स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टिपछि सेवा नै बन्द !

स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टिपछि सेवा नै बन्द !

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २८, २०७७

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो ।
 
कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति र स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यचौकीका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताउनुभयो । कोराना भाइरसको परीक्षणका लागि स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलगायतको स्वाब सङ्कलन भइरहेको छ ।

'सङ्कलित स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाउँछौँ', उहाँले भन्नुभयो, 'नतिजा नआउँदासम्मका लागि स्वास्थ्यचौकीका सेवा बन्द हुन्छन् ।' सोमबार पुर्नवासकै स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार भीमदत्त नगरपालिकाका तीन पुरुष र दुई महिला, शुक्लाफाँटाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कञ्चनपुरमा सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ ।