समयको फरक-फरक आयाम,  मरेको मानिस पनि अर्को कुनै आयाममा जीवित हुनसक्छ !

समयको फरक-फरक आयाम,  मरेको मानिस पनि अर्को कुनै आयाममा जीवित हुनसक्छ !

सरोज ज्ञवाली  |  ज्ञानविज्ञान  |  फाल्गुन २९, २०७५

फिल्मको पहिलो दृश्यमा ट्रेन स्पिडले सिकागो गइरहेको हुन्छ । ट्रेनमा रहेकी एक महिला यात्री क्रिस्टिना वारेन आफ्नो पुरुष साथी सेन फेन्ट्रेससँग दिक्क लाग्ने गरी बोलिरहेकी हुन्छिन् । तर, सेन भने उनको कुरा सुन्न चाहँदैन । र, ऊ केही बुझिरहेको पनि हुँदैन । ऊ क्रिस्टिनासँग झोक्किएर भन्छ, ‘को हौ तिमी ? म तिमीलाई चिन्दिनँ, किन मसँग चिनेझैं गरी बोलिरहेकी छौ ?’ 

‘तिमीलाई के भयो सेन ? किन यस्तो भनिरहेका छौ ? कि तिमीलाई सन्चो भएन ?’  क्रिस्टिना स्नेहपूर्वक भन्छिन् ।  

सेन पुनः झोक्किँदै भन्छ, ‘हेर म सेन होइन । म अमेरिकी सेनाको अफगानिस्तानमा खटिएको हेलिकप्तर पाइलट कैप्टन कोल्टर स्टिवन हुँ । तिमी मलाई सेन किन भनिरहेकी छौ ? तिमी को हौ ?’ 

यत्तिकैमा सेन अथवा आफूलाई कोल्टर भन्नेले ट्रेनको ‘बाथरुम’ मा गएर ऐना हेर्छ । ऊ आत्तिन्छ । उसको स्मृति अथवा चेतना अनुसारको अनुहार ऐनामा देखिँदैन । ऊसँग अब अनुहार सेनको हुन्छ तर चेतना भने कोल्टर भन्ने अमेरिकी सैनिकको हुन्छ । ऊ बाथरुमबाट आत्तिँदै बाहिर आउँछ । 

ऊ बाहिर आएको केही बेरमै ट्रेनमा बम विस्फोट हुन्छ । ट्रेनमा रहेका सबै यात्री मारिन्छन् । 

अब सेन अथवा  कोल्टर भन्ने पात्र  एउटा ‘क्यापसुलमा’ ब्युँझिन्छ । एउटा आधुनिक ‘ल्याब’मा रहेकी वैज्ञानिक कालिन गुडविनले त्यस पात्रकोे चेतना फर्काउने प्रयास गरिरहेकी हुन्छिन् ।  ‘क्यामरा’ र ‘कम्प्युटर’को माध्यमले उनीहरूबीच संवाद भइरहेको हुन्छ । 

कोल्टर अथवा सेन भन्नेले सोध्छ, ‘म अहिले कहाँ छु ? म त अफगानिस्तानमा कार्यरत अमेरिकी सैनिक हुँ, यहाँ कसरी आइपुगें ? तपाईंहरूले मसँग के गराइरहनुभएको छ ? तपाईंहरू को हो ?’

गुडविन भन्छिन्, ‘कैप्टन तिमीलाई एउटा नयाँ ‘मिसन’मा पठाइएको छ । जुन ट्रेनमा तिमी केही पहिला यात्रा गरिरहेका थियौं त्यो ट्रेनमा कसैले बम राखिएको थियो, तिमीले त्यो बम राख्ने मान्छेलाई चिन्नु छ । अहिले तिमी त्यो बम राख्ने मानिसलाई समात्ने अभियानमा खटाइएका छौ ।’  

‘तर, त्यो ट्रेनमा त ‘बम ब्लास्ट’ त भइसक्यो नि । अब त्यो ‘बाम्बर‘लाई कसरी समात्न सकिन्छ ? तपाईं के वाहियात कुरा गर्दै हुनुहुन्छ ?’ 

