विवाह : नयाँ पुस्ताको उत्पादन, पुनरुत्पादन, परिवार र सांस्कृति अन्तर घुलन

फर्केलान् र ती दिनहरू

विवाह : नयाँ पुस्ताको उत्पादन, पुनरुत्पादन, परिवार र सांस्कृति अन्तर घुलन

हरिविनोद अधिकारी  |  साहित्य  |  जेठ ३१, २०७७

कसैको पनि जीवन सोचेको जस्तो लयमा चलेको हुँदैन । सबैको आफ्नै अपेक्षाहरू हुन्छन्, लयमा चलाउने कोसिस सबैले गरेका हुन्छन् । तर हुनु जे छ, हुन्छ र नहुनु जे छ हुँदैन भनिन्छ । हामी सामान्य मानिसहरूको जीवन आफ्ना स्वार्थका घेराभित्रै बाँधिएर बसेका हुन्छन् । सबैभन्दा पहिलो र ठुलो संसार भनेको परिवार नै हो र जन्मँदै देखि प्राप्त संस्कारले नै मानवताको बाटो पहिल्याएको हुन्छ । वा अमानवीय बाटो खनेको हुन्छ । तर संस्कार त जब भ्रूण गर्भमा पालिन थाल्छ, सुरु भएको हुन्छ । अझ पूर्वीय मान्यतामा त कुनै व्यक्ति कसको गर्भमा कहिले आउने, कहिले जन्मने, जन्मपछिका सबै काल र व्यवहारको लेखाजोखा कसैले राखेको हुन्छ भन्ने मान्यता भएकाले नै पूर्व जन्मका आधारमा यो जन्ममा र यो जन्ममा गरेको पाप पुण्यका आधारमा पुनर्जन्म कस्तो हुने, त्यसैको आधारमा गर्नुपर्ने कामहरूको विवरण तयार गरेको पाइन्छ । कुनै बच्चा कस्तो जन्माउने भन्ने पनि पुत्रेष्टि यज्ञ गर्ने चलन अतीतमा रहेको पाइन्छ । गर्भमा कुनै बालक आउने बित्तिकै भविष्यवेत्ताले यो बालक वा बालिका यस्तो यस्तो चाल चलन र कर्मको हुने भन्ने बताएको पाइन्छ । सायद त्यही कर्मको निरन्तरता नै फलित ज्योतिष हो भन्दा पनि हुन्छ । मिल्थ्यो पनि त । कसरी कुन सिद्धिले त्यो क्षमता बन्न सकेको थियो, आज त्यो पनि अनुसन्धानको विषय हो । 

परिवारको कुरा गर्दा परिवार भनेको एउटा विस्तृत नाता हो । कुनै पनि व्यक्तिको परिचय भनेको उसको परिवारमा देखिने उपस्थितिले  जनाउँछ । जस्तो कि नाताको कुरा हो । नाता भनेको परिवारको एउटा कडी हो परिचयको । एउटै नारी कसैको आमा, काकी, कसैको छोरी, कसैको श्रीमती, कसैकी माता मही, कसैकी पितामह, कसैकी बहिनी, साली, जेठी सासू, सासू त कसैकी मितिनी पनि हुन सक्छिन् ।  या ठुली आमा, सानीमा, फुपू, बुढी फुपू आदि पहिचानले समाजको चलन चलेको हुन्छ । यस्तै पुरुषका लागि पनि कसैको छोरो, कसैको बाबु, काका, कसैको भाइ, दाइ, भतिजो, सालो, भिनाजु, जेठान कसैका ससुरा पनि हुनुपर्ने हुन्छ । बोलाउँदा यसरी नै बोलाइन्छ । 

एक प्रकारले हाम्रो समाजको परिवार तन्तुलाई यस्तै नाताले जेलिएको छ र जीवित पनि राखेको छ । यस्तै नाताले परिवाररूपी संस्थालाई निरन्तरता दिएको छ । जब जब म नाताको भुमरीलाई नजिकैबाट नियाल्छु, झनझन त्यो रहस्यमय मात्र लाग्दैन कि यसले समाजलाई कसरी एउटै सूत्रमा बाँधेको छ र अनुशासनमा राखेको छ भन्ने मलाई महसुस हुन्छ । कति नाता रक्त सम्बन्ध, कति गोत्र सम्बन्ध, कति प्रेमका आधारका निकटस्थ सहयोगका सम्बन्ध र कति मानवीय सम्बन्ध हुन्छन् । कतिसम्म भने हामीले पालेका पशुपन्छीसम्मलाई पनि हामीले परिवारका सदस्यका रूपमा मानेका हुन्छौँ र माया गएका छौँ । हाम्रा तिहारहरूमा गरिने सम्मानले काग, कुकुर, गाई र गोरुलाई पारिवारिक नाताको घनिष्ठ सम्बन्ध देखाउँछ । भिन्न भिन्न संस्कृतिका समाजका बिचमा भाइचाराको सम्बन्ध बनेको छ र अन्तरजातीय विवाहले त्यो वर्णसंकर समाजलाई मूलधारमा समेटेको छ । बिस्तारै मानवीय समाजको रूपमा परिवारहरू विकसित हुँदै गएका छन् । 

