पुख्र्यौली पेशाबाट मासिक एक लाख

पुख्र्यौली पेशाबाट मासिक एक लाख
तेह्रथुममा आरनको काम गरिरहेका एक व्यक्ति । फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २८, २०७५

बागलुङ । पुख्र्यौली आरन चलाउने सीपलाई कालिगढ मनबहादुर सिर्पालीले व्यावसायिक बनाउनुभएको छ । ढोरपाटन नगरपालिका–२ का ३९ वर्षीय सिर्पालीले आरन पेशाबाट मासिक  एक लाख रूपैयाँभन्दा बढी कमाउनुहुन्छ । 

सात वर्षअघि सिर्पालीले खोलेको ‘बुर्तिबाङ आरन व्यवसाय सेवा’ मा छ कालिगढले रोजगारी पाएका छन् । पुख्र्यौली पेशालाई उद्यमको रूपमा विकास गर्ने लक्ष्य रहेको सिर्पाली बताउनुहुन्छ । ‘नयाँपुस्ताले आरन पेशा अँगाल्न छाडिसके,’ उहाँले भन्नुभयो, ‘व्यवसायबाट पुख्र्यौली सीपको संरक्षण पनि भएको छ ।’ सिर्पालीले १३ वर्षको उमेरदेखि बुबासँग आरनमा काम गर्दै आउनुभएको थियो । 

‘रोजगारीका लागि पाँच वर्षजति अरबमा बिताएँ,’ उहाँले भन्नुभयो, ‘स्वदेशमै केही गर्नुपर्छ भनेर फर्केर आरन व्यवसाय सुरु गरेँ ।’ पुख्र्यौली घर ढोरपाटन नगरपालिका–६ अधिकारीचौर भए पनि आरनकै कमाइबाट सिर्पालीले बुर्तिबाङ बजारमा घर, घडेरी जोड्नुभएको छ । 

‘तलबलगायतका सबै खर्च कटाएर मासिक एक लाख रूपैयाँ जति कमाइ छ,’ सिर्पालीले भन्नुभयो, ‘मेला, महोत्सवमा जाँदा आम्दानी अझ बढी हुन्छ ।’ सिर्पालीले विभिन्न जिल्लामा हुने मेला, महोत्सवमा आरनमा बनेका घरेलु हातहतियार, भाँडाकुँडाको बिक्रीकक्ष राख्ने गर्नुभएको छ । 

‘फलाम, तामा र पित्तलका सामान बनाउँछौँ,’ अर्का कालिगढ पूर्णबहादुर विकले भन्नुभयो, ‘फरुवा, खुकुरी, बञ्चरो, दाउ, खुँडा, कोदालो र हँसियाको माग बढी आउँछ ।’ आरनमा बनेका सामग्री अन्य व्यवसायीले समेत खरीद गरेर बिक्रीमा राख्ने गर्छन् । 

घरायसी प्रयोगका लागि बनाउन आउने पनि उत्तिकै हुन्छन् । सिर्पालीकै आरनमा बनेको ४२ किलोको खुकुरी मेला, महोत्सवको आकर्षण बन्ने गरेको छ । उक्त खुकुरीको मूल्य ९९ लाख ९ सय ९९ रूपैयाँ तोकिएको छ । स्थानीय सीपबाट बन्ने हुनाले आरनका सामानलाई उपभोक्ताले रुचाउने गरेका छन् । मेहनत लगाएर बनाइने हुँदा सामान आकर्षक र टिकाउ हुने कालिगढ बताउँछन् । दुई वर्षदेखि सिर्पालीको आरन व्यवसायमा जोडिनुभएका कालिगढ विकले पुख्र्यौली पेशा अँगाल्न पाउँदा गर्व लाग्ने गरेको बताउनुहुन्छ । 

सिर्पालीलाई व्यवसायमा श्रीमती सरिताले पनि साथ दिँदै आउनुभएको छ । ‘आरन हाम्रो पुख्र्यौली पेशा हो,’ सिर्पालीले भन्नुभयो, ‘अहिले आरन पेशा सुधारेका छौँ, व्यावसायिक बनाएका छौँ ।’ सिर्पालीका बुबा पदमबहादुर अझै पनि पुख्र्यौली गाउँ अधिकारीचौरमा आरन पेशामा हुनुहुन्छ । 

‘बुबासँग काम गर्दै यो पेशा सिकेँ,’ विकले भन्नुभयो, ‘व्यावसायिकरूपमा गर्नुपर्छ भनेर म बजार झरेँ ।’ सिर्पालीका दुई छोरा र दुई छोरी पढाइमा छन् । आफ्नो पुख्र्यौली सीप र पेशालाई सम्मानपूर्वक अँगाल्नुभएका सिर्पाली आरन व्यवसायबाटै सबैतिर चिनिन सफल हुनुभएको खबर राससमा छ ।