महामारीसँग जुध्न जिल्लाभर साझा कार्यक्रम

महामारीसँग जुध्न जिल्लाभर साझा कार्यक्रम

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २८, २०७७

बागलुङ । कोरोना महामारीसँग जुध्नका लागि बागलुङका स्थानीय तहले साझा कार्यक्रम बनाएका छन् । बागलुङ नगरपालिकाको आह्वानमा मङ्गलबार जिल्लाको १० वटै स्थानीय तहको संयुक्त बैठक बसेर साझा कार्यक्रम तय गरेका हुन् । 

स्थानीय तहले कोरोना सङ्क्रमण भएका बिरामीको उपचारका लागि तत्काल जिल्लालाई दुई भागमा विभाजन गरेर आइसोलेशनको प्रयोग गर्ने भएका छन् । जिल्लाको निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटन नरपालिकाका सङ्क्रमितलाई बुर्तिबाङस्थित स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशन र बागलुङ, जैमिनी, गलकोट नगरपालिका तथा काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका सङ्क्रमितलाई धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेशनमा राखेर उपचार गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसालले बताउनुभयो ।

सङ्क्रमित देखापरेपछि उपचार गर्ने कहाँ गर्ने भन्ने विषयमा अन्योलता सिर्जना देखिएको हुँदा समाधानका लागि स्थानीय तहले यस्तो निर्णय गरेका हुन् । त्यस्तै, बाहिरबाट आउनेका लागि पनि जिल्लाको दुई ठाउँमा होल्डिङ सेन्टर बनाउने निर्णय बैठकले गरेको छ । बडिगाड गाउँपालिकाको खर्वाङ बजार र बागलुङ बजारमा होल्डिङ सेन्टरको व्यवस्थापन गर्ने निर्णय भएको भुसालले बताउनुभयो । स्थानीय तहको संयुक्त बैठकले कोरोना भाइरसको जाँचलाई द्रुत बनाउनका लागि धौलागिरि अस्पतालमा प्रयोगशाला स्थापना गर्ने गरी गण्डकी प्रदेश सरकारसँग पिसिआर जाँच मेसिन माग गर्ने निर्णय गरेका छन् । प्रदेश सरकार खरिद प्रक्रियामा रहेकाले एउटा मेसिन साविकको धौलागिरिका लागि उपलब्ध गराउन पहल गर्ने निर्णय बैठकले गरेको छ । 

प्रदेश सरकारले मेसिन उपलब्ध नगराए पालिकाहरु मिलेर संयुक्तरुपमा मेसिन किन्ने सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । ल्याबका लागि आवश्यक जनशक्तिको भने बागलुङ, पर्वत र म्याग्दीका स्वास्थ्य प्राविधिकको सल्लाहका आधारमा व्यवस्थापन गर्ने बैठकमा निर्णय भएको छ । 

लक्षण देखिएका बिरामीलाई मात्रै धौलागिरि अस्पताल पु¥याउने र बाँकी सङ्क्रमितको प्रि–आइसोलेशनमा उपचार गर्ने निर्णय पनि बैठकले गरेको छ । दशवटै स्थानीय तहले साझा कार्यक्रमका रुपमा विदेशबाट आउनेलाई होल्डिङ सेन्टरमा राखेरमात्रै क्वारेन्टिनमा पठाउने व्यवस्था मिलाउन सहमति गरेका छन् । होल्डिङ सेन्टरको व्यवस्थापन र थप आइसोलेशन निर्माणका लागि प्रत्येक नगरपालिकाले रु पाँच लाख र गाउँपालिकाले रु दुई लाख बजेट उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ । उक्त रकम पश्चिमका चार पालिकाले बडिगाड गाउँपालिकाको खातामा र अरु ६ वटा पालिकाले बागलुङ नगरपालिकाको खातामा जम्मा गर्ने सहमति बैठकमा भएको छ ।

बुर्तिबाङमा रहेका २५ श्यया र धौलागिरि बहुमुखी क्याम्पसका ५० श्यया आइसोलेशन तत्कालका लागि प्रयोगमा ल्याउने र सङ्क्रमित थपिँदै जाँदा स्थानीय तहमा नै आइसोलेशन निर्माण गर्ने निर्णयसमेत बैठकमा भएको छ । जिल्ला समन्वय समिति, दशवटै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख, स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरि अस्पताल बागलुङका प्रतिनिधि बैठकमा सहभारी थिए ।