त्यसै बेलामा पनि पढेको, उच्च वंशको , कमाउने र सु सभ्य केटाको खोजी हुन्थ्यो किनभने २५ वर्ष नभई केटाको विवाह गर्न पाइँदैन थियो । उसले गुरुकुलमा ब्रह्मचर्याश्रममा  बसेर शिक्षा ग्रहण गर्नेपथ्र्यो । महाभारत कालमा पनि एउटा कुरा भने स्पष्ट थियो -केटीको इच्छाबेगर विवाह गर्न पाइँदैनथ्यो । सायद त्यसैलाई स्वयंवरको रूपमा मानिएको थियो । श्रुति स्मृतिका आधारमा समाज चलेको थियो ।

एउटा सामान्य अवस्थामा परिवार भनेको जीवनको पहिलो ज्ञान सिक्ने ठाउँ हो जहाँ के गर्नु हुने, के गर्नु नहुने भन्ने कुराको व्यावहारिक ज्ञान दिइन्छ । पारिवारिक संस्कार, सामाजिक संस्कार, देशको रीतिस्थिति र अन्तर्घुलित पारिवारिक परम्पराले त्यो निर्धारण गर्छ । त्यस्तो ज्ञान कति देखिने गरी सिकाइन्छ या भनिन्छ, त कति भनिँदैन र पनि व्यवहारले गरेर सिकाइन्छ । 

सबै मानिसहरू समान हुन्, सबैलाई समान व्यवहार गर्ने भन्ने कुरा भनेर मात्र हुँदैन, परिवारमा गरिने समानताको आधारमा मात्र सिक्ने सिकाउने परिस्थिति बन्छ । हाम्रो परम्परामा त सबैको कल्याण होस् भनेर शान्तिको कामना गरिन्छ, प्राणी मात्रलाई होइन कि ओखती, वातावरण, पृथ्वी, आकाश सबैको शान्तिको कामना गरिन्छ । त्यो नै संस्कारसित जीवनको सुरुवात थियो । 

हाम्रो जस्तो पुरातनबाट नयाँ रूपान्तरित परिवारको अवधारणा आउन थालेको समाजमा अहिले आमूल परिवर्तनको समय छ, पहिलेको सम्पूर्ण परम्परामाथि नयाँ अर्थका आधारमा मान्ने कि नमान्ने भन्ने सुरु भएको छ । त्यति मात्र होइन, न त पुरानो चलनलाई छोड्न नै सकिएको छ, न त नयाँ कुनै त्यस्तो सर्वमान्य चलन चलाउन नै सकिएको छ । 
हाम्रो परिवारमा न्वारानको परम्परा र देउराली टारका नेवार समुदायको नामकरणको न्वारान गर्ने चलनमा फरक थियो । मैले थाहा पाउँदा देउराली टारका श्रेष्ठ थरका व्यापारी (तर खेतीको आधारमा जीवन चलाउँदै आउनु भएको)हरुको पुरोहितको काम हजुरबाले गर्नु भएको रहेछ, पछि कान्छा बाले गर्नुहुन्थ्यो । कुनै बेलामा बाले पनि गर्नुहुन्थ्यो । बाले त्यसरी समय नै दिएर पुराहित्याईँ नै गरेको थाहा भएन तर बालाई सामान्य कर्मकाण्ड थाहा थियो र बुद्धिमान श्रेष्ठ दाइको घरमा चाहिँ बा श्राद्ध गर्न जानु हुन्थ्यो । बुद्धिमान दाइ भने पनि उहाँ बा भन्दा पनि जेठो हुनुहुन्थ्यो । तर बालाई उहाँले ठुलाबा नै भन्नुहुन्थ्यो र हामी उहाँजस्तो परिपक्व मान्छेलाई पनि दाइ नै भन्थ्यौँ । अहिले उहाँको निधन भएको धेरै वर्ष भए पनि उहाँका छोरा छोरीहरूले मलाई काका नै भन्छन् ।

