लकडाउन र महिलाका विचलित मन : समाजको भूमिका के ? राज्यले किन बेवास्ता गरिरहन्छ ?

लकडाउन र महिलाका विचलित मन : समाजको भूमिका के ? राज्यले किन बेवास्ता गरिरहन्छ ?

कोपिला पौडेल  |  दृष्टिकोण  |  जेठ ३०, २०७७

 समाज अहिले जटिल अवस्थामा  परिरहेको । यसमा पनि  महिलाहरू बढी मर्कामा  परिरहेका छन् I  महिलाहरूको समस्या पुरुषहरूको भन्दा पृथक् हुन्छ भन्ने  कुरा समाजले नबुझी दिँदा आज कयौँ महिलाहरू सामाजिक, मानसिक तथा आर्थिक रूपले असुरक्षित भएको महसुस गरिरहेका छन् I  यसै प्रसङ्गमा केही मैले देखेका सुनेका केही प्रतिनिधिमूलक घटनाहरूको बारेमा चर्चा गर्ने कोसिस गरिएको छ ।  

दिउँसोको बेला थियो खाजा खाएर टेलिभिजन खोलेँ त्यहाँ पत्रकारहरूले नेपाल भरिका दुःखमा परेका जतिले फोन गरेर आफ्ना समस्या भन्न पाउने र सहयोगी मन भएकाहरूले सहयोग गर्न सकिने कार्यक्रम चलाई रहनु भएको रहेछ I  अप्ठेरोमा परेकाहरूलाई  सहयोग गर्न धेरै सहयोगी मन भएका महिला वा पुरुषहरूले सहयोगका हातहरू फिँजाएको देख्दा अति हर्षित पनि भएँ I मलाई लाग्यो मानवताको कसी कति बलियो हुँदो रहेछ I अरूलाई पनि खुसी बनाउन सकिने आफुपनि खुसी रहन सकिने  I  तसर्थ यस घटनाले संसारमा मानवताभन्दा ठुलो जात हुँदैन । अनि दया र प्रेमभन्दा ठुलो धर्म छैन भन्ने सूचना प्रवाह भएको महसुस भये । 

 निरन्तर रूपमा यो कार्यक्रम हेरिरहे I त्यहाँ  सुत्केरीले खान नपाएका, दिर्ग रोगीसँग औषधि किन्ने पैसा नभएको, घर भेटीको घर भाडा तिर्न नसकेर पेटीमा रात बिताएका, गाउँमा आमा बुवाको लास भेट्न जानको लागि पनि पैसाको समस्या भएको यस्तै यस्तै घटनाहरू सुनिरहेको थिएँ I  मानिसहरूका पिडा र घटनाले मन यसै विचलित भइरहेको थियो I  त्यसैमा केही  महिलाहरूका  पिडाका  आवाज  सुन्दा झन् मन भाँचियो I  त्यहाँ एक जना महिला आफ्नो तिन महिनाको दुधे बालकलाई खुवाउने अवस्था नभएर अरूलाई नै पाल्न दिने मनसाय भएको अभिव्यक्ति दिइरहनु भएको थियो ।

क्वारेनटिनमा रहेका महिलाहरूलाई पनि  आफू सुरक्षित छु भन्ने अनुभूति हुने गरी व्यवस्थापन गर्नु पर्दछ I  उनीहरू अहिले रोगले भन्दा पनि शोकले मर्ने अवस्थामा छन् I  आफ्ना बालबच्चा तथा घरका अन्य सदस्यहरूसँग सम्पर्क गर्ने अवसर पाएका छैनन् I उनीहरूलाई परामर्शको जरुरत परिरहेको छ I  यसका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू जस्तै योन तथा प्रजनन स्वास्थ्य सबन्धि कार्यक्रम, मनोसामाजिक सङ्कट व्यवस्थापन  सबन्धि कार्यक्रम, महिला स्वयं सेवक परिचालन गरी उनीहरूमा पर्न सक्ने नकारात्मक प्रभावलाई कम गरी सुरक्षित रूपमा रहने वातावरण सृजना गर्नु पर्दछ I 

