दाफा भजनको विकास र विस्तार : यसलाई जीवन्त र निरन्तरताको लागि भोजपुरको टक्सारकाे योगदान

दाफा भजनको विकास र विस्तार :  यसलाई जीवन्त र निरन्तरताको लागि भोजपुरको टक्सारकाे योगदान

गणेश बज्राचार्य  |  लोकरञ्जन  |  जेठ ३१, २०७७

टक्सार बजार र सङ्गीत

भोजपुर टक्सारको साङ्गीतिक क्षेत्रको इतिहास अत्यन्त पुरानो छ । बि.सं. १८७२ मा टक्सार बजारको स्थापना भए पश्चात् पाटनबाट विभिन्न समयमा त्यहाँ बसोबास गर्न पुगेका शाक्य, बौद्धाचार्य, बज्राचार्य, तुलाधर, उदास, ताम्रकार, हलाई, ढंगु(महर्जन), नाउ र कुशुले थरका परिवारहरू मध्येबाट आफ्नो कार्य व्यवसाय बाहेक कोही सङ्गीत, कोही साहित्य र कोही अन्य कलामा दखल राख्ने व्यक्तित्वहरू पनि समाजमा स्थापित भएका थिए । यही लहरमा विभिन्न कालखण्डमा टक्सारमा उदाएका साङ्गीतिक क्षेत्रका महारथीहरू एवं यहाँका पुराना शास्त्रीय सङ्गीतकार तथा वस्तादहरु गोवर्धनदास श्रेष्ठ, भाजुकृष्ण उदास, लालबहादुर उदास, सङ्गीत पारखीहरू सिद्धिराज ताम्राकार, बेखाराज ताम्राकार आदि भेला भई स्थानीय स्तरमा धार्मिक तथा सांस्कृतिक भजनहरू आयोजना गर्न थाले । 

भनिन्छ, वस्ताद गोवर्धनदास, भाजुकृष्ण आदि हार्मोनियम, तवला लगायत विभिन्न ५/७ प्रकारका वाद्यवादनका ज्ञाता थिए । यिनीहरूको जमघट स्वयं नै सङ्गीत सम्मेलन सदृश हुन्थ्यो । उनीहरू मध्ये सङ्गीत क्षेत्रका उस्ताद भाजुकृष्ण तुलाधर सबैले रुचाएका सङ्गीतकार थिए । स्वघोषित ‘चक्रवर्ती’ उनी राग, भजन र वाद्यवादनमा उतिकै निपुण हुनुका साथै बाँसुरी सधैँ साथमा राखी हिँड्ने गर्दथे । उनको गायन र वाद्यवादनको धून सुन्न मानिसहरू झुम्मिने गर्दथे । तत्कालीन संगीतज्ञहरुको सङ्गीत साधनामा स्वयं सरस्वतीको वास रहेको भान हुन्थ्यो । यिनीहरू राग अलापेर वृष्टी गराउने समेत क्षमता राख्दथे भन्ने जनश्रुति छ । तत्कालीन समाजमा मनोरञ्जनको साधनको रूपमा परम्परागत वाद्यवादन बाहेक त्यो समयको आधुनिक बाजा भनेकै हार्मोनियम, तबला र बेला हुने गथ्र्यो । उनीहरूको सत्सङबाट नव पिँढीका थुप्रै कलाकार, धा, धेमे र लाखे नाचका बाद्यबादक तथा भजनका गायक तयार भए । त्यसरी नै भैलचा, धामी बुढा, लोकबहादुर शाक्य, मानबहादुर तमोट  थुप्रै हास्यव्यङ्ग्य कलाकारहरूको जन्म भयो ।

यस वेला समय समयमा हुने भजन कीर्तन तथा शास्त्रीय साङ्गीतिक कार्यक्रमहरूमा सहभागी भएर मीनबहादुर कार्की र स्व. पदमबहादुर उदास, कृष्णबहादुर तमोट, बाबुलाल तमोट, हरिप्रसाद ताम्राकार, वासुदेव ताम्राकार, लोकनाथ शाक्य, वसन्तकुमार उदास, तीर्थ उदासले पनि सङ्गीतको क्षेत्रमा ज्ञान हासिल गर्न सफलता पाएका थिए । अघिल्लो पुस्ताको क्रमशः अवसानपछि केही समयसम्म यिनीहरूबाट सङ्गीतको क्षतिपूर्ण गर्ने कार्यमा योगदान पुर्‍याउने कार्य भयो । 