 बुद्धिमान दाइसँगको सम्बन्ध पनि बाको साह्रै प्रगाढ थियो । बुद्धिमान दाइ नेवारको छोरो भए पनि सेनामा जागिर खानु भएको रहेछ र दोस्रो  विश्वयुद्धमा लड्नका लागि जानु भएको रहेछ बर्मासम्म सायद । व्यापारीको छोरो सेनामा जाँदा नयाँ अनुभव लिएर आउनु भएको थियो । त्यस्तै भन्नुहुन्थ्यो ,तर पछि घर सम्झेर आउनु हुँदा तीन पाटनमा व्यापार गर्न थाल्दा बाले भन्नुभएछ-बुद्धिमान देउराली टारमा नै पसल खोल र चलाऊ । म सहयोग गर्छु । अनि बाको सहयोगले एउटा पसलका लागि घर बन्यो र दाइ त्यही पसल चलाएर बस्नुभयो, अन्त कतै जानु भएन । अहिले त्यो पसल घरमा सायद पसल छैन र पनि त्यो घर पछि उहाँकै भयो र उहाँका छोराहरू बस्छन् । हुनसक्छ, ०७२ सालको भैँचालोले भत्कायो पनि होला । पछि सिन्धुली माडीको स्थायी नयाँ बजार बन्ने भयो अनि त्यही साझा पसलको नाफाले सिन्धुली बजारमा हामीले डेढ कट्ठाको जग्गा पायौँ सायद बजारको स्थापनाको क्रममा सामान्य मूल्यमा पाइएको होला ।

त्यहाँ घर राम्रो चिटिक्क परेको थियो । मैले कक्षा ९ पढ्दा त्यही घरमा बसेर पढेको हुँ । म र भाइ विष्णु थियौँ । त्यो घरमा कहिल्यै पसल राखिएन जबकि पसल राख्नका लागि बनाइएको थियो । आधा जग्गा बुद्धिमान दाइकै सानो छोराले बेच्यो र अहिले पनि हामीसँग त्यो जग्गा बाँकी छ । बजार स्थापनाको बेलामा बनाएको घर भत्कियो । बुद्धिमान दाइको सम्झनामा कस्तो बिम्ब छ भने साह्रै असल, दयालु र हाम्रो घरका लागि आवश्यक लुगा, मर मसलाको आपूर्ति गरेर सायद नाफाको आधा त्यही थियो होला । हामीलाई पिपरमेन्ट अर्थात् पिपलपेठ दिनुहुन्थ्यो, कागती र सुन्तलाको केस्रा जस्ता चकलेट र पिर पिर गर्ने सेता पिपलमेठका चकलेट पनि दिनुहुन्थ्यो । नरिवल, मिस्री मेरालागि दाइले जाने बित्तिकै दिने खाजाका खाने कुराहरू थिए । मेरालागि त्यो पसल भनेको जे खाए पनि पाइने तर झिकेर खाएको थिएन किनभने झिकेर खानु हुँदैन भन्ने कुरा आमाले सधैँ सिकाउनु भएको थियो ।

प्रायशः आमाको चाहना के हुन्थ्यो भने म मानिसहरू जम्मा भएका ठाउँमा जाऊँ र केही कुराहरू सिकौँ जसले मानिसहरूसँग कसरी मिलेर बस्ने भन्ने आफैं सिकौँ । प्रायशः बासँग म हुन्थेँ र बाको नजिकै बसेर कुरा सुन्थेँ ।  अनि बेलुका आमालाई हुबहु नक्कल गर्दै भन्थेँ कसले के कुरा कसरी भने । कतै जानु पर्दा मेरो लामो कपालमा तेल लगाएर बाटेको हुन्थ्यो र रातो टिका निधारमा लगाएर पठाउनु हुन्थ्यो । समाजलाई नजिकैबाट देखोस् भन्ने भित्री चाहना थियो क्यारे ! बा पनि मलाई सँगै लिएर जानु हुन्थ्यो तर गाउँभित्र र देउराली टारसम्ममात्र । देउराली टार जाने भनेका बुद्धिमान दाइको पसलमा र मुखिया बाहरूको घरमा । माहिला मुखिया भन्थे हजुरबालाई, उहाँले मेरा आमाको सानीमा बिहे गर्नु भएको रहेछ र कतै जानु पर्दा मेरो लामो कपालमा तेल लगाएर बाटेको हुन्थ्यो र रातो टिका निधारमा लगाएर पठाउनु हुन्थ्यो । समाजलाई नजिकैबाट देखोस् भन्ने भित्री चाहना थियो क्यारे । बा पनि मलाई सँगै लिएर जानु हुन्थ्यो तर गाउँभित्र र देउराली टारसम्ममात्र । देउराली टार जाने भनेको बुद्धिमान दाइको पसलमा र मुखिया बाहरूको घरमा । माहिला मुखिया भन्थे हजुरबालाई, उहाँले पहिलो बिहे मेरा आमाको सानीमा बिहे गर्नु भएको रहेछ र कान्छो बिहे बाकी मामाकी छोरी बिहे गर्नु भएको रहेछ । त्यही परिवारमा पनि नारद मामा अनि वशिष्ठचाहिँ, दीपक, मुकुन्द चाहिँ भाइहरू । एउटै दाजुभाइसँगको मेरो नाता कोही मामा त कोही भाइ । बालाई नारद मामाले भिनाजु नै भन्ने अनि दीपकहरूले बडा बा भन्थे । तर भन्नुपर्ने त थियो मामा, आमालाई त दिदी नै भन्थे ।  

