पाःलाम प्रतियोगितामा गैरलिम्बूकाे  पनि  उत्साहजनक सहभागिता ! के हो पाःलाम ?

पाःलाम प्रतियोगितामा गैरलिम्बूकाे  पनि  उत्साहजनक सहभागिता !  के हो पाःलाम ?

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ २८, २०७७

काठमाडौं । विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै  Yakthung Cultural Group ले गरेको ‘पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता’ गैरलिम्बूसहित उत्साहजनक सहभागिता भएको जनाइएकाे  छ । 

यो समाचार तयार पार्दासम्म १६० वटा पाःलाम दर्ता भइसकेको आयोजकले जनाएको छ । जसमा ५६ वटा पाःलाम सार्वजानिक भइसकेका छन् । पालामहरू याक्थुङ कल्चरल ग्रुपको पेज र नयाँअनलाइन टिभीको च्यानलमार्फत सार्वजानिक गरिएको हो । सार्वजनिक भएका पाःलाममा दर्शकहरूले लाइक, सेयर तथा कमेन्ट गर्नेहरूको लर्को पनि बढिरहेको छ ।

गैरलिम्बूभाषीहरूमा राई, विश्वकर्मा र अधिकारी जातिकाे समेत सहभागिता रहेको समूहले जानकारी दिएकाे छ । अधिकारीको पाःलाम अपलोड हुन बाँकी छ भने राई र विश्वकर्माको पाःलाम अत्याधिक रुचाइदै आएको भिडियोबाट बुझ्न सकिन्छ । 

अझै पनि सहभागीहरूको संख्या बढिरहेकोले प्रत्येक दिन संख्या बढाउँदै अपलोड गरिएको आयोजकले जनाएको छ । नेपालबाहेक वैदेशिक रोजगारीमा गएका मुलुकहरू र सिक्किम, असम, युके, अमेरिकाबाट पनि सहभागीता जनाइरहेका छन् । 

पालाम प्रतियोगितामा विजेतालाई नगद ३० हजारसहित एउटा पाःलाम निशुःल्क रेकर्ड, प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । त्यसैगरी द्वितीय पुरस्कार – नगद  २५ हजार,प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार र तृतीय पुरस्कार – नगद  २० हजार, प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार दिने  समूहकाे तयारी रहेकाे छ । त्यसैगरी विभिन्न शिर्षकमा सान्तवना पुरस्कार पनि प्रदान गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगीमा सहभागी पाःलामलाई सामाजिक सन्जालबाट प्राप्त प्रतिक्रियाबाट ४०% र निर्णायक मन्डलबाट ६०% अंक प्राप्त गर्नेछ । निर्णायकहरूमा मुन्धुमविद् यासेली योङहाङ, चर्चित गायिका मनु नेम्बाङ र रैथान संगीतका अभियन्ता झुमा लिम्बू छन् ।

पाःलाम जेष्ठ ३० गते सम्ममा जम्मा गर्ने र विजेताको घोषणा साउन १ गते  सिसेक्पा तङ्नामको अवसरमा सार्वजानिक गर्ने पनि आयोजकले जनाएको छ । 

कार्यक्रमको लागि मनिश सम्बाहाङ्फे, क्यानडा, शर्मिला यक्सो चोङ्बाङ, युके, तिलबिक्रम सम्बाहाम्फे, युके, विश्वासदीप तिगेला, युके, रोशन यक्सो, हङ्कङ, सुवर्ण नेम्बाङ, युके, टंक वनेम, युके, दिलसिंह मेन्याङ्बो, युके, शिका देवान , हङ्कङ, दिल पालुङ्वा, युके, लोकेन्द्र तबेबुङ, युके, टंक सेलिङ, काठमाडौ, मुक्साम लाओती, जापान, चौबिसे संङ्यक ढाका उद्योग, धरान, रीता फोम्बो ठूली युके, देब+बिष्णुमाया हुक्पाचोङ्बाङ, युके र दिला सेलिङले प्रायोजन गरेका छन् । प्रतियोगिताको चुलिँदो चर्चाका कारण अझै पनि प्रायोजनको संख्या बढ्नसक्ने आयोजकले जनाएको छ । 

के हो पाःलाम ?

धाननाच र पालाम लिम्बू समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो । विभिन्न चाडपर्व, मेला महोत्सव, विवाह, सुद्धाईजस्ता कर्मकार्यमा धान नाच्ने गरिन्छ । केही वर्ष अघिसम्म विरलै रूपमा देखिने धाननाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाहजस्ता कार्यमा देख्न पाइन्छ ।

पछिल्लो समयमा धान नाचप्रति युवा पुस्ताको आकर्षण समेत बढ्दै गएको छ । कहिलेकाहीँ विदेशी पर्यटकसमेत आकर्षित हुँदै हात समाइ धान नाच्ने गरेको देख्न पाइन्छ । धान नाच्दा पालाम अनिवार्य गाउने गरिन्छ । केटा र केटी पक्षबीच सवालजवाफ गर्दै पालाम गाउने गरिन्छ । धान नाच्नु अघि एक–आपसमा परिचय गरी साइनो सम्बन्ध केलाइन्छ । साइनो नलाग्ने भए धान नाच्ने निधो गरिन्छ ।

पालाम गाउँदै धान नाच्दा कतै गल्ती कमजोरी भइहाले माफ पाउँ भनेर अग्रिम रूपमा दुवै पक्षले हात जोडेर बिन्ती गर्ने चलन रहेको छ । पालाम अति भावुक हात समाई पालाम गाउनु अघि गाउँदै, नाच्दै जाँदा हुने गल्ती कमजोरीप्रति अग्रिम हात जोडेर विन्ति गरी शुरु गरिन्छ । विरहका भाका मिसाउँदै पालाम गाइन्छ ।

पालाम गाउँदा जीवनमा आउने सुख, दुःखका अनुभूति र मिलन बिछोडका पक्षलाई भावुक ढङ्गले समेटिन्छ । पहिले पहिले पालाम गाउँदै धान नाचेर माया पिरती लगाई उसैबेला जोडी बाँधिने निधो हुन्थ्यो । धान नाच्दानाच्दै पालामकै भाकामा कुरा गरेर वैवाहिक बन्धनमा बाँधिएका उदारण प्रसस्तै भेटिन्छन् ।