सङ्गीत क्षेत्रको मध्यकालमा सिद्धिराज र बेखाराज ताम्राकारले भजन कीर्तनलाई व्यवस्थित गर्न ‘नारायण भजन संध’ स्थापना गरे र सो को निमित्त आफ्नै निवास अगाडि एक वटा पाटीको पनि निर्माण गरिदिए । भजन सङ्घको स्थापना भएपछि उक्त पाटीमा नियमित रूपले पर्व पर्वमा भजन गर्ने चलन चलाए । प्रौढ व्यक्तिहरूको बाहुल्यता रहने शास्त्रीय सङ्गीतको यस भजन सङ्घलाई बुढा भजन भनेर पनि पुकारिन्छ । यस सङ्घका पछिल्ला सङ्गीत साधक बेखाराज ताम्राकारका सुपुत्र वासुदेव ताम्राकार र अर्का साधक लोकनाथ शाक्य पनि स्वर्गीय भइसकेको हुनाले र निजहरूबाट प्रशिक्षित नयाँ पुस्ताका संगीतप्रेमीहरु पनि शून्य बराबर रहेकाले धेरै वर्षसम्म क्रियाशील उक्त ‘नारायण भजन सङ्घ’को अस्तित्व लोप भैसकेको छ । 

विगत केही वर्षदेखि दाफा भजनमा मात्र होइन सवैप्रकारका परम्परागत संस्कृति तथा कला क्षेत्रमा साधकहरूको कमी महसुस हुन थालेको छ । तथापि प्रेम शाक्य, सुमन शाक्य जस्ता नवोदित विद्यार्थी कलाकर्मीहरुबाट केही युवाहरूमा खिं वादन प्रशिक्षण अन्य स्थानीयरुपमा प्रचलित धाः,धिमे, नायखिं आदि बाजाहरूको प्रशिक्षणमा केही सहयोग मिलिरहेको छ । यसै प्रसङ्गमा प्रेम शाक्यद्वारा लिखित धाः, धिमे, नायखिं, खिं बाजाका तालहरूको आधारभूत पाठ्य सामाग्री सहितको खिं वादन नामक कृतिबाट नव साधकहरूलाई ऊर्जा मिलिरहेको कुरामा विश्वस्त हुन सकिन्छ । 

शास्त्रीय गायन, भजन उन्मुख ‘नारायण भजन सङ्घ’ सक्रिय रहेको अवस्थामा उपत्यकाबाट आएका आदिवासी बौद्ध नेवारहरूले विभिन्न देवालयहरूमा पर्ब तथा उत्सवहरूमा शास्त्रीय छन्दकै भगवानहरुको स्तुति रहने दाफा भजन प्रचलनमा ल्याए । दाफा भजनको लोकप्रियता दिनानुदिन वृद्धि हुँदै धेरै सङ्घ स्थापना भएर बर्षौसम्म उत्साहपूर्वक सञ्चालन भइरह्यो र हालसम्म यो भजन टक्सारमा जीवित रहेको छ । 

 

दाफा भजन 

खिं बाजं(मृदङ्ग) बजाई स्तोत्र (भजन) गीत गाउनुलाई दाफा भजन भनिन्छ । नेपाल भाषा केन्द्रीय विभाग प्रमुख श्री तुलसीलाल सिंहका अनुसार पनि दाफा भन्नाले खिं बाजाका साथमा अन्य विभिन्न बाद्य सामाग्री प्रयोग गरी गाइने, बजाइने साङ्गीतिक विधालाई भनिन्छ । यसमा भजनको उठान गर्नुअघि प्रारम्भमा गीतको शास्त्रीय लक्षणयुक्त राग अलाप लिइसकेपछि मात्र सोही रागमा रचेका विभिन्न तालमा गीत गाई सोही तालमा नृत्य गर्ने परम्परा छ । दाफा भजनमा अहिले पनि ३२ वटाभन्दा बढी राग प्राप्त छन् । खिं बाजाको मुख्य भूमिका रहेको यो भजन ऋतुअनुसार गाइन्छ तथा यसमा साथ दिन हार्मोनियम, विभिन्न ताः, वमः चा (झ्याली), पोंगा आदि बजाइन्छन् । यी बाद्यबादनले भजनका रागको आलापलाई निर्देशित गर्दछन् । यी बाजाहरुको ताल र लय (सुर)मा भजन मण्डलीका अन्य सहभागीहरूले स्वरमा स्वर मिलाएर गाउने गर्दछन् । खिंबाजं र ताः बाजाको ताल चुक्न गएमा भजन गायकहरू अलमलिने हुनाले यी बाजाहरू बजाउने व्यक्तिहरू कुशल हुन जरुरी छ ।