देउराली टारको सम्झनाको अहिले पनि आउँछ कसरी भने त्यहाँ दसैँको अष्टमीका दिन राँगो काटिन्थ्यो । त्यो नेवार जातिको चलन थियो महिषासुर मर्दिनको सम्झनामा पनि, मासुको लागि पनि । नेवार समुदायले काठमाडौँमा राँगाको मासु खाने चलन रहेछ, संस्कृति सँगै लिएर गएका व्यापारीले त्यहाँ पनि अष्टमीका दिन राँगो काट्ने चलन चलाएका रहेछन् । दसैँ सुरु हुनु भनेको देउराली टारमा मालसिरीको धुन गाइने हो । हाम्रो गाउँमा पनि दाप्चाली बाले राती मालसिरीको धुनमा गाएको देवीको बयान सुनिन्थ्यो । अनि दसैँ आएको बुझिन्थ्यो । 

बुद्धिमान दाइको पसल अघिल्तिरको पिपलको बोटको छेउमा राखिएको मौलोमा बाँधिएको हुन्थ्यो एकदम बलियो चिल्लो राँगो कालो निक्खरा । त्यो दिन अलि बढी नै बाँध छाँद गरिएको हुन्थ्यो सायद काट्न एकै पटक नसकिने हुनाले कहीँ फुत्केर नमारोस् अरूलाई भनेर । त्यस दिन हाम्रा घरमा पनि खसी मार हान्ने चलन थियो जबकि गाउँमा नवमीका दिन मार हान्न चलन थियो । धेरैजसो तीर्थ काकाले नै मार हानेको देखिन्थ्यो । सायद बच्चा हुने बेलामा चाहिँ उहाँले मार हान्नु हुन्थ्यो । 

हामी पनि दाप्चाबाट आएकाले ग्वाल्टार गाउँमा साँस्कृतिकरुपमा नयाँ नै रहेछौँ । नयाँ लुगा लगाएर जान पर्ने जस्तो लागेर कम्तीमा पनि देउराली टार जाने बेलासम्ममा लुगा सिइएको होस् भन्ने चाहना हामीमा हुन्थ्यो र यदि साने दाइले वा मसिने दाइले लुगा घरमा आएर नसिएको बेलामा हामी उनीहरूकै घरमा बिहानै पुगेर भए पनि लिएर आउँथ्यौँ । उनीहरूका घरमा लुगाको थुप्रो हुन्थ्यो र कसको लुगा पहिले अनि कसको पछि सिउने भन्ने दबाबमा हुन्थे  उनीहरू । भ्याई नभ्याईको बारेमा भन्ने चलन थियो–सोह्र श्राद्धको बाहुन र दसैँको दमाई । पछि बाले मसिने दाइलाई पनि, साने दाइलाई पनि कल किन्दिनु भयो र उनहरु कल बोकी बोकी गाउँमा जान्थे । गँगटे दाइ र साने दाइका फरक फरक बाली घरहरू थिए ती साला भिनाजुका । पक्कै नै सियोले हातले सिउने भन्दा छिटो भयो र साने दाइले धेरै घरमा लुगा सिउन थाल्नुभयो । साने दाइ अकबरे खोर्सानी खानुहुन्थ्यो र कति पटक खोर्सानीको पिरोले रन्थनिएर घिउ खाएको सम्झन्छु । अनि थाहा भयो, पिरो भएपछि त्यसको समनका लागि घिउ खाइँदो रहेछ । मेरो ब्रतबन्ध र विहामा मुली भएर बाजा बजाउने साने दाइ नै हुनुहुन्थ्यो, अहिले पनि गोरेले मलाई काका नै भन्छ । देउराली टारमा नै छ गैह्री गाउँमा । 