त्यस्तै अर्की एक महिला घर भेटीले घर भाडा नतिरेकोले  दिएको यातना र आफ्नो सानो चिया पसल खोल्दा प्रहरीले पटक पटक दिएको धम्कीले  आफू र आफ्ना सानो आठ वर्षको बालक अप्ठेरोमा परेको भन्दै धुरुधुरु रुँदै मिडियामा शरण लिन पुगेको खबरले मलाई झनै भावविहोल बनायो I  सायद आफुपनि महिला नै भएर हो कि यी घटनाले मेरो मानस पटलमा नराम्रोसँग चोट पर्‍यो I

यस्तै महिलाहरू बोक्सीको आरोपमा  कुटिएका मारिएका समाचारहरू हरेक दिन सुन्नु पर्दा अति नै मर्माहत बनाएको छ I  अनेकन् भावहरू मनमा अल्झिएका छन् I  यस्तो विषम अवस्थामा पर्दा पनि हाम्रा नेतृत्वहरू कहाँ रहेछन् ? जिउँदै छन् कि मरिसके ?  राष्ट्रले नै सरोकार नराखेको यस्तो गम्भीर समस्या देखेर आफैलाई यो देशको नागरिक हुनुमा अभिशाप महशस भइरहेको छ  I यी त एकाध उदाहरण मात्र हुन् I  कति महिला त मिडियासम्म आएर आफ्ना समस्या भन्ने हिम्मत पनि गर्दैनन् I  महिलाको समस्यालाई सम्बोधन गर्न नसक्नु भनेको करिब डेढ करोड जनतालाई पाखा लगाउनु हो I अहिलेको परिस्थितिमा पीडित वर्गले आफ्नो अभिभावक नभएको महसुस गरिरहेका छन् I यसका लागि सरकारले जुन कदम चल्नु पर्ने हो त्यसमा नलागीकन सत्ता टिकाउने खेलमा रुमलिएको हो कि भन्ने महसुस जनताले गरिरहेकै छन् I 

यस परिस्थितिमा देशले अति विपन्न तथा गरिब जनताको अधिकारलाई कुण्ठित त गराएको छ नै I उनीहरूलाई सामाजिक न्यायबाट विमुख छन् I राष्ट्र विकासको मूल आधार नै सामाजिक न्याय हो भन्ने कुरा हाम्रा नेताहरूले बुझ्न सकिरहेका छैनन् I आम जनताका आधारभूत आवश्यकता पुरा हुन सक्नु सामाजिक न्याय हो भन्ने सोचेनन् I फलस्वरूप देशमा जुन गतिले महिलाहरूले सुरक्षाको अनुभूति गर्न पाउनुपर्ने हो त्यो असम्भव प्राय भइसकेको  छ I 

 नेपालमा गरिब तथा महिलाहरूका पिडामा अलिकति पनि कम नहुनु र ज्युको त्यही रहनु विडम्बनाको कुरा हो  I घरेलु हिंसा, पुरुषको स्वार्थको साधन, कार्य क्षेत्र र आफ्ना परिवारको व्यवस्थापनमा कठिनाइ आउनुले महिलाहरूको स्व-अस्थित्वलाई नै चुनौती दिइरहेको छ I  २१औँ  शताब्दीमा  आइपुगीसक्दा पनि यिनै विषयमा  अल्झिरहनु भनेको दुःखको कुरा हो I  समाजले गरिब तथा निमुखा महिलालाई हेर्ने दृष्टिकोण पनि अमानवीय नै देखिन्छ  I  अझै पनि महिलाहरू बोक्सीको आरोपमा मारिने र अनेक यातना दिने परम्परा हाम्रो समाजमा जीवितै छ I उनीहरूलाई सबल बनाउने तिर न समाज नै लागेको छ न समाज बदल्ने आश्वासन दिँदै भाषण ठोक्ने  नेतृतवहरु नै लागेका छन् I गरिब तथा अबहेलनमा परेका महिलाहरूलाई शिक्षा, दीक्षा र  स्वास्थ्य दिएर रोजगारीको प्रबन्ध गर्नु र उनीहरूको बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो I

