अमेरिकामा प्रहरीको गोलीबाट थप एक अश्वेतको मृत्यु, एटलान्टाका प्रहरी प्रमुखद्वारा राजीनामा !

अमेरिकामा प्रहरीको गोलीबाट थप एक अश्वेतको मृत्यु, एटलान्टाका प्रहरी प्रमुखद्वारा राजीनामा !

लोकसंवाद संवाददाता  |  विदेश  |  असार १, २०७७

अमेरिका ।  संयुक्तराज्य अमेरिकाको एटलान्टा शहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्नेक्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् ।

प्रहरीको क्रुर एवं जातीय दूव्र्यवहारका कारण अमेरिकाभर विरोध भइरहेको अवस्थामा पुनः नयाँ घटना सार्वजनिक भएको छ । स्थानीय संचार माध्यमका अनुसार राजमार्ग अवरोध गरेर प्रदर्शन गरिरहेकै अवस्थामा एउटा रेस्टुराँको बाटो छेक्न पुगेका २७ वर्षीय रेसार्ड ब्रुक्सको शनिबार प्रहरीको गोली लागेर मृत्यु भएको थियो । उक्त घटना लगत्तै एटलान्टाका मेयर केशा लान्स बटम्सले स्थानीय प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिनुभएको घोषणा गर्नु भएको थियो ।

मृत्यु भएका ब्रुक्सले स्थानीय वेन्डी नामको रेस्टुराँमा आउने मानिसको बाटो कारले छेकेर अवरोध गरेको उजूरी गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । प्रहरीसँग घम्साघम्सी भएपछि भाग्न खोजेका ब्रुक्समाथि प्रहरीले गोली चलाएको थियो । उनलाई उपचारका लागि तत्कालै अस्पताल भर्ना गरिए पनि उनको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न प्रहरी अधिकारी ग्यारेट रोल्फलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका अफ्रिकी–अमेरिकी मुलका जर्ज फ्लोएडको गत मे २५ मा मृत्यु भएपछि अमेरिकाभर जातीय विभेदको अन्त्यको माग गर्दै देशव्यापी विरोध प्रदर्शन जारी छ । अमेरिकी शहरहरुका साथै बेलायतको लन्डन, फ्रान्सको पेरिस, क्यानाडाका शहरहरुमा समेत विरोध प्रदर्शनहरु भइरहेका छन् । बेलायतमा प्रदर्शनमा सहभागी एक हजारभन्दा बढी पक्राउ परेको स्थानीय प्रहरीले जनाएको छ ।