विगत केही वर्षदेखि दाफा भजनमा मात्र होइन सवैप्रकारका परम्परागत संस्कृति तथा कला क्षेत्रमा साधकहरूको कमी महसुस हुन थालेको छ । तथापि प्रेम शाक्य, सुमन शाक्य जस्ता नवोदित विद्यार्थी कलाकर्मीहरुबाट केही युवाहरूमा खिं बादन प्रशिक्षण अन्य स्थानीयरुपमा प्रचलित धाः,धिमे, नायखिं आदि बाजाहरूको प्रशिक्षणमा केही सहयोग मिलिरहेको छ । यसै प्रसङ्गमा प्रेम शाक्यद्वारा लिखित धाः, धिमे, नायखिं, खिं बाजाकातालहरुको आधारभूत पाठ्य सामाग्री सहितको खिं बादन नामक कृतिबाट नव साधकहरूलाई ऊर्जा मिलिरहेको कुरामा विश्वस्त हुन सकिन्छ । 
दाफामा प्रयोग हुने खिं बाजा आफैमा अत्यन्त सुमधुर लयात्मक बाजा हो । यस बाजाका सबै तालहरूमा एक आवृत्तिदेखि चार पाँच आवृत्तिसम्मका लामा लामा बोलहरूको संयोजन रहने हुनाले यो बाजा वादन गर्दा मात्र पनि गीत सुनेको आभास हुने गर्दछ । यसमा प्रयुक्त हुने सबै तालहरूमा खिं वादनका विविध अङ्गहरू समावेश भएको हुन्छ । जस्तै छाती, मात्वा, चाक, घोंचाक, गौ ,न्ह्या आदि । चाक पनि दुई प्रकारको बजाइने गरिन्छ । गीतका अघिल्लो अन्तरा भागहरूमा चाकः समावेश गरिएको हुन्छ भन्ने अन्तिम अन्तरा भागमा विशेष प्रकारको चाक बजाइन्छ,जसलाई घोंचाक  भनिन्छ । जुनसुकै तालमा गीत उठान गर्दा पहिले खिंबाट छातींः अङ्गबाट सुरुवात गरी क्रमशः मात्वा ,चाक, गौ, न्ह्या आदिको अङ्ग पूरा भएपछि समापन गर्ने गरिन्छ । 

भजनमा प्रयोग हुने रागबाट भजनको वातावरणीय माहौलमा समय, याम, ऋतु कालको आभास पाउन सकिन्छ । जसको कारण श्रोताहरू मन्त्रमुग्ध हुन पुग्दछन् । यसै अवसरको फाइदा लिँदै गायक वादकहरूले समय, काल ऋतु सुहाउँदा भजन गाएर श्रोताहरूलाई मन्त्रमुग्ध गराउन सफल हुन्छ । 

भजनकर्मीहरु दुई समूह गरी मात्वाको अङ्गदेखि पालै पालो गायन सुरु गरी अन्तिममा घों चाकको अङ्ग पूरा भएपछि समापन गर्ने गर्दछ । 

दाफा भजनको अर्को विशेषता हरेक भजनहरूमा भजन रचना भएको समयको जीवन्तता स्वरूप तत्कालीन राजा महाराजाहरूको स्तुति र गीत रचनाको समय सन्दर्भ पनि समावेश गरिएको पाइन्छ । यसका आधारमा मल्लकालीन राजा प्रताप मल्ल, श्री निवास मल्ल, सिद्धि नरसिंह मल्ल, जय प्रकाश मल्ल र शाहकालीन राजाहरू गिर्वाणयुद्ध विक्रम शाह, पृथ्वी वीर विक्रम, त्रिभुवनको शासन कालका स्तुति गीतहरू हालसम्म पनि उत्तिकै महत्त्वका साथ गाइदेै आइएको छ । 

राजाहरूको स्तुति गानको उदाहरणका रूपमा केही भजन 

कोला राग
मायादेवी या काय् अति न सुन्दर ...........नेपालया ईश्वर श्री निवास मल्ल रे ।
श्री राग
नेपालया शीरोमणी ............ नृपति गिर्वाणयुद्ध विक्रम शाहदेव पालायागु वेला हे

समय सन्दर्भ वर्णन 
श्री राग
गुसल वो निय न्हस चैत्र कृष्ण अष्टमी 
केदार राग
हादे विद्याधरी जगतमाता ........................... हादे त्रिभूवन विक्रम साहेव महाराजा धाल ।
हादे भगवान दरशन याय तु जि मन ..........हादे श्री राजा राजेन्द्र विक्रम शाहदेव ।

दाफा भजनमा प्रचलित  ताल तथा रागहरू

दाफा भजनमा अत्यन्तै प्रचलित तालहरूमा मुख्यतया चो (चार मात्रा) र  जति ( सात मात्रा) हुन् । यस्तै ताल गन्धः (.चौध मात्रा), एकताल ( छ मात्रा), प्रताल (चौध मात्राका) तालहरू प्रचलनमा रहेको पाइन्छ भने विभिन्न तालहरूको संयोजन रहेको दुई ताल मिश्रित ताल दोमा, तीन ताल मिश्रितमा, यस्तै चौमा, पञ्चमा, षडमा, सतमा जसलाई समग्रमा ग्वारा तथा अस्तरा नामले सम्बोधन गरिने केही कठिन लाग्दा तालहरू समेत प्रचलनमा रहेको छ । यी ग्वारा तथा अस्तराहरु गायनको सुरुवात गर्दा छातीको अङ्गदेखि गीत भजनको राग लक्षणयुक्त आलापबाट उठान गरी क्रमशः मात्वाः, लवः, कचा मात्वाः,घों आदि अङ्गहरू गरी छ आवृत्तिसम्म दोहो¥याएपछि भजन पूरा गरिन्छ ।

