भरतपुर अस्पतालमा आवतजावतकाे लागि अलग अलग प्रवेशद्वार

भरतपुर अस्पतालमा आवतजावतकाे  लागि अलग अलग प्रवेशद्वार

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार १, २०७७

भरतपुर । भरतपुर अस्पतालले सर्वसाधारण र कोरोना सङ्क्रमितको उपचारमा संलग्नहरुलाई आवतजावत गर्न अलग अलग प्रवेशद्वार तयार गरेको छ । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार सङ्क्रमितलाई अस्पतालको 'ए' व्लकको भूई तलामा  पछाडिबाट बाटो खोलेर राखिएको छ ।
उहाँले स्वास्थ्य कार्यालयबाट अस्पतालतर्फ जाने बन्द रहेको ढोकालाई सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । कोरोना सङ्क्रमित ल्याउन, लैजान र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं  कर्मचारीले सोही बाटो प्रयोग गर्ने छन् । नयाँ प्रवेशद्वारबाट  सङ्क्रमित राखिएको स्थानमा जाने बाटो रहेको छ ।

सङ्क्रमित रहेका क्षेत्रलाई हरियो जालिले घेरेर थप व्यवस्थित गर्न लागिएको छ । हाल सङ्क्रमित राखिएको क्षेत्रलाई पूरै सिल गरिएको छ । त्यहाँ २७ जना सङ्क्रमित रहेका छन् । सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई  होटलमा क्वारेन्टिन बनाएर राखिएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार सङ्क्रमित मध्ये अहिले २३ चितवन, वर्दघाट सुस्त पूर्वका तीन  र एक जना कपिलवस्तुका  रहेका छन् । अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल मर्मत सम्भार गर्नुपर्ने भएपछि सङ्क्रमित सबैलाई भरतपुर अस्पताल सारिएको छ ।

अस्पतालको हाडजोर्नी र सर्जरी विभागका बिरामीलाई स्थानान्तरण गरेर सो ठाउँमा सङ्क्रमित राखिएको हो । उहाँले ठाउँमा १० श्ययाको सघन उपचार कक्षसहित ७५ श्ययाको आइसोलेशन रहेका छ । सीसी क्यामेरा, इन्टरनेट, टेलिफोनको इन्टरकम लगायतका प्रविधि जडान गरीे सङ्क्रमित अनुगमन गरिन्छ । 

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सङ्क्रमितलाई प्रवेशद्वारदेखि उपचार क्षेत्रसम्म अलग गरिएकाले अन्य बिरामीलाई  असर नपर्ने बताउनुभयो । यस अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । उहाँले सर्वसाधारण जनताको निशुल्क र न्यून शुल्कमा उपचार गर्ने यस अस्पतालमा पाउने सेवालाई सुचारु गरी कोरोना सङ््क्रमितको समेत उपचार गरिएको बताउनुभयो ।

राजधानीको प्रसूति गृहपछि धेरै बच्चा जन्माउने र उपचार हुने यस अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालले कोभिड–१९ प्रयोगशाला समेत सञ्चालन गर्दै आएको छ । कोरोना सङ्क्रमितको उपचार गरी सात जना घर फर्किसकेका छन् ।