कर्णाली प्रदेश सरकारले  १८ प्रतिशत खेतीयोग्य जमिन उपयोगमा ल्याइने तयारी

कर्णाली प्रदेश सरकारले  १८ प्रतिशत खेतीयोग्य जमिन उपयोगमा ल्याइने तयारी

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ३१, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले महामारी र भोकमरीबाट बच्ने तथा रोजगारी बढाउने विषय एकसाथ लिएर अघि बढ्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बसेको ११औंँ बैठकमा प्रदेशसभा सदस्यले उठाएका सार्वजनिक सरोकारका विषयको जवाफ दिँदै मन्त्री केसीले रोजगारीका लागि उत्पादनका कामलाई अघि बढाउन र कर्णाली प्रदेशमा बाँझो रहेको १८ प्रतिशत खेतीयोग्य जमिन उपयोगमा ल्याउन प्रदेश सरकार अघि बढेको बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य ठम्मर विष्टले प्रदेशसभाका सभामुखसँग जोडिएर विभिन्न अनलाइनमा आएका समाचारले गरिमामय संसद्लाई सोच्न बाध्य बनाएको बताउनुभयो । प्रदेशसभा सदस्य अमरबहादुर थापा, हिमबहादुर शाही, धर्मराज रेग्मी र सोशिला शाहीले कोरोनाको महामारीले समस्यामा परेका नागरिकको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।