४० हजार माछाका भुरा किसानलाई वितरण

४० हजार माछाका भुरा किसानलाई  वितरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १, २०७७

म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रका २७ किसानलाई माछाका भुरा वितरण गरेको छ । मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराबाट ग्रास र कमन कार्प जातको माछाका भुरा ल्याएर किसानलाई वितरण गरिएको नगरपालिकाको पशु शाखाले जनाएको छ । प्रतिभुरालाई ५० पैसाका दरले खरिद गरी किसानलाई न्यूनतम ५ सयदेखि तीन हजारसम्म माछाका भुरा वितरण गरिएको पशुसेवा शाखाका प्रमुखसमेत रहेका पशु स्वास्थ्य प्राविधिक प्रदीप गौतमले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षको बजेटबाट कूल रु ४५ हजारमा पोखरादेखि माछाका भुरा ल्याई किसानलाई अनुदानमा उपलब्ध गराइएको उहाँले बताउनुभयो छ । किसानको पोखरीको क्षमताअनुसार भुरा वितरण गरिएको जनाइएको छ ।     नगरपालिकाको भकिम्लीका १२, ज्यामरुककोटका छ, रत्नेचौरका चार, अर्थुङ्गेका तीन र पुलाचौर दुई किसानलाई कमन र ग्रासकार्प जातको माछाका भुरा वितरण गरिएको शाखाले जनाएको छ । गएको वर्षमा पनि किसानलाई ४० हजार माछाका भुरा वितरण गरिएको थियो ।