भोकको पिरामिड

भोकको पिरामिड

बि. एन ढकाल  |  साहित्य  |  जेठ ३१, २०७७

बढेपछि सपनाको पिरामिड 
साँल्दाइ पसेका थिए सहर !

सहर पस्नुअघी बुबाले भन्नुभएथ्यो-
'सा‌ँइला, शहर गए पनि नबिर्सनु गाउँघर
मलाई दम छ, आमालाई प्रेसर-
फोन गर्दै गर्नु !

उनले पनि हल्लाएका थिए 
हल्लाउन त टाउको  हुँन्छु भन्दै !

तर, सहर गएपछी किन सम्झिन्थे गाउँघरस
गरेनन् फोन, सोधेनन् हालखबर !
सहर गएपछी किन सम्झिन्थे बा आमा,
बिर्सिए बुबाको दम, सोधेनन् आमाको प्रेसर !

भैँसीको बाक्लो मोहीसँग मकैका च्याख्ला खाएर हुर्केका मेरा साँल्दाइ
सहर पसेपछी भेटेछन् कि के हो मनसुलिको जाउलो !
सम्झेनन् भैंसीको मोही, सोधेनन् एक बात भैंसी ब्याउने छ कि नाइ ?

गुराँस फूल्दा जङ्गलमा स्कुलै नपुगी छुट्टी हुन्थ्यो साँल्दाइको
सहर पसेपछी भेटेछन् कि के हो कागजको रङ्गीन गुलाब !
सम्झेनन् गुराँसको फूल, भनेनन् पठाइदे न एउटा फोटो !

सालको पातमा हालेको कोदोको रोटि औधी मन पराउने मेरा साँल्दाइ
सहर पसेपछी भेटेछन् कि के हो आधुनिक म:मका डल्ला !
सम्झेनन् कोदाको रोटि, भनेनन् आमालाई कोदाको पिठो पठाइदिनु !
  
चटक्कै बिर्सिएपछि साँल्दाइले गाउँघर
गाउँघरले पनि बिर्सियो क्यार उनलाई !

जिउनी धाराले बिर्सियो क्यार साँल्दाइको तिर्खा-
सुक्नै लाग्यो धाराको पानी !

हरेलो डाँडाले बिर्सियो क्यार साँल्दाइको सुसेली-
रमाइलो लाग्दैन अचेल पहिलाजस्तो हरेलो बजार !

रमिते भीरले बिर्सियो क्यार साँल्दाइको पसिनाको रङ्ग-
बनमारा उम्रीन्छ भीरमा घासको सट्टा !

बर्खे दहले बिर्सियो क्यार साँल्दाइको स्वीमिङ-
सुक्नै लाग्यो दहको पानी !

डल्ली भैंसीले बिर्सियो क्यार साँल्दाइको मोहीप्रेम-
दिँदैन अचेल भैँसीले दूध !

छरछिमेकिले पनि बिर्सिए क्यार साँल्दाइको उधारो सहयोग-
सोध्दैन कुनै छिमेकिले खबर !

बा-आमाले पनि बिर्सिनुभयो क्यार साँल्दाइको तस्विर-
हिँडेको देखे बाटोमा कोही नयाँ मान्छे भन्नुहुन्छ - साँइलो आयो कि के हो ? 

यसरी एकाएक विराना भए साँल्दाइ
बरु फर्किन्थ्यो होला बन्दुकको गोलि तर फर्केनन् साल्दाइ !
बरु पग्लिन्थो होला ढुङ्गाको मुटु
तर पग्लेन कहिले साल्दाइको मुटु !

भएपछी विरानो निष्ठुरी साँल्दाइ 
नसम्झेपछी कहिले गाउँघर
नसोधेपछी बाआमाको खबर
कहिलेकाही मेरो सामु बा भन्नुहुन्छ-
'बढेपछी सपनाको पिरामिड
मान्छे सहर पस्छ र गाउँ बिर्सन्छ !
आइलागेर कुनै विपत्ती
फैलिएर कुनै महामारी
बढ्यो भने भोकको पिरामिड
मान्छे सहरलाई धिक्कार्छ र गाउँ सम्झिन्छ'

यतिबेला सहरमा 
पर्यो कि के हो कुनै बिपत्ती !
फैलियो कि के हो कुनै महामारी !
बढेछ क्यार ह्वात्तै भोकको पिरामिड !
साँल्दाइको फोन आएथ्यो आज बिहान
भन्दैथे रुँदै- 'लकडाउन खुल्नासाथ म घर आउँछु भाइ
बाआमालाई सेवाढोग सुनाइदे है !'

                       अरुण गाउँपालिका-५,भोजपुर