संविधानमा पनि महिलालाई शिक्षा, स्वास्थ्य,रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष हक हुनेछ तथा सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी हक हुनेछ भन्ने कुरालाई स्पष्टसँग उल्लेख गरिएको छ I तर यी कुराहरूलाई बेवास्ता गरेर महिलाले पाउनुपर्ने अधिकारलाई कुरा घात गरिएको छ I प्रजनन स्वास्थ्यको अधिकार उपयोग गर्न नपाएर महिलाहरू मरिरहेका छन् करोनाको कहरले क्वारेनटिनमा बस्दा पनि मानसिक रूपले पिडा खेप्नुपरेको छ I 

 यो निश्चित छ कि जबसम्म हाम्रा स्थानीय समस्यालाई राज्यले सम्बोधन गर्न सक्दैन वा  पीडित महिलाहरूका आवाजलाई बुलन्द पार्दै पुनरुत्थान गर्न सक्दैन तबसम्म देशले काँचुली फेर्न सक्दैन I हाम्रो  हिन्दु सनातन धर्मले 'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:।यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया:'  जहाँ महिलाको पूजा गरिन्छ त्यहाँ देवताको बास वा देवताहरू खुसी हुन्छन् तर महिलाहरूलाई  जहाँ अपहेलन गरिन्छ त्यहाँ कुनै पनि काम सफल हुँदैन I   भन्ने कुरालाई इङ्गित गर्दछ तर यहाँ महिलाहरुनै बहिष्कृत भएका छन् I  हाम्रो धर्म संस्कृति नै लोप भएको छ  I  दिन प्रतिदिन अप्रिय र अराजक प्रवृत्तिहरू  मौलाइ रहेका छन् I  बारम्बार  महिलाहरूले अवहेलना भोग्नु परेको सुन्दा र देख्दा कतै समाज सकिन थाले को त होइन भन्ने जिज्ञासा पलाएर आएको छ I 

समाजको भूमिका के हुने ?

समाजमा देखिएका कुरीति र कुसंस्कारलाई अन्त गर्नु हामी सबैको साथ, संयोग र समर्पणको आवश्यकता पर्छ ।  त्यसो हुन नसकी  समाज अहिले विसङ्गति तिर धकेली रहेको छ I  यसको समाधान गर्न तिर लागेनौ भने देशमा अझै अराजकता, अन्धविश्वास, असुरक्षाले प्रशय पाउने छ I  पिछडिएका महिलाहरूको स्व-अस्तित्व गुम्ने निश्चित छ  I तसर्थ यसमा सङ्कट आउन नदिन के गर्न सकिन्छ भन्ने कुरामा छलफल गर्नु आवश्यक छ ।  

सकारात्मक संवेगको विकास गर्ने 

मानव मस्तिष्कको अधिकांश भाग संवेग उत्पादन गर्ने हर्मोन हुने कुरामा मनोवैज्ञानिकहरूको दाबी छ I सकारात्मक संवेगले मानिसलाई  सृजनशील, उद्यमी र क्रियाशील बनाई राख्दछ I यसले आफ्नो घर परिवार र समाज बिच  सन्तुलन कायम गरी व्यक्तिगत तथा सामुदायिक जीवन जिउन सहयोग गर्दछ  I तसर्थ राज्यले गरिब तथा निमुखा महिलाहरूको  समस्यालाई सम्बोधन  गर्नेगरि सिलाई बुनाई, कृषि, सजावटका समानहरू तथा लेखाई पढाइका कार्यक्रमहरूलाई अघि बढाएर  सकारात्मक संवेग बढाउने दृढता सहित कार्यक्रम अगाडि बढाउन जरुरी छ ।  