त्यस्तै दाफा भजनमा पुराना भजनकर्मीहरुले थुप्रै रागहरूमा आधारित भजनहरू गाउने गरिए तापनि वर्तमानमा ती सबै रागहरूमा भजन गाउने भजनकर्मीहरुको अवस्थिति छैन । वर्तमानमा प्रचलनमा रहेका रागहरू मालव, केदार, सारंग, नाला, कोला, कौसी, विभास, भूपारी, बलारी सुरथ (सोरठ),व्यांचली, वसन्त, पहदीरा, पदमजली, आसावरी, देवगिरी, मल्हार, श्यामकरी, श्री, जयश्री, मालश्री, धनाश्री, विहाग नट आदि प्रचलनमा देखिन्छ । 
 
दाफा भजनका रागहरू र गाउने समय 

नेवार गीत तथा भजनहरूमा कुन राग कुन समयमा गाउने  भन्ने आफ्नै नियम छ । जस अनुसार एक दिन एक रातभित्र गाउने गीतको राग निम्नलिखित तालिकामा उल्लेख गरिए अनुसार छ :

राग  गीत गाइने समय
बिहाँचुली बिहानीपखको मिर्मिरेमा गाइने
भक्त उज्यालो हुँदादेखि बिहानको ७.०० बजेसम्म
जयसिरी   बिहानको ७.०० बजेदेखि ९.०० बजेसम्म
मालुवा   बिहानको ९.०० बजेदेखि १२.०० बजेसम्म
बिभास   दिउँसो र मध्यान्हको १२.०० बजेदेखि १.०० बजेसम्म
आसावनी  दिउँसोको १.०० बजेदेखि २.०० बजेसम्म
पद्मजति   दिउँसोको २.०० बजेदेखि ३.०० बजेसम्म
देसा अपरान्ह ३.०० बजेदेखि ४.०० बजेसम्म
कौसी अपरान्ह ४.०० बजेदेखि ५.०० बजेसम्म
केदार   साँझपख ६.०० बजेदेखि ७.०० बजेसम्म
विजय  बेलुकी ७.०० बजेदेखि १०.०० बजेसम्म
विभास  बेलुकी १०.०० बजेदेखि ११.०० बजेसम्म
नाथ बेलुकी ११.०० बजेदेखि १२.०० बजेसम्म
कोला आधारातको १२.०० बजेदेखि १.०० बजेसम्म
नमामि आधारातको १.०० बजेदेखि २.०० बजेसम्म
मालवा  आधारातको २.०० बजेदेखि ३.०० बजेसम्म

उपर्युक्त रागहरुका ज्ञाता तथा साधकहरुको कमीको कारण आजकल नियमानुसार यी रागहरु गाउने गरिएको देखिदैन । 

दाफा भजनको उद्गम र विकास 

दाफा भजन नेपाल मण्डलमा कहिलेदेखि प्रचारमा आयो भनी किटान गर्न सकिएको छैन तापनि दाफा भजनका गीतहरुमा मल्ल राजाहरुको प्रशस्ती गानहरु भएबाट मल्लकालदेखि नै यो भजनको प्रचलनमा ब्यापकता आएको देखिन्छ । नेपाल सम्बत ८४५ मा  उपत्यकाको मच्छेगाउं स्थित एक शीलालेखका अनुसार नलिक्वाथ क्षेत्रमा सकृय दाफा समूहका तर्फबाट विष्णु देवताको मन्दिरमा एक घण्ट चढाएको विषय उल्लेख गरिएको पाइएको छ । नेपाल सम्वत ९५४ मा काठमाण्डौ धालाघर टोलको ओछुननीय फलैचामा अंकित शीलापत्रमा पनि ‘ओछुननीयमा दाफा समूहको धर्मचित्त उत्पन्न भएको कारण’ भनी दाफा भजनका सम्बन्धमा उल्लेख भएको पाइएको छ ।  

दाफा भजन एक भक्ति संगीत पनि हो । मल्ल राजाहरूले कार्तिक नाचको प्रबन्ध गर्दा यही खिं बाजा बजाई नचाउने गरिएको हो जुन आजसम्म पनि प्रत्येक वर्ष वराह नरसिंह आदिको चरित्र प्रर्दशन भैरहेको भनाइ छ । यो बाजा यहाँ र्कािर्तक नाचमा विशेष गरी श्रेष्ठहरूले 

बजाउने गर्दछन् । यो दाफा भजन शाक्य, वज्राचार्य, ताम्राकार र महर्जनहरूको बीच ज्यादै लोकप्रिय छ । नेपाल मण्डलको खासगरी पाटनबाट बाहिरिएका ब्यक्तिहरुले दाफा संस्कृतिलाई मुलुकको विभिन्न स्थानमा फैलाएको कुरालाई भने नकार्न सकिन्न । 

