हुने खाने र हुँदा खाने लागि अनलाइन कक्षा: इन्टरनेट र मोबाइल नेटवर्कको अभावमा विकल्प कि सङ्कट !

हुने खाने र हुँदा खाने लागि अनलाइन कक्षा:  इन्टरनेट  र मोबाइल नेटवर्कको अभावमा विकल्प कि सङ्कट !

कमला रेग्मी  |  दृष्टिकोण  |  असार ३, २०७७

विश्वभर कोरोना भाइरसले पारेको विभिन्न प्रकृतिका प्रभावमध्ये शिक्षा क्षेत्रमा आफ्नै किसिमको अन्यौलता छ । शिक्षा क्षेत्र धेरै भिडभाड र जमघट हुने ठाउँ पनि हो । परिणामतः सरकारले रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७६ लाई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गर्ने निर्णय गरिसकेको छ । वर्तमान भोगिरहिएको सङ्कटावस्था र आगामी दिनमा पनि आउन सक्ने सङ्कट अनुरूप शैक्षिक प्रविधिलाई कसरी विकास गर्ने भन्ने एउटा बहस सुरु भएको छ । शिक्षा क्षेत्रमा वैकल्पिक चिन्तनका विषयमा, प्रविधि मैत्री शिक्षाका विषयमा धेरै समयअघिदेखि चर्चा परिचर्चा हुँदै आएका छन् । वर्तमान समस्याले उब्जाएको परिस्थितिका कारण पनि नवीन सोचलाई  अवसरमा रूपमा बदल्नको लागि उपयुक्त मौका आइरहेको छ ।  

नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा भनिए जसरी नै मुलुकलाई इन्टरनेटको पहुँचमा विस्तार गर्ने कुरा प्राथमिकतामा राख्नु अबको बाध्यात्मक आवश्यकता बनिसकेको छ  । यदि यसो भएमा अनलाइन शिक्षाका विषयमा आज भएका बहस स्वतः व्यावहारिक रूपमा र्कान्वयनगर्ने मौकाकाका रूपमा सदुपयोग गर्न सकिन्छ । यसका विपरीत अहिलेकै अवस्थामा नेपालको परिवेशलाई हेक्का नै नराखी पूर्वाधारविहीन अवस्थामा आएका विकल्प सबै निरर्थक हुने शङ्का पनि उत्तिकै छ ।

अनलाइन कक्षाले राज्य साझा हो भन्ने अवधारणामा समेत प्रश्न उठाउने छ । यसबाट इन्टरनेटको पहुँच भित्र र बाहिर डिजिटल प्रयोग गर्ने र नगर्ने बिचको वर्ग, समुदाय, क्षेत्र र भूगोलमा बस्नेहरूको बिचको नतिजामा समेत फरक उपलब्धि आउँदा दीर्घकालीन असर पर्ने देखिन्छ । विभिन्न सञ्चारको माध्यमबाट जनचेतना अभिवृद्धि गरी सोचाइमा थोरै भए पनि सकारात्मक ऊर्जा उत्पन्न हुन सक्छ ।

अनलाइन कक्षाः हात्तीको देखाउने दाँत

एसइई सुरु हुने दिनबाट नै बन्दाबन्दीको अवस्थापश्चात्  करिब ५ लाख बढी विद्यार्थीहरू परीक्षाको पर्खाइमा रहेका छन् भने अन्य लाखाैँ विद्यार्थीहरू घरमा बस्न बाध्य छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार ३५ हजारभन्दा बढी सामुदायिक विद्यालयहरू रहेका छन् । हालै गरिएको एउटा अध्ययन अनुसार तिनीहरूमध्ये ६ प्रतिशत सामुदायिक विद्यालयमा मात्र इन्टरनेटको सुविधा छ । सरकारको अघिल्लो वर्षको योजना बमोजिम प्रायः माध्यमिक तहसम्म सञ्चालन भएको विद्यालयमा इन्टरनेट सञ्जाल जडान गरिएका छन् तर यहाँ विद्यालयमा भन्दा पनि कति घरपरिवारसँग इन्टरनेट छ भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । ग्रामीण दूर दराजमा मोबाइलमा नेटवर्क नआएर कुराकानी गर्न डाँडातिर दगुर्नु पर्ने अवस्था छ । यसका लागि स्थानीय सरकारले उचित प्रबन्ध गर्ने कुरामा यथोचित ध्यान जान जरुरी छ । कतिपय ग्रामीण भेगमा सम्भव हुने भए गाउँलाई बन्द गराएर, आवत–जावतको अवस्थालाई रोकेर विद्यालयसम्म  खोल्न सकिएला पनि । इटालीको एउटा सहरले आफ्नो क्षेत्रमा कसैलाई आउन नदिने र बाहिर जान नदिने गरी सबैको स्वास्थ्य परीक्षण गरे जसरी त्यस्तो व्यवस्था गरेमा केही सम्भव होला । अत्यन्तै विकट गाउँमा विद्यालय सञ्चालनमा समस्या नहोला तर यो पूर्ण जोखिमरहित र स्वस्थ वातावरण मैत्री भने जरुरी छ । 

