस्था त प्राचीनकामा नै रहेछ नि !  यो कुरालाई २१ औँ शताब्दीमा आइसक्दा पनि खै किन मानव जातीले बुझ्न नसकेको र मानवीय व्यवहार गर्न नसकेको ? भागवत गीतमा श्रीकृष्णले भनेका छन्, 

‘चातुर्वण्र्यां मया सृष्टुं
गुण कर्म विभागस ।’ 

यसको अर्थ हो, मानिसको कुलले भन्दा कर्म वा गुणले वर्ण निर्धारण गर्छ ।

 त्यसैले हामी सबै एकै हौँ, जातका आधारमा कोही ठुला र साना हुँदैन भन्ने बुझ्न जरुरी छ । अनि पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईले दलित माथि भेदभाव हुन नदिन आफैले थरको परिवर्तन गरेर मात्र समस्याको समाधान हुन्छ भनेर समाधान खोज्नु पनि अर्को  मूर्खता मात्र हो । कामको आधारमा जातको वर्गीकरण गर्दा दलितहरू सयौँ वर्षदेखि विभेदको सिकार भइरहेका छन् । अब दलितलाई शिक्षित बनाएर, उसले गर्ने काम र व्यवसायलाई सम्मान दिएर राज्यका नीति निर्माण तहमा दलितको प्रतिनिधित्व सुनिश्चित  गर्ने कि  आफ्नो नाम पछाडिको थर नै फेर्न तयार रहने ?  डा. बाबुरामले आफ्नो थर कामी राखे भने के उनी कामी बन्लान् र ? र, उनी कामी भए भनेर नेपाली समुदायले पत्याउलान्  र ? आखिर राम्रो काम गरे त प्राचीन कालमै परिभाषित गरिएका शूद्र पनि व्राम्हण हुन सक्ने चलन चल्ती त रहेछन्  नि !  त्यसैले नामको पछाडि लेखिने गरिएको थर समस्या हुँदै होइन । थर परिवर्तन गर्दैमा समस्या समाधान पनि हुँदैन ।

जो मानिस पढ्छ, समाजमा नाम र इज्जत कमाउँछ उ दलित नै भए पनि उसलाई दलित भनेर छि छि र दुरदुरको दूर व्यवहार खेप्नु पर्दैन र परिरहेको पनि छैन ।  यो हाम्रो समाजको वास्तविकता हो । पढेलेखेका र आर्थिक स्तर बलियो भएका दलित युवासँग कथित उच्च जात भनेर चिनिने बाहुन क्षेत्री, नेवार समुदायका युवतीले विवाह गरेको उदाहरण समेत हाम्रा समाजमा प्रशस्तै भेटिन्छन् ।  

त्यसैले जातिगत विभेदको जड आर्थिक अवस्थासँग जोडिएको हुन्छ भन्ने कुरा कसैले पनि बिर्सन हुँदैन । यसै गरी शक्ति हुनेले शक्तिहीनलाई हेप्ने, धन भएकाले धन नभएकाले हेप्ने, पढेलेखेकाले नपढेकालाई हेप्ने, टाठोवाठोले सोझा साझालाई हेप्ने यो नेपाली समाजमा पुस्तौँदेखि चल्दै आएको रित्ती जस्तै  समाजमा जरो गाडेर बसेको छ ।  दलित समुदायलाई मात्र होइन, यहाँ महिला हेपिन्छन्, बुढाबुढी हेपिन्छन् । एकल महिला दुःखी गरिब महिलालाई बोक्सीको आरोप लगाइन्छ । आफ्नै घरभित्रको कुरा गर्दा पनि जसले बढी कमाउँछ, उसको  नै बढी  हैकम चल्ने गर्छ । यसैगरि पैसा भएको व्यक्तिलाई नै बढी शक्तिशाली बनाउने र  मान्ने चलन हाम्रो समाजमा विकास भइरहेकाे  छ । चाहे पैसा जसरी सुकै कमाएको   किन नहाेस ।  विभेद, हिंसा दूरव्यवहार, असमानता सबै कुराको आर्थिक पक्षसँग  प्रत्यक्ष सम्बन्ध र साइनो जोडिएको हुन्छ ।

पेसा र व्यवसायको कुरा गर्दा दलितहरू, भाँडा बनाउने, लुगा सिलाउने लगायतका कामहरू गर्छन् । बादी समुदायका मानिसहरू नाचगान गर्छन् । गन्धर्व जातीहरू बाजा बजाउँछन् । के यी सबै काम नराम्रा हुन त ?  काम नराम्रो हुँदै होइन । नाच्ने, गाउने बाजा बजाउने , लुगा सिलाउने यी सबै काम सम्मानजनक कामहरू हुन् । यसबाट धेरै रुपैंया कमाउन सकिने भएपछि ब्राह्मण जातीका मानिसहरूले यो काम गरेर ठुलठुला आयआर्जन गर्न थालिसकेका छन् ।

अहिलेको जमानामा जाती विशेषको काम गरेर बस्नु कुनै जरुरत छैन । पुर्ख्यौली कामलाई निरन्तरता दिन्छु भन्छ भने त झनै राम्रो हो । आफ्नो कामलाई कसरी अगाडि बढाउने व्यक्तिको आफ्नै हातमा निर्भर हुने कुरा हो ।  यदि दलितले पनि आफ्नै पुर्ख्यौली पेसा गरेर मनग्य रुपैंया र इज्जत कमाउन सक्यो भने उ समाजमा कहिल्यै हेपिनु नपरेको उदाहरण हाम्रो समाजमा सयौँ उदाहरण छन् । अतः दलितलाई अनिवार्य शिक्षा, ज्ञान र सीपसहितको  रोजगारीको सुनिश्चितता सरकारको प्राथमिकतामा  पर्नुपर्छ ।