अलिमियालाई एक लाख राशीको हेमराज पुरस्कार

अलिमियालाई एक लाख राशीको हेमराज पुरस्कार

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २७, २०७५

काठमाडौं । यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोककवि अली मियाँलाई प्रदान गरिएको छ । पहारीको नवौं स्मृति दिवसको अवसरमा एक लाख राशीको सो पुरस्कार मियाँलाई मरणोपरान्त प्रदान गरिएको हो ।

वरिष्ठ लोकगायिका एवं प्रज्ञासभा सदस्य हरिदेवी कोइराला र प्रतिष्ठानका अध्यक्ष रीता न्यौपाने पहारीले लोककवि अली मियाँका ज्येष्ठ सुपुत्र एवं लोककवि अली मियाँ वाङमय प्रतिष्ठानका अध्यक्ष हनीफ मियाँलाई पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशी १ लाख रुपैयाँको साथमा ताम्रपत्र रहेको छ । यो पुरस्कार मियाँलाई प्रदान गरिएको पुरस्कार चौथो हो । प्रत्येक २ वर्षमा प्रदान गरिने पुरस्कार यसअघि वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी, दाङको राप्ती साहित्य परिषद र धरानको विमल गुरुङ स्मृति पुस्तकालयलाई प्रदान गरिएको थियो । 

साहित्यकार अनिल पौडेल संयोजक र सदस्यद्वय नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित रहेकोे प्रतिभा छनोट समितिले अली मियाँलाई पुरस्कृत गर्नको लागि सिफारिस गरेको थियो ।

कार्यक्रममा प्रज्ञासभा सदस्य कोइरालाले प्रगतिशील विचारधाराका माध्यमबाट देशलाई चिनाउन सफल व्यक्तित्व हेमराज पहारी भएको भएको दावी गरेकि थिइन । साहित्यकार एवं प्रतिभा छनोट समिति संयोजक अनिल पौडेलले लोककवि अली मियाँको योगदानको कदर गर्न पुरस्कार प्रदान गरिएको बताए । उनले व्यक्तित्व र कृतित्वका कारण हेमराज र अली मियाँ दुवै अझै जीवित रहेको भन्दै उनले उनीहरू दुवैको योगदानलाई थप उजागर गर्नुपर्नेमा जोड दिए । साहित्यकार लक्ष्मी निरौलाले हेमराज र अली मियाँमा तुलना गर्दा पेशागत बाहेक अन्य केही फरक नभएको बताए । हेमराज पहारीका सहपाठी मदनराज थापाले हेमराज र आफू अन्तरङ्ग मित्र भएको बताए । 

लोककवि अली मियाँ वाङमय प्रतिष्ठानका अध्यक्ष हनीफ मियाँले पोखरा तथा साहित्य जगतले हेमराज र अली मियाँको जति गुनगान गाए पनि कमि हुने बताए । उनले अली मियाँलाई पुरस्कार प्रदान गरेर हेमराज पहारी स्मृति प्रतिष्ठानले आफूलाई चीर ऋणि बनाएको बताएका थिए ।