अमेरिकी वायु सेना प्रमुखको पदमा पहिलो पटक अश्वेत नागरिक

अमेरिकी वायु सेना  प्रमुखको पदमा पहिलो पटक अश्वेत नागरिक

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ २९, २०७७

वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चार्लस ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व गर्न पाउने उहाँ पहिलो अश्वेत नागरिक हुनु भएको छ ।

सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो । सिनेट बैठकको अध्यक्षता गर्नु भएका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको मनोनयन ऐतिहासिक रहेको बताउनुभयो । प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीतिक क्षेत्र तनावमा छ ।

यहीबीच भएको सिनेट सुनुवाईमा ब्राउनको पक्षमा सर्वसम्मत भएको थियो । ब्राउनले हालैका दिनहरुमा अमेरिकी प्रशान्त वायु सेनाको कमान्डरका रुपमा सेवा गर्नु भएको थियो । उहाँ स्वयं लडाकू बिमानका पाइलट रहनुका साथै उहाँले दुई हजार ९०० घण्टा सैनिक बिमान उडाउनु भएको छ ।

ब्राउन सन् १९८४ मा अमेरिकी वायु सेनामा अधिकृतमा भर्ना हुनु भएको थियो । उहाँले वायु सेनाभित्र विभिन्न पदमा रहेर सेवा गर्नु भएको छ । उहाँले एफ–१६ लडाकू बिमानको प्रशिक्षकका रुपमा पनि काम गर्नु भएको थियो । सन् २०१९ को जनगणना अनुसार अमेरिकामा सेनातर्फ १७ प्रतिशत अफ्रिकी–अमेरिकी मूलका रहेका छन् ।