क्याप्टेन तिमी त्यसको फिक्री नगर । यो ‘मिसन’का ‘चिफ’ डा. रुटलेघले ‘क्वाण्टम मैकेनिक्स’का माध्यमले एउटा ‘अल्टरनेटिभ टाइम रियलिटी’भन्ने प्रोग्राम ‘कालचक्र’ बनाएका छन् । यसको मद्दतले हामी तिमीलाई पुनः त्यही ट्रेनमा पठाउन सक्छौ । तिमीले यस पटक कुशलतासाथ त्यो बम राख्ने मान्छेलाई चिन्नु छ । तर, याद गर तिमीसँग जम्मा आठ मिनेटको समय मात्रै हुनेछ । आठ मिनेटभित्र नै तिमीले बम राख्ने व्यक्ति चिन्नु छ । 

माथिको यो कुराकानी वेन रिप्लेद्वारा लिखित एवम्  ‘डाइरेक्टर’ डन्कन जोन्स निर्देशित ‘साइन्स फिक्सन फिल्म’ ‘सोर्सकोड’का हुन् । 

यस फिल्ममा लेखकले ‘क्वाण्टम मैकेनिक्स’, समय यात्रा, ‘अल्टरनेटिभ रियालिटी’, चेतना प्रत्यारोपण जस्ता वर्तमानमा सम्भव नभएका विषयलाई सुुत्रबद्ध गर्ने कल्पना गरेका छन् । 

फिल्मको कथावस्तु अनुसार दुई महिना पहिला अफगानिस्तानमा भएको हेलिकप्टर दुर्घटनामा पाइलट कोल्टर स्टिवनको मृत्यु हुन्छ । उनको मृत शरीर आधा मात्रै भेटिन्छ । यस आधा शरीरलाई एउटा ‘बाकस’मा सुरक्षित राखिन्छ । 

फिल्मको अर्को घटनामा सिकागो गइरहेको ट्रेनमा क्रिस्टिना वारेन र उनका पुरुष साथी सेन फेन्ट्रेस ट्रेनमा भएको बम विस्फोटमा सबै यात्रुसँगै मारिन्छन् । 

डा. रुटलेघ र उनको टोलीले दुर्घटनामा परेका सेन फेन्ट्रेसको ‘ब्रेन डेथ’ हुनुपहिला उनको चेतना पाइलट कोल्टरमा प्रत्यारोपण गरी दिन्छन् । 

डा. रुटलेघको मान्यता अनुसार ‘अल्टरनेटिभ रियलिटी’ मा यो चेतना क्याप्टेन कोल्टरको शरीरमा आठ मिनेटसम्म काम गर्छ । 

लेखकले यहाँनिर ‘मेडिकल साइन्स’ को एउटा सिद्धान्तमा टेकेका छन् । मृत्युपश्चात् पनि मृतकको मस्तिष्क आठ मिनेटसम्म जीवित रहन सक्छ । 

आइन्सटाइनको  ‘स्पेसल रिलेटिभिटी थ्योरी’ र ‘जनरल रिलेटिभिटी थ्योरी’पश्चात वैज्ञानिकका लागि समय बारेको शास्त्रीय एवम् न्युटनकालीन मान्यता फेरिन पुग्यो । यी दुवै ‘थ्योरी’ले समय अगाडि (भविष्यमा) एवम् पछाडि (भूतकालमा) जान सक्ने सम्भावना रहेको बताउँछ । 

प्रायोगिक रूपमा अहिलेसम्म यो सम्भव नभए पनि सैद्धान्तिक भौतिकविद्का लागि यो अत्यन्त चासोको क्षेत्र बनेको छ । 

एकथरि वैज्ञानिक बितेको समयमा जान सम्भव छैन भन्ने विश्वास गर्छन् । यसका लागि उनीहरूले ‘ग्राण्ड फादर पैराडक्स’ अघि सार्छन् । 

भनाइको अर्थ कसैलाई समयमा पछाडि पुर्याइयो र उसले भूतकालमा गएर आफ्नो अविवाहित हजुरबुबाको हत्या गरिदियो भने उसको बुबा र ऊ आफै‌ पनि जन्मिन सक्ने आधार नै मेटिन्छ । यही नै ‘ग्राण्ड फादर पैराडक्स’ हो ।

अर्काथरी वैज्ञानिक भन्छन्– कसैलाई समय यात्रामा भूतकालमा पठाइयो भने उसका लागि त्यो एउटा फिल्मका माफिक हुनेछ, उसले त्यहाँ केही गर्न सक्ने छैन । उसको त्यहाँ गरिएको कुनै कामले त्यहाँ कुनै परिवर्तन हुनेछैन । 

फिल्ममा कोल्टरलाई अनेकौं पटक ट्रेनमा पठाइन्छ, बम विस्फोट हुनुको आठ मिनेट पहिलाको समयमा । आठ मिनेट मात्रै यस अर्थमा किनकि मृत्यु भइसकेका सेन फेन्ट्रेसको मस्तिष्क आठ मिनेटभन्दा बढी बाँच्न सक्दैन ।

हरेक पटक कोल्टर बम राख्ने मानिसलाई चिन्ने प्रयास गर्छन् । एक पटकको प्रयासमा उनी एउटा यात्रीको पिछा गर्दै विस्फोट हुनुपुर्व ट्रेन रोकिएको स्टेसनमा ओर्लिन्छन् । उनी साथै उनको महिला साथी पनि ओर्लिन्छिन् । तर, उनले पिछा गरेको यो यात्री ‘बाम्बर’ हुँदैन । यस यात्रीसँग हातपात हुँदा कोल्टर ट्रेनको ‘लिक’मा खसेको देखाइन्छ र ट्रेनले किचिएर उनी फेरि ‘क्यापसुल’मा ब्युझिन्छन् ।

