जुम्लामा ४३  महिला हिंसाका उजूरी दर्ता

जुम्लामा ४३  महिला हिंसाका उजूरी दर्ता

लोकसंवाद संवाददाता  |  समाज  |  असार १, २०७७

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा चालु आर्थिक वर्षको हालसम्म ४३ महिला हिंसाका उजूरी परेका छन् । आव २०७४/०७५ मा ४९  उजूरी परेकामा आव २०७५/०७६ मा ८६ परेका थिए । 

पहिले प्रहरीकहाँ गएपछि मात्र हरेक घटना अदालतमा पेश हुन्थे । अहिले सीधै अदालतमा जाने भएकाले महिला तथा बालबालिका सेवा केन्द्रमा उजूरी दर्तामा कमी आएको हो । गत आर्थिक वर्षका तुलनामा चालु आवको हालसम्म झण्डै आधा कम उजूरी परेको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी जवान अमृता भण्डारीले बताउनुभयो । घरायसी झगडा परेर प्रहरीसम्म आइपुग्दा महिलाले सम्बन्धविच्छेद गर्न हतार गर्ने गरेको र  केही समय विचार गरेर मात्रै निर्णय लिन सल्लाह दिने गरेको भण्डारीको भनाइ  छ । 

प्रहरीसम्म पर्ने उजूरीको संख्या केही कम देखिए पनि हिंसाका घटनामा सोचेजति कमी आउन सकेको छैन । तीन आवको तथ्याङ्कानुसार प्रहरीसम्म पुगेका उजूरी अदालतसम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताउनुभयो । गत दुई आवमा १६ उजूरी आफूखुशी अदालत पुगेका थिए । हिंसाका अधिकांश घटनामा प्रहरीकहाँ उजूरीदेखि अदालती प्रक्रियासम्म महिला अधिकारकर्मीको सहयोग रहने गरेको छ । बन्दाबन्दी समयमा ६० प्रतिशतभन्दा कम उजूरी केन्द्रमा परेका हुन् । घरेलु हिंसासम्बन्धी तीन र झैझगडाका सात निवेदन परेकामा ६ वटाको मिलापत्र भएको जनाउँदै चन्दले चार प्रक्रियामा रहेको बताउनुभयो ।