भोजपुर टक्सारमा दाफा भजनको प्रारम्भ र विकास 

भोजपुर टक्सारमा  ने.सं. १०१५–१०२०  अर्थात वि.सं. १९५० देखि वि.सं. १९५५ को बीचतिर दाफा भजन शुरु भएको देखिन्छ । ‘दाफा’ भजनको प्रारम्भ भने ग्वारा आजु पाटनबाट यहाँ आएपछि भएको मानिन्छ । पाटनबाट यहाँ आएका ग्वारा आजुले यहाँ आई दाफा भजनको प्रशिक्षण गरे । त्यसबेला दुईचार घरका सदस्यहरुबाट मात्र यो भजन चलिरहेको थियो । त्यसको केही बर्षपछि पाटनबाट नै सिंहज्योति शाक्य पनि यहाँ आए । ग्वारा आजु दाफाका ३२ सै रागका ज्ञाता थिए भने सिंहज्योति पनि दाफाका हस्ती नै थिए । सिंहज्योतिले कुलबहादुर शाक्य र मङ्गलदासको साथ लिई दाफा भजनको तालिमको ब्यवस्था मिलाएपछि यो भजनको राम्रै विस्तार भयो । दाफा भजनमा पुनरत्न शाक्य आदि अन्य हस्तीहरुको जन्म भयो । त्यसबेलादेखि दाफा भजनमा मानिसहरुको सहभागिता पनि बढ्न थाल्यो । 

दाफा भजनमा ९५ प्रतिशत गाना नेपालभाषामा छ भने बाँकी हिन्दी भाषामा छन् । अनि नेवार संस्कृतिको प्रतिबिम्ब स्वरुप राम्रा राम्रा गीतहरु पनि छन् । यसले गर्दा दाफा भजन शुरु गर्दा प्रत्येक पटक पाटनमा जस्तै देवताको पूजा गर्ने, धर्म गर्ने बारे बरोबर छलफल हुन्थ्यो । पछि पछि दाफा भजनको प्रारम्भ गर्दा देवताहरुको पञ्चभजन अनिबार्य गाएर अन्य गीतहरु गाउने चलन चल्न थाल्यो । पञ्च भजन गाउँदा जुन मन्दिरमा भजन गरिने हो सोही मन्दिरको देवी देवताको भजन गाएर दाफा प्रारम्भ गर्ने गरियो । 

नेपालभाषा संस्कृतिको अभिन्न अंग दाफा भजनको ३२ प्रकारका रागमध्ये २०–२२ राग, ग्वारा र तालका ज्ञाता सिंहज्योति शाक्य, उहाँपछि आफुले जतिसुकै जाने पनि लेश मात्र घमण्ड नभएका जोगमान शाक्य र परिआएमा घमण्डै पनि गर्नसक्ने पुनरत्न शाक्य तथा हर्षधन शाक्य, मणिरत्न शाक्य प्रभृतिको यहाँको सांगीतिक क्षेत्रमा रहेको योगदान महत्वपूर्ण एवं ऐतिहासिक रहेकोछ । उपर्युक्त हस्तीहरुको नाम पनि एक समयमा टक्सारमा छ टोलीसम्म बिकसित भएको दाफा भजन रहेसम्म अमर रहनेछ । यसै भजनमा आफ्नो मृदु स्वभावले गाई बजाई सबैलाई चित्त बुझाउन सक्ने सिंगराज ढंगु (लाखे दाइ) र भजन, नाटकहरुमा  दर्शक श्रोतालाई आफ्नो गायन अभिनयबाट चाहिँदो हँसाउन सक्ने लोकबहादुर शाक्य(दयालु) यी दुई प्रतिभाहरु पनि सदा स्मरणीय छन् । 

टक्सार बजार र दाफा भजन 

टक्सार बजारको पहिचान बचाइराख्ने महत्वपूर्ण तत्वहरुमध्ये दाफा भजन पनि एक हो । एक प्रकारबाट टक्सार बजार र दाफा भजन पर्यायबाची बनिसकेको छ । टक्सारमा त्यस्तो कुनै कार्यक्रम छैन जसमा दाफा भजन नभएको होस् । यो भजन टक्सारका मन्दिर तथा बिहारहरुमा बिशेषतः अष्टमी र पूर्णिमा आदि निश्चित पर्बमा अनिबार्य रुपले सञ्चालन गरिन्छ भने भीमसेन जात्रा, कृष्णजात्रा र अन्य जात्रामात्रा एवं उत्सबहरुमा पनि दाफा भजनको आयोजना गरिन्छ । श्री अजिमाको मन्दिरमा गुँला पर्बभरि एक महिना प्रातः दाफा भजन गर्ने चलन अद्यापि छ । दाफा भजन समाप्त भएपछि नामसंगीति पाठ गर्ने गरिन्छ । समाजमा सम्पन्न गरिने शुभ बैवाहिक कार्यक्रम, चुडाकर्म, भीमरथारोहण वृद्ध पास्नी आदि ब्यक्तिगत कार्यक्रममा खुशियाली पूर्वक  दाफा भजन संघलाई आमन्त्रण गरेर हर्षोत्सब गर्ने पनि चलन छ जसमा सकृय सहभागी भएर जन समुदाय आनन्दानुभूति गर्दछन् । 