बुद्धिमान दाइका छोराहरू अलि पछि जन्मे, छोरीहरू थिए हामीसँगका पनि । तर एउटा अचम्म लाग्थ्यो, भाउजू नेवारीमा बोल्ने अनि बुद्धिमान दाइ नेपालीमा जबाफ दिनुहुन्थ्यो । साँच्चै हामीलाई रमाइलो लाग्थ्यो । दाइ बुझ्नु हुन्थ्यो तर नेवारी फरर बोल्न सक्नुहुन्नथ्यो क्यारे । अहिले उहाँका छोरा छोरीहरू पनि सायद बुझ्छन् तर फरर बोल्न सक्दैनन् होला किनभने भाउजूले सिकाउनु भएको हुनुपर्छ तर बोल्नका लागि त गाउँमा, टोलमा सबैले बोल्नु पर्‍यो नि !

म परिवारको कुरा भन्दै थिएँ कहाँ बुद्धिमान दाइको सम्झना भयो । हाम्रो परिवार र उहाँको परिवार एक जस्तै थियो । देउराली टारका नेवारहरुमध्ये धेरैको घरमा बच्चा जन्मेपछि न्वारान गर्ने चलन भनेको ब्राह्मणद्वारा नामकरण गर्ने त थियो तर गहुँत, सिधा र भेटी लिएर कोही आउँथ्यो अनि बाले पात्रो हेरेर त्यो छोरा वा छोरीको नाम राख्नुहुन्थ्यो र पञ्चपात्रौमा सिक्काले बजाएर बालोको नाम राखेको  सुनाइन्थ्यो त्यही गहुँत लिएर आउनेलाई र त्यो गहुँत सुत्केरीलाई र परिवारका अन्य सदस्यहरूलाई छर्कनु पथ्र्यो । ल्याएको दक्षिणा र  सिधा बालाई नै छोडेर जान्थे । 

मेरो विचारमा हिन्दु नेवारहरूको चलन त वैदिक चलनअनुसार नै थियो तर मल्लकालीन समयमा केही परिवर्तन गरेर व्यावहारिक बनाएको थियो । राजोपाध्यायहरुले पुरोहितको काम गर्थे काठमाडौँमा । ती राजोपाध्यायहरुले नै अहिले पनि  धार्मिक कामहरू गरेको पाइन्छ । ती राजोपाध्यायहरू र हामीमा त्यस्तो केही पनि फरक नहोला तर सांस्कृतिक रूपान्तरणको आजको संक्रमणकालमा दैनिक धार्मिक कार्यहरू नै प्रश्न चिन्हको अवस्थामा हुनाले कतिले धार्मिक र सांस्कृतिक व्यवहारलाई इमानदारिताका साथ गर्न सकेका होलान् भन्ने शङ्काको घेरामा छ । तर काठमाडौँमा या यो उपत्यकाबाट संसारको जुनसुकै कुनामा पुगेको नेवार समुदायको व्यक्तिले पनि छोरीहरू छन् भने गुफा राखेर बेल विवाह गर्ने चलन छँदैछ । अरू जातिमा पनि जन्म संस्कार र मृत्यु संस्कार गरिन्छ । तर कडाइका साथ कति गरिन्छ भन्ने कुरा परिस्थितिमा भर पर्छ । तर अचेल सांस्कृतिक चेतनाको पुनर्जागरण सुरु भएको छ, सबै जात जाति र चलनलाई सबै धर्म र सम्प्रदायले मान्न थालेको अवस्था छ र पनि हाम्रो परम्परागत चलनमा सङ्क्रमण काल सुरु भएको छ । 

परिवार भनेको नाता नै हो । परिवारले नाताको सृजना गरेको हुन्छ । मावल, बुढा मावल, काका काकी साना बा सानीमा फुपू फुपाजु, दिदी भिनाजु, बहिनी ज्वाइँ, ससुराली आदि नाताका अनेक रूप देखिन्छन् र ती नाताले अन्य नाताहरू जोडेर तयार गर्छन् । मैले पहिले पनि भनेको थिएँ गुरु साम्वभक्तका घरमा उहाँका तीन ओटा छोराहरूसँग फरक फरक नाता थियो । मैले काका भन्नु पर्ने मझुवा ऋषिका, धर्मुकाका, बद्रीकाकाहरुलाई मेरी श्रीमतीले भान्जी दिदीका छोराहरू भएकाले छोरा नै भन्छिन् । हामी जेलिएको सञ्जालयुक्त परिवारको नाताले नै आपसमा समाजलाई जोडेर राखेको हुन्छ । सबैभन्दा ठुलो नाता भनेको वैवाहिक हुँदो रहेछ । दुई ओटा फरक फरक गोत्र र चालचलन भएका परिवारका बिचमा एकता गरिने सम्बन्ध नै विवाह हो रहेछ । विवाह एउटा त्यस्तो पवित्र र स्थायी पारिवारिक गठबन्धन हो रहेछ कि त्यसले नाता र सम्बन्धको विस्तार गर्नका लागि नयाँ नयाँ आयाम खोलेको हुँदो रहेछ । 