यस पटक कोल्टर ‘कमान्डिग अफिसर’ गुडविनसँग भन्छन्,  ‘मैले त्यो ट्रेनबाट एकजना महिलालाई बचाएँ ।’ 

गुडविन भन्छिन्, ‘कैप्टन तिम्रो काम कसैलाई बचाउनु होइन । ‘दे अल आर अलरेडी डेड’, तिनलाई बचाउने प्रयास गर्नु व्यर्थ हो ।’ 

कोल्टर झस्किछन्, ‘उनीहरू सबै मरिसकेका छन् भने म कसरी बाँचेको छु ? के म पनि मरिसकेको हुँ ?’ 

‘तिम्रो मस्तिष्कको केही भाग अझै जीवित छ कैप्टन,’ गुडविनले उनलाई भन्छिन् । 

यसपछिको प्रयासमा कोल्टरले बम राख्ने मानिस ड्रेक फ्रोस्टलाई चिन्न सफल हुन्छन् । ड्रेकले अर्को ठाउँमा विस्फोट गराउन प्रयोग गर्ने गाडीसम्म पुग्छन कैप्टन कोल्टर । तर, ड्रेक फ्रोस्टले उनलाई गोली हानी मारिदिन्छन् ।  

गुडविनले उनलाई फेरि ‘क्यापसुल’मा ब्युँझाउँछिन् । यस पटक कोल्टरले गुडविनलाई ड्रेक फ्रोस्टको गाडी नम्बर दिन्छन् । यसै आधारमा पुलिसले ड्रेक फ्रोस्टलाई समात्छ । देशभरी डा. रुटलेघको कालचक्रका माध्यमले अपराधी समात्ने प्रविधिको सराहना हुन्छ । 

कोल्टरले भने गुडविनसँग एकपटक आफूलाई पुनः ट्रेनमा पठाउने अनुरोध गर्छ । गुडविन डा. रुटलेघसँग नभनी कोल्टरलाई ट्रेनमा पठाइदिन्छिन् । अबको दृश्यमा भने लेखक र निर्देशकको कल्पनाले गजबकै होस उडाउने मौलिक र अपत्यारिलो तानाबाना बुन्ने कार्य गरेका छन् । कोल्टरले यसपटक बमलाई ‘डिफ्युज’ गरेर ‘बाम्बर’ ड्रेक फ्रोस्टलाई ट्रेनमा बम विष्फोट हुनुअगाडि नै कैद गरेको देखाइएको छ । यस पटक ट्रेनमा बम पड्किँदैन र  ट्रेन सिकागो पुग्छ । कोल्टर र उनकी महिला मित्र सिकागो स्टेसनमा घुमफिर गर्दै गरेको दृष्यले दर्शकको मस्तिष्कमा भूँइचालो ल्याइदिन्छ । फिल्मले मरिसकेका दुवै पात्रलाई अल्टरनेटिभ रियालिटिमा जिउँदै रहेको देखाउँछ । 

‘साइन्स’ र ‘साइन्स फिक्सनमा’ रुचि राख्नेहरूका लागि ‘सोर्सकोड’ फिल्म राम्रो तथा मनोरञ्जन युक्त फिल्म हो । फिल्म हेर्दै गर्दा दर्शकले आफ्नो दिमाग चलाउने मौका पाउँदैनन् । फिल्मको कथावस्तु कस्सिएको र धारा प्रवाह बगेको हुँदाहुँदै अलिक जटिल छ । फिल्ममा विज्ञानका कतिपय जटिल सिद्धान्त देखाउन खोजिएको छ । त्यसकारण एकै पटक हेर्दा दर्शकले यो फिल्मलाई पूर्ण रूपमा नबुझ्न सक्छन् । तर, निर्देशकले सकभर दृश्याङ्कनको माध्यमले बुझाउने प्रयास गरेका छन् । रुचि हुने दर्शकले दुई तीन पटक फिल्म हेरेमा फिल्ममा समेटिएको विज्ञान कल्पना बुझ्न सक्छन् । 

धेरै पाठकले सन् २०११ मा ‘रिलिज’ भएको यो फिल्म हेर्नु भएको होला । कतिपयले यो आलेख पढेपछि फिल्म हेर्ने रहर गर्लान् । यस लेखमा फिल्मका जटिलता अलि-अलि मत्थर पार्ने प्रयास गरिएको छ । 

याे पनि

कृतिम बौद्धिकताको संसारः म्याट्रिक्स फिल्मबारे एक चर्चा