सचेतना मूलक कार्यक्रमहरू आयोजना गर्ने  

हाम्रो समाजमा देखिरहेको महिला हिंसा तथा  गरिब महिलाहरूले सामना गरिरहेका कठिनाइलाई सरकारी नीतिले सम्बोधन गर्न सक्नु पर्दछ क्वारेनटिनमा रहेका महिलाहरूलाई पनि  आफू सुरक्षित छु भन्ने अनुभूति हुने गरी व्यवस्थापन गर्नु पर्दछ I  उनीहरू अहिले रोगले भन्दा पनि शोकले मर्ने अवस्थामा छन् I  आफ्ना बालबच्चा तथा घरका अन्य सदस्यहरूसँग सम्पर्क गर्ने अवसर पाएका छैनन् I उनीहरूलाई परामर्शको जरुरत परिरहेको छ I  यसका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू जस्तै योन तथा प्रजनन स्वास्थ्य सबन्धि कार्यक्रम, मनोसामाजिक सङ्कट व्यवस्थापन  सबन्धि कार्यक्रम, महिला स्वयं सेवक परिचालन गरी उनीहरूमा पर्न सक्ने नकारात्मक प्रभावलाई कम गरी सुरक्षित रूपमा रहने वातावरण सृजना गर्नु पर्दछ I 

विभेदपूर्ण व्यवहारलाई निरुत्साहित गर्ने 

समाजमा देखिएका विभेदपूर्ण संस्कारलाई अन्त्य गर्ने यो अवसर पनि हो किनकि  अहिले प्राय देश विदेशका शिक्षित वर्गहरू आफ्नै गाउँ घरमा फर्केको अवस्था छ  I  उहाँहरूले बटुलेका समाज रूपान्तरणका अनुभवहरू तथा  नयाँ नयी सीपहरूलाई समाजमा हस्तान्तरण गर्ने वातावरण बनाउन सक्यौ भने यसले समाजमा देखिएका अन्धविश्वासको निर्मूल भई समाजले काँचुली नफेर्ला भन्न सकिँदैन I अहिलेको  समाज अत्यन्त  भयबित अवस्थामा गुज्रिरहेको छ I  दिन प्रतिदिन  छोराले आमाको हत्या गरेको, गरिब महिलालाई बोक्सीको आरोपमा मर्नु परेको, किशोरीहरूलाई  बलात्कार गरी  झुन्ड्याएर मारिएको जस्ता घटना दैनिक घटी नै रहेका छन् I  यस्ता समाजलाई नै  दूषित बनाउने गतिविधिका लागि समाजमा जनचेतनाको कमी छ I  तसर्थ यस्ता विभेदपूर्ण व्यवहारलाई निरुत्साहित गर्न शिक्षित युवा वर्गहरूले  आ– आफ्नै स्थानबाट सहयोग र पहल गर्नु पर्ने बेला आएको छ I 

महिलाहरूको भावनाको प्रशंसा तथा  सम्मान गर्ने संस्कारलाई  प्रोत्साहन गर्ने 

जसरी एउटा घर राम्रोसँग चल्नको लागि परिवारले एक अर्कालाई सम्मान गर्न जान्नु पर्दछ ।  घरका प्रत्येक सदस्यको भावना र बिचारलाई महत्त्वका साथ बुझिदिनुपर्दछ I त्यसरी नै समाजमा  पनि फरक फरक सामाजिक सांस्कृतिक, आर्थिक मूल्य मान्यता बोकेका मानिसहरू बसोबास गर्दछन् ।  जहाँ  पिछडिएका महिला वर्गका साझा तथा व्यक्तिगत समस्याहरू  हुन्छन्  I  यस्ता समस्याहरूलाई केलाएर  उनीहरूलाई पनि  अरू महिला पुरुष सरह नै व्यवहार गर्ने संस्कारको विकास गर्न सक्यौ भने बल्ल समाजमा  जता ततै शान्तिको प्रकाश फैलिन्छ र समाज समुन्नतिको बाटो तिर लम्कन्छ र सबैले न्याय को अनुभूति गर्न सक्दछन् I