वाग्मती गाउँपालिकामा नयाँ शैक्षिकसत्रको पाठ्यपुस्तक वितरण

वाग्मती गाउँपालिकामा नयाँ शैक्षिकसत्रको पाठ्यपुस्तक वितरण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार २, २०७७

ललितपुर । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड–१९ सङ्क्रमणको पर्वाह नगरी दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यहाँका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण  गरेको छ । नयाँ शैक्षिकसत्रको अध्ययन तथा अध्यापनलाई जोड दिन वाग्मतीले सो कदम पूर्ण गरेको हो ।

वाग्मतीका कूल ४७ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्ने काम सम्पन्न भइसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुमार चौलागाईँले बताउनुभयो । उहाँले भन्नुभयो, 'भौगोलिक विकटताका कारण हाम्रो गाउँपालिकाभित्र इन्टरनेटको पहुँच एकदमै कम छ । बालविकास केन्द्र तहदेखि माध्यमिक तहसम्म अध्ययनरत करीब तीन हजार आठ सय सामुदायिक विद्यालयका बालबालिकालाई हामीले पुस्तक वितरण गरेका हाैँ। यहाँ हालसम्म एउटा पनि निजी विद्यालय सञ्चालनमा आएका छैनन् ।'
घरघरमै बसेर विद्यार्थीले अध्ययनलाई निरन्तरता दिऊन् र  बालबालिकाको शिक्षामा हालको स्थितिले बाधा नपुगोस् भन्ने गाउँपालिकाको ध्येय रहेको चौलागाईँले जानकारी दिनुभयो ।