दाफा भजनमा भाषिक प्रयोग 

टक्सार बजारमा प्रचलनमा रहेको भजनहरुमा गाइने भजन गीतहरुमा सवै खालका देवीदेवताहरुको स्तुतीगान रहेको छ जसमा नेपालभाषा, हिन्दी भाषा, भोजपुरी, नेपाली भाषाहरु तथा विभिन्न मिश्रित भाषाको समेत प्रयोग भएको पाइन्छ । कुनै कुनै गीतमा एकभन्दा वढी भाषाहरुका शव्दहरु प्रयुक्त हुंदा उक्त गीतको अर्थ समेत विचलन हुन गएको भेटिन्छन । शब्दहरु अपभ्रंश हुंदै आंउदा शाब्दिक अर्थमा प्रभाव परेको देखिन आएको छ । मूख्य रुपमा परम्परागत भजनहरुमा धेरैजसो नेपालभाषा प्रयोग भएको पाइन्छ भने यहाँका कलाकारहरुले विभिन्न धार्मिक जातकमा आधारित सर्वार्थसिद्ध, मणिचुढ, विश्वन्तर, वीरकुश, दुर्गाअवतार आदि नाटक प्रदर्शनका क्रममा सिर्जना गरिएका गीतहरुमा प्रयुक्त भाषा क्रमिक रुपमा परिस्कृत हुदै आएको पाइन्छ ।  सवार्थसिद्ध, विश्वन्तर आदि नाटकहरुबाट साभार गरिएको गीतहरुमा हिन्दी भाषाको वाहुल्यता देखिन्छ, मणिचुढ आदि नाटकहरुमा नेपाल भाषा र वीरकुश, दुर्गावतार र अन्य केही नाटकहरुबाट साभार गरिएका गीत भजनहरुमा क्रमशः नेपाली भाषा प्रयुक्त हुन थालेको पाइन्छ । 

यसै सन्दर्भमा दाफा भजनमा प्रायजसो भक्तिगान नै गाइने भएता पनि विभिन्न जातक आख्यान, कथामा आधारित नाटकहरुका लागि लेखिएका कतिपय गीतहरु भजनका रुपमा नभई नाटकका पात्रहरुको दृश्य तथा प्रसंग भाव, दृश्य अनुसार प्रेम, मिलन, विछोडजन्य सन्दर्भका स्वच्छन्द गीतहरुलाई विभिन्न अवसरमा जोश र भावपूर्ण रुपले गाउने गरिएको छ । 

टक्सारका दाफा संघहरु र तिनीहरुको बर्तमान स्थिति 

दाफा भजनको बिकासक्रममा टक्सारमा बि.सं. २०३५–३६ सम्म श्री अजिमा दाफा संघ,श्री करुणामय दाफा संघ, श्री शाक्यमुनि दाफा संघ लगायत गणेशटोल र विष्णुटोलमा समेत दाफा भजन संघको स्थापना भई पर्बपर्बमा भजन संचालन गर्ने गर्दथे । तर कालान्तरमा स्थानीय मानिसहरुको जिल्ला बहिर्गमनको प्रवाह बढेसंगै र पहिलो पुस्ताका हस्तिहरु पनि क्रमशः घट्दै गएपछि यी संघहरुमा सहभागीहरुको खडेरी बढ्दै गयो । परिणामतः बिष्णुटोल र गणेशटोलका भजन संघ बन्द हुन पुगे । 

दाफा भजनको प्रथम पुस्ताका रुपमा ग्वारा आजु, सिंहज्योति शाक्य, मंगलदासको नाम आउछ भने दोश्रो पुस्तामा हर्कराज शाक्य, पुनरत्न शाक्य, ज्योतिमान शाक्य, सिंहराज उदास, हर्षधन शाक्य, देवरत्न शाक्य, गंगा बहादुर शाक्य पृथीराज शाक्य, मणिरत्न शाक्य, हेमनाथ शाक्य, मानकाजी शाक्य, सिद्धिराज शाक्य दान बहादुर,शाक्य, जगत बहादुर शाक्य, भक्त बहादुर शाक्य, हेमराज उदास, बसन्तराज उदास, राम बहादुर शाक्य कृष्ण बहादुर शाक्य ,हिरालाल शाक्य ,सानुकाजी तुलाधर, हुदै क्रमागत रुपमा न्हुच्छे प्रसाद उदास लोकनाथ शाक्य ,तिर्थराज शाक्य, लक्ष्मण उदास, तिर्थ राज तुलाधर  पृथीराज शाक्य  ज्ञान बहादुर शाक्य, सूर्य बहादुर ताम्राकार र देवकृष्ण शाक्य पर्दछन् ।  तेश्रो पुस्तामा क्रमागत रुपमा देवकुमार शाक्य, नन्दराज शाक्य, कुल बहादुर ताम्राकार, भीमज्योति शाक्य, भक्तराज शाक्य, महेन्द्र शाक्य तिर्थराज शाक्य, मीम शाक्य आदि वर्तमान पुस्ताका कलाकारहरुले सुनमा सुगन्ध थप्दै यसलाई निरन्तरता दिदै आए । यिनीहरु मध्येका  धेरै कलाकारहरु काठमाण्डौ, धरान विराटनगर आदि 

