नेपालगञ्जको ‘ड्रिम प्रोजेक्ट’ सकिने चरणमा

नेपालगञ्जको ‘ड्रिम प्रोजेक्ट’ सकिने चरणमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ३०, २०७७

बाँके । नेपालगञ्जको ‘ड्रिम प्रोजेक्ट’ वाटरपार्क क्षेत्रको निर्माणकार्य सकिने चरणमा पुगेको छ । लकडाउनको आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी वाटरपार्क क्षेत्रको सौन्दर्यीकरणको काम दु्रतगतिमा अघि बढाइएको छ । 
 
नगर विकास समितिबाट हस्तान्तरण भएको सो प्रोजेक्टको कामलाई उपमहानगरपालिकाले युद्धस्तरमा अघि बढाएको छ । झण्डै १३ वर्ष पुरानो उक्त ड्रिम प्रोजेक्टअन्तर्गत अहिले सो सडक कालोपत्रको कामलाई दु्रतगतिमा सञ्चालन गरिएको छ । 

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार वाटरपार्कको कूल ६५ बिघा  क्षेत्रफलमा आधुनिक बस्ती बसाउने गरी प्रोजेक्ट सञ्चालन गरिएको हो । सो क्षेत्रमा करिब एक हजार बढी घरधुरी बसाउने योजना छ ।

नेपालगञ्जको मुटु धम्बोझी–१ को उत्तरपश्चिममा पर्ने वाटरपार्कको कूल क्षेत्रफल मध्ये १० बिघा तलाउले ओगटेको छ । सोही तलाउलाई नै वाटरपार्कको नाम दिइएको हो । तलाउलाई नौका बिहार र पौडी पोखरीका रूपमा विस्तार गरिएको छ । पार्कमा आकर्षक र मनमोहक फूलबारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिएको छ । यसैगरी वाटरपार्क क्षेत्रभित्र ६ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण भइरहेको छ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिने छ । 

वाटरपार्क निर्माणको योजना १३ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणको क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो । अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएको नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो ।

वाटर पार्क क्षेत्रमा अधिग्रहण गरिएको जग्गाको प्रमाणपूर्जा तयार भइरहेको छ भने झण्डै ३५० घरधुरीलाई अस्थायी प्रमाणपुर्जासमेत वितरण भइसकेको छ । नापीको बाँकी केही सकेर बाँकी सबै घरधुरीलाई प्रमाणपुर्जा वितरण गरिने अध्यक्ष राणाले बताउनुभयो । वाटरपार्क क्षेत्रका जग्गाधनीले समितिले तयार गरेको डिपिआरअनुसार घर संरचना निर्माण गर्नुपर्ने जनाइएको छ ।