दूर दराजको अवस्था र गरिबीको प्रताडनाका बाबजुद विद्यार्थी तथा अभिभावकमा मनोवैज्ञानिक असर देखिन थालि सकिएको छ । भारत र नेपालमा पनि आत्महत्याका घटनालाई अनलाइन कक्षाको असरले  बढ्ने क्रम जारी छ । यो गम्भीर विषयमा सबैको ध्यान जान जरुरी छ । शिक्षा प्रणालीलाई सुचारु गर्न सरकार, अभिभावक र विद्यार्थीले के कसरी भूमिका निर्वाह गर्न सक्लान् ? स्थान अनुरूप कसरी विकल्पको छनोट गर्न थाल्ने ? भन्ने विषय अबको हुनुपर्छ । विज्ञहरूले जे जति विकल्प दिनुभए पनि यो शिक्षाभन्दा पनि बढी स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । जहाँसम्म एसइई लगायतका रोकिएका परीक्षाका बारेमा कुरा आइरहेका छन्, त्यो पनि भनिएजस्तो सहज देखिँदैन । 

पाठ्यक्रम विकास केन्द्रको प्राविधिक सहयोगमा टेलिभिजनबाट कक्षाहरू सञ्चालन त भइरहेका छन् तर टेलिभिजनको पहुँचमा आधाभन्दा बढी विद्यार्थीसँग छैन । कतिपय विद्यार्थीसँग बन्दाबन्दीसँगै गाउँतिर गएको अवस्था छ । इन्टरनेटको पहुँच छैन । इन्टरनेट चल्ने मोबाइल छैन । अनि इन्टरनेट भएर पनि यो प्रविधिलाई चलाउने सीप छैन भने कसरी नेपालमा अनलाइन शिक्षा सम्भव हुन्छ र !  यो नेपालको वास्तविकता हो । यसर्थ सबैको पहुँचभन्दा बाहिर रहेको यो तरिका हात्तीको देखाउने दाँत नहोस् भन्ने कुरामा सबै सचेत हुन जरुरी छ । हामीले हाम्रो घाँटी हेरेर हाड निल्ने गरी योजना बन्नुको साटो देखावटी रूपमा मात्रै यो अनलाइन कक्षा सञ्चालनको ठुलठुला कुरा भइरहेका छन् । 

ज–जसले सञ्चालन गरिरहेका छन् त्यहाँ पनि शतप्रतिशत सहभागिता रहेको पाइएको छैन ।  यसले विद्यार्थी र अभिभावकमा अनावश्यक बोझ र तनावलाई प्रश्रय त दिएको छैन ? समयमा ध्यान जान जरुरी छ । अनलाइन, टेलिभिजन शिक्षा प्रभावकारी प्रविधि त हो तर सीमित वर्ग, क्षेत्र र भूगोलमा मात्र आधारित हुँदा यसले लक्षित वर्ग समेट्न सक्छ कि सक्दैन भन्नेबारेमा सबैको ध्यान जान जरुरी छ ।  फलतः भनिएको अनलाइन कक्षा पनि  हुने खाने र हुँदा खानेको बिचको गहिरो खाडल त बनाउँदैन ? समयमा नै ध्यान जान जरुरी छ ।   

विद्यालय खोल्नु कति जायज ?

सरकारले साउन २६ गतेदेखि ३२ गतेसम्ममा विद्यालय तथा कलेजहरू सञ्चालन गर्ने भन्ने चरणगत योजनालाई पेस गरेको छ । अहिले निजी विद्यालयहरूले स्कुलहरू खोलेर पढाइ सुचारु गर्ने कुरा गरिरहेकै अवस्थामा जिम्मेवार भएर मनोवैज्ञानिक र प्राविधिक समस्यालाई सोच्नु आवश्यक छ । तर, यी सबै योजना हाम्रो मुलुकको कोरोना सङ्क्रमणको अवस्थामा आधारित हुने कुरामा दुई मत छैन । चाहे विद्यालयमा सेनेटाइजर राखियोस्, मास्क लगाउन भनियोस् या त थर्मल गन लगाएरै पठाउन भनियोस् । के जीवनको सुरक्षाको प्रत्याभूति दिने क्षमता कुनै विद्यालयसँग वा कुनै व्यक्तिसँग छ ? यो असम्भव प्राय छ । यदि कुनै विद्यालयमा कोही विद्यार्थी सङ्क्रमित भयो भने त्यसको परिणाम कस्तो हुन्छ ? त्यसपछिको जिम्मेवार को हुन्छ ?

दर्शनशास्त्री 'जिन ज्याक रुसो' काे  अवधारणाले ‘प्रकृतितर्फ फर्क’ भन्ने मान्यता राख्छ । यसरी हेर्दा सहरलाई प्राकृतिक परिवेशको समस्या हो भने गाउँमा अनलाइन कक्षाको कुरा समस्या हो । घरमा बसेर विद्यार्थी बरबाद भए मात्र भन्ने कि, घरमा के–के सिके, स्वतन्त्र हुँदा संसारका के के कुरा जाने–बुझे भन्ने विषय प्रमुख हो । हामी एकातिर विद्यालयको चौघेराको शिक्षा मात्रै सर्वोपरि होइन भनेर एकातर्फ भनिरहेका छौँ भने अर्कोतिर बाह्रै महिनाको बाह्रै घण्टा विद्यालयभित्र कोच्चाएर सिकाउनुपर्छ भन्ने अडानबाट हट्न हिचकिचाउँदै पनि छौँ । अब शिक्षामा सोच र तरिका दुवै बदल्नु आवश्यक छ । अब जहाँ जे छ त्यही स्थानीय आवश्यकताका आधारमा शिक्षालाई जोड्नु बुद्धिमानी हुन्छ । यो कार्यलाई गाउँपालिका स्