वास्तवमा हामी ब्राह्मण, क्षत्री  र श्रेष्ठीहरु कहिले नेपाल प्रवेश गर्‍यौँ भन्ने बेग्लाबेग्लै तिथि मिति अनुमान गरिएको छ । पहिचानको राजनीति सुरु भएपछि ब्राह्मणका विरुद्ध एक प्रकारको अभियान नै छेडिएको छ तर हामीले के गल्ती गरेका छौँ र हामीमाथि अहिले आरोप लगाइन्छ भन्ने पुस्ता पनि जन्मन थालेको छ । हिजोको असमानताको अवस्थालाई आज सुधार गरिएको छ र जातपातको आधारमा चलेको समाजलाई अब मानवअधिकारको आधारमा चलाउने बेला हुन थालेको छ । तर  हामी आज फेरि त्यही असमानताको आडमा नयाँ नयाँ जातको सृजना गर्न थाल्यौँ भने हाम्रो पारिवारिक संस्था आफैँमा लडखडाउने छ भन्ने तर्क पनि अहिले आउन थालेको छ । कसैले जात छोडेर पनि सुख नपाउने अनि कसैले आफूलाई विश्वास नभएको जातको आडमा सुविधा पाउने भन्ने विभेदका विरुद्ध पनि नयाँ पुस्ता जुरमुराउन थालेको देखिन्छ । तर हाम्रो जस्तो सहिष्णु समाजमा यस्ता विभेदकारी र असमान भावनालाई नयाँ नयाँ संस्करण तयार गर्न थाल्यौँ भने यहीँनेर सांस्कृतिक असहिष्णुता सुरु हुन्छ र बचेखुचेको सांस्कृतिक सम्पदा पनि अब आफैँ समाप्त हुनसक्छ । 

म भन्दै थिएँ विवाहको बारेमा । विवाह एउटा त्यस्तो संस्था रहेछ जसले नयाँ नयाँ पुस्ताको उत्पादन, पुनरुत्पादन मात्र गर्दैन, दुई या धेरै परिवारको सांस्कृतिक चलनलाई अन्तर घुलन गरेर झन् झन् सहिष्णु र नयाँ सकारात्मक परम्पराको सुरुवात गर्दो रहेछ । खालि हाम्रो अन्तर समाजमा मात्र होइन, अहिले विश्व साँघुरिएको र नेपालीहरू संसारभर गएकाले अन्तर्राष्ट्रिय परिवेशमा समेत नेपाली संस्कृतिसँग ती देशको संस्कृति अन्तर घुलन हुन थालेको छ । विवाहलाई मात्र पुरुष र महिलाको दुई शरीरको शारीरिक सम्बन्ध र सन्तति उत्पादनका लागि मात्र नमानेर दुई संस्कृति र दुई परिवारका बिचको नयाँ सेतुसमेत मान्नुपर्छ । 

वास्तवमा वैदिक कालका आधारमा हामीले आफूलाई सांस्कृतिक जागरणको आधारशिला मानेका छौँ । पहिले जस्तो पशुको स्वेच्छाचारिता हुन्थ्यो, मानिसहरूको पनि समूहमा हिँड्दा त्यस्तै थियो होला तर एक अर्काको सुरक्षा र बच्चाको पहिचानका लागि विवाहले संस्थागत रूप लियो र कडा कानुनको स्वरूपमा नारी र पुरुषको सम्बन्धलाई कसिलो बनाउने चलन चल्यो । हाम्रो सबैभन्दा नजिकको सभ्यता भनेको महाभारतकालीन सभ्यता हो, त्यस बेलाको विवाहको चलन अहिलेभन्दा पनि प्रगतिशील देखिन्छ । श्रीमानको अनुमतिमा श्रीमतीले पर पुरुषसँग सम्बन्ध राखेर जन्मेका सन्तानलाई समेत आधिकारिक श्रीमानको सन्तानको रूपमा सर्व स्वीकृत भएको पाइन्छ ।