स्थानहरुमा वहिर्गमन पछि पुराना वृद्ध जेष्ठ भजनकर्मीहरु पृथीराज शाक्य, सूर्य बहादुर ताम्राकार देवकृष्ण शाक्यहरुको टेवा लिंदै हाल देव कुमार शाक्य, प्रेम शाक्य नरेन्द्रराज शाक्य वुद्धराज शाक्य हर्ष बहादुर ताम्राकार, राजकुमार ताम्राकार, सानुकाजी शाक्य, सुमन शाक्य, भरत ताम्राकार, योगेश उदास, सागर उदास, प्रवीण उदास, सुरज ताम्राकार, विशान्त हलवाई, विन्जल हलवाई, दीपक शाक्य, निरोज्वल शाक्य, दीपेश ताम्राकार, रोशन शाक्य, रेमन उदास, दीपेश श्रेष्ठ तथा अन्य केही उदीयमान भजनकर्मीहरुव्दारा अद्यापि यस स्थानमा दाफा भजनले निरन्तरता पाइरहेको छ । 

यस स्थानबाट विस्थापित भई गएका भजनकर्मीहरुले पनि यहां प्रचलनमा आफूले सिके जाने अनुसारका कलायुक्त दाफा भजनलाई बसाइसराई भएको स्थानहरु धरान, काठमाण्डौ जस्ता शहरहरुमा समूह, गुठी खडा गरी दाफा भजन, बनदेवी नृत्य, धा. धिमे, नायखिं वादन सहीतको कला संस्कृतिलाई विस्तार गरिरहेका छन् । 

दाफा भजनको लागि महत्वपूर्ण बाजा खिंबाजं बजाउने ब्यक्ति नभएमा दाफा भजन संचालन हुन कठीन हुन्छ । त्यस्तै खिं बाजं र ताः बाजाको ताल चुक्न गएमा भजन गायकहरु अलमलिने हुनाले यी बाजाहरु बजाउने ब्यक्तिहरु कुशल हुन जरुरी छ । खिं बाजं बजाउने दोश्रो पुस्ताका हस्तिहरु दानबहादुर शाक्य, जगतबहादुर शाक्य, लोकनाथ शाक्य, मणिरत्न शाक्य, रामबहादुर शाक्य, हिरालाल शाक्य,न्हुच्छे प्रसाद उदासले आफ्नो जीवनकालमा टक्सार बजारमा रहुञ्जेल दाफा भजनमा नेतृत्व प्रदान गरिरहे भने नयाँ पुस्ताका अग्रणी प्रेमकुमार शाक्य लगायत कुलबहादुर ताम्राकार, सुमन शाक्य, सागर उदासले हालसम्म खिं बाजं बजाउने सीपको उपयोग गरेर नयाँ पुस्ताका युवाहरुलाई यस भजन तर्फ उन्मुख हुन सहयोग  पुर्‍याइरहेका छन् । 

उपसंहार

दाफा सङ्घहरूले पर्बपर्बमा देवालय तथा विहारमा र उत्सवका अतिरिक्त स्थानीय नाटकहरूमा समेत योगदान पुर्‍याउँदै आएका छन् । बि.सं. १९८८ सालमा टक्सार बजारमा  नेपाल भाषामा २ वर्षसम्म ७ दिन अहोरात्र मञ्चन गरिएको सर्वार्थसिद्धको (बुद्ध जीवनीमा आधारित) नाटकमा समेत दाफा भजन प्रयोग गरिएको थियो । तर दुःखलाग्दो कुरा समय, काल र परिस्थितिले गर्दा यहाँका नागरिकहरूको विस्थापन सँगै यहाँका प्रतिभाशाली भजनकर्मीहरुको बहिर्गमनको कारण पुराना सिद्धहस्त भजनकर्मीहरुको अवसान पछि निपुण बाद्यकर्मी, प्रशिक्षकको अभावले गर्दा दाफा भजनको मर्म र महत्त्व अनुभूत गर्न सक्ने खालका भजनकर्मीहरुको हाल नितान्त अभाव छ । त्यसैले पुर्खाहरूले अत्यन्त मिहिनेतका साथ जन्माएका कला तथा संस्कृतिहरू दिनानुदिन ह्रासोन्मुख अवस्थामा छन् । 

विगत केही वर्षदेखि दाफा भजनमा मात्र होइन सवैप्रकारका परम्परागत संस्कृति तथा कला क्षेत्रमा साधकहरूको कमी महसुस हुन थालेको छ । तथापि प्रेम शाक्य, सुमन शाक्य जस्ता नवोदित विद्यार्थी कलाकर्मीहरुबाट केही युवाहरूमा खिं वादन प्रशिक्षण अन्य स्थानीयरुपमा प्रचलित धाः,धिमे, नायखिं आदि बाजाहरूको प्रशिक्षणमा केही सहयोग मिलिरहेको छ । यसै प्रसङ्गमा प्रेम शाक्यद्वारा लिखित धाः, धिमे, नायखिं, खिं बाजाका तालहरूको आधारभूत पाठ्य सामाग्री सहितको खिं वादन नामक कृतिबाट नव साधकहरूलाई ऊर्जा मिलिरहेको कुरामा विश्वस्त हुन सकिन्छ । 

शाक्यमुनि दाफा सङ्घ, अजिमा दाफा सङ्घ र श्री करुणामय दाफा सङ्घको सञ्चालन भने हालसम्म येनकेन सञ्चालन भइरहेको अवस्था छ । अजिमा दाफा सङ्घ र शाक्यमुनि दाफा सङ्घ दुबैमा  भजनको नेतृत्वदायी भूमिका हालसम्म देवकुमार शाक्यले गर्दै आएका छन् भने करुणामय दाफा सङ्घको नेतृत्व प्रेमकुमार शाक्यले गर्दै आएका छन् ।

पछिल्लो अवस्थामा करुणामय दाफा 
सङ्घले गणेश स्थानको लुप्त दाफा सङ्घलाई ब्युँताउने प्रयत्न गरिरहेको छ । यी तीनै वटा सङ्घमा बाद्यबादकहरुको अभाव सिर्जना हुन थालेपछि नव उत्पादित युवाहरूको समूहले परस्परमा सहयोगात्मक भावनाबाट प्रेरित भई आबश्यकतानुसार सबै ठाउँमा गएर यस संस्कृतिलाई जोगाउने काम गर्दै आएका छन् । 

विद्याधरी माताको स्तुती रहेको नेपालभाषामा रचित दाफा भजन
(केराग गन्ध)
हाँदे विद्याधरी जगन्माता दरसन याय ।।
हाँदे जवस गणेशपति खवस महाकाल
मंजुश्री दरशन याय, बुध, हाँदे बिद्या....।।१।।

हाँदे सिरी निन्य नाथेश्वर नमस्तु सदा नं ।।
हाँदे नन्दीभिन्दी जव खव वाजन थानाव
रिद्धिसिद्धि दरशन याय, बुध, हाँदे विद्या....।।२।।

हाँदे चैतविउ भगवान् दरशन याय ।।
हाँदे सिरि भीमसेन देव दरशन याय, जि नं
वसपोलया चरण शरण, बुध, हाँधे विद्या....।।३।।

हाँदे त्रिभुवन विक्रम साहदेव महाराज यात ।।
हाँदे न्हापनया अपराध क्षमा याय् माल,
प्रभु द्वना थाय् सते याय् माल, बुध, हाँदे....।४।।

(यो दाफा भजन नेपालभाषाका प्राज्ञः तथा इतिहासकार काशीनाथ तमोटले भजनस्थलबाट २०२६।९।१।३ मंसिर शुक्ल अष्टमीका दिन प्राप्त गर्नुभएको र भजन गायकहरुले यो गान सम्बत् १८७२ देखि गाउन शुरु गरेको कुरा उल्लेख गर्नुभएको छ । यस भजनका श्रष्टा भने विवादास्पद भएकाले अज्ञात रहेका छन् ।)

सन्दर्भ श्रोत 
क) गणेश बज्राचार्य : टक्सार एक परिचय,यशोधरा माध्यमिक विद्यालय,बशन्त पञ्चमी २०६६ 
ख) बुद्धरत्न शाक्य,भोजपुर : टक्सारको विगत, द्विशतबार्षिक टक्सार महोत्सब स्मारिका २०७२  पृ३८
ग) प्रेमकुमार शाक्य : टक्सार बजारमा प्रचलित दाफा भजन बारेको कार्यपत्र द्विशतबार्षिक टक्सार महोत्सब २०७२ 
घ) लालधन शाक्यः  भोजपुरे नेपालभाषा व संस्कृति सांभार : धर्मोदय, १४७ । ने.संं १०८० थिँला वि.सं. २०१६
ङ) काशीनाथ तमोट : द्विशतबार्षिक टक्सार महोत्सब स्मारिका २०७२ पृ. १३१ 
च) कार्यपत्र भोजपुर टक्सारको साँस्कृतिक झलक,बौद्ध संस्कार सामाजिक संस्था,काठमाडौ,२०५४   फागुन ८
छ) परमेश्वर शाक्यः हिजोको टंकशाला, द्विशतबार्षिक टक्सार महोत्सब स्मारिका २०७२ पृ.१६
ज) सत्यनारायण ताम्राकार : भोजपुर टक्सारको २०० बर्ष, द्विशतबार्षिक टक्सार महोत्सब  स्मारिका २०७२ पृ.२२