त्यसै बेलामा पनि पढेको, उच्च वंशको , कमाउने र सु सभ्य केटाको खोजी हुन्थ्यो किनभने २५ वर्ष नभई केटाको विवाह गर्न पाइँदैन थियो । उसले गुरुकुलमा ब्रह्मचर्याश्रममा  बसेर शिक्षा ग्रहण गर्नेपथ्र्यो । महाभारत कालमा पनि एउटा कुरा भने स्पष्ट थियो -केटीको इच्छाबेगर विवाह गर्न पाइँदैनथ्यो । सायद त्यसैलाई स्वयंवरको रूपमा मानिएको थियो । श्रुति स्मृतिका आधारमा समाज चलेको थियो । वेद नै सबै कुराको अन्तिम निर्णायक ग्रन्थ थियो तर त्यो सामान्यतया अलिखित तर सर्वमान्य थियो । कसैले पनि नलेखेकोले अपौरुषेय भनिन्थ्यो । त्यसैको आधारमा र वेदको व्याख्या गर्नका लागि पुराणहरू लेखिए । त्यसमा अठार पुराण प्रसिद्ध भए । मलाई थाहा छ, मेरा घरमा मेरा बाले २०२३ सालदेखि २०२५ सालको अन्त्यसम्म १८ पुराण लगाएर सुन्नुभएको थियो गुरु साम्वभक्त सुवेदीबाट । सुरुमा २०२२ सालमा लिङ्ग पुराण लगाउनु भयो बाले गुरुसँग अनुरोध गरेर । त्यसपछि मेरो भाइ जन्म्यो, त्यसलाई शम्भुप्रसाद नामकरण गरियो बोलाउनका लागि । अहिलेसम्म त्यही नाम नै चल्तीमा छ । अनि बाले गुरुसँग सोध्नुभयो–गुरु ! अरू पुराण कुन कुन हुन् अठार पुराणमा ? म अहिले पनि बा र गुरुको छलफल सम्झन्छु । अनि गुरुले भन्नुभयो – हेर अहिले सबै पुराण एक ठाउँमा पनि पाइँदैन र समय पनि धेरै लाग्छ । यसको अर्थ थियो, गुरुले अप्रत्यक्षता निरन्तर अठार पुराण लगाउनका लाग्ने समयको अनुमान गर्न सकिरहनु भएको थिएन । बाले गुरुलाई अनुरोध गर्नुभयो र अठार पुराण लगाइयो । 

अठार पुराणमा रहेछन्—ब्रह्म, पद्म, नारद, मार्कण्डेय, अग्नि, भविष्य, ब्रह्मवैवर्त, लिङ्ग, वाराह, स्कन्द, वामन, कूर्म, मत्स्य, गरुड, ब्रह्माण्ड, विष्णु , शिव र वायु । तर गुरुले पछि बुझ्नु भएछ, श्रीमद्भागवतलाई अठार पुराणभित्र मात्रै राख्नु हुँदैन, जसरी मालामा सुमेरु हुन्छ, त्यसै गरी सबै पुराणको अन्त्यमा श्रीमद्भागवत लगाउने कुरा भएछ । अचम्म के भयो भने अठार पुराणको अन्तमा १८ जना बटुकहरूको मात्र ब्रतबन्ध गर्ने भनेर मेरा भाइहरू हिमालय, पूर्णचन्द्रसँग अरू १६ जना बटुक खोज्दा जसरी पनि एक जना बढी नै हुन्छन् बटुकहरू । एउटा हटायो, फेरि १८ पुग्दैन, थप्यो कता कताबाट १९ नै पुग्छ । यसरी १९जना बटुकहरूको उपनयन सम्पन्न भएको हो पुराणको साङ्गेमा । त्यसपछि कसैले पनि १८ पुराण एक साइतमा लगाएर सम्पन्न गरेको मैले थाहा पाएको छैन । त्यो पुराणमा बा, आमा, मेरो हजुरआमा र बाको फुपू माहिली दिदी । अचम्म थियो रे महिली दिदीको कुँडरमा फूलको कुनै कमी भएन रे अठार पुराणभरि, अनि गुरु स्वयंपाक्य खाने, गुरुका लागि एउटा कागती पनि माइलदिदीले सधैँ ल्याउनु हुने रहेछ । 

त्यही बेलामा गुरुले भनेको कुरा नै बाले मलाई सधैँ भन्ने वाक्य हो-अठार पुराणको सार भनेको नै परोपकार पुण्य हा , पर पीडा नै पाप हो जुन कुरा भनेर व्यासले पुराणलाई दैनिक जीवनका कसरी प्रयोग गर्ने भन्ने कुराको उपदेश दिएको पाइन्छ ।

अनि म विवाहको कुरा गर्दै थिएँ, महाभारत कालमा विवाहलाई धेरै तरिकाले व्याख्या गरिएको पाइन्छ जस्तो कि भीष्मले युधिष्ठिरलाई दिएको उपदेशमा देखिन्छ । खास गरी विवाहका प्रकारमा ब्राह्म, दैव, आर्ष , प्राजापत्य, आसुर, गाँधर्व, राक्षस र पिशाच देखिन्छ । पहिला चार प्रकारमा गोत्र फरक भएका तर आफ्नै जातभातमा पुरुष र नारीको विवाहका रूपमा लिइएको रहेछ भने गन्धर्व विवाहचाहिँ आफूमा मन मिलेर गरिने विवाह मानिँदो रहेछ  । 

यसमा चित्ताकर्षकको मात्र महत्त्व देखिन्छ, जात कुल भन्दा पनि । मन परायापछिको विवाह । स्वयंवर हुन त गन्धर्व विवाह जस्तै पनि हुनसक्छ तर स्वयंवरमा अभिभावकहरूको व्यवस्थापनमा हुनुहुँदा त्यहाँ आउने बर आकाङ्क्षी धेरै तर उस्तै कुल र आचरणमा आउँथे । आसुर, राक्षस र पिशाचमा बलजफती गर्ने, केटा वा केटी पक्षका लागि मूल्य दिनु पर्ने भन्ने देखिन्छ । त्यस बेलामा पनि पैशाच विवाहलाई समाजले अपराधको रूपमा लिन्थ्यो तर बलात्कार गर्ने, सुतेको ठाउँमा गएर बोकेर हिँड्ने र बलात्कार गरेर विवाह भयो भन्ने चलनलाई पैशाचिक विवाह मानिएको रहेछ । विवाहको मुख्य चाहना भनेको त्यस बेलामा र अहिले पनि सन्तान उत्पादन नै हो तर त्यसले समाजमा बनाउने गठिलो सम्बन्धलाई आधार मानेकोले नै आज पनि विवाहलाई कानुनीरुपमा पनि अर्थ्याउन थालिएको हो । कस्तो छ विवाहको सम्बन्ध भने कसैले गलत तरिकाले छोए पनि, समाए पनि त्यो सम्बन्ध आफैँ चकनाचुर भएर टुट्छ । टुटाइन्छ । त्यसैले भनिन्छ नि, पहिलेको स्वैराचरणलाई व्यवस्थित गर्ने काम उद्दालक ऋषिका छोरा श्वेत केतुले गरे । 

भनिन्छ, श्वेत केतु शिक्षा ग्रहण पश्चात् घरमा आएको बेला एक जना ब्राह्मण अतिथिको रूपमा घरमा आए र आउँदा आउँदै उनकी आमालाई हात समाएर लिएर वनभित्र गए । श्वेत केतुले किन यस्तो गरेको र तपाईँले किन अवरोध नगरेको भनेर उद्दालकलाई सोध्दा उद्दालकले भनेछन्– छोरा, हामी पनि अरूको घरमा गएका बेलामा यसै गरी भोग गर्ने हौँ, नारी भनेकी भोग्या हुन् । त्यसपछि श्वेत केतुले त्यो गलत व्यवस्थालाई सुधार गर्नका लागि विवाहको नियम बनाए र राजालाई त्यो नियम लगाउन बाध्य बनाए भन्ने छ । पछि यसै गरी बच्चाको पहिचानको कमी भएको र भोग्याप्रतिको आशक्तिले समाजमा अराजकता हुनुहुँदा नियमभित्र विवाहलाई लगिएको मानिन्छ । आजसम्मको विवाह, पारिवारिक सम्बन्ध, सम्बन्ध विच्छेद, अंशबन्डा आदिको व्यवस्था विकसित रूप हो । विवाहका बारेमा प्रत्येक समाजका, सांस्कृतिक समूहका बेग्लाबेग्लै नियम छन् अलिखित र परम्परागत । पितृ प्रधान समाज र मातृ प्रधान समाजका बेग्लाबेग्लै रीति छन् विश्वभर । 

आज हामी धेरै चेतनशील भएका छौँ । समाज धेरै धर्म, संस्कृति र परम्पराको एउटै पुञ्ज भइसकेको छ र पनि अहिलेको समाज कहिले बाटो बिराएको जस्तो त कहिले नयाँ नयाँ बाटो बनाउन थालेको जस्तो देखिन्छ । तर एउटा कुरा भने ध्रुव सत्य हो, समाज परम्परा र नयाँ नयाँ रीतिको प्रयोग स्थल हो जुन निरन्तर चलिरहन्छ , चलिरहने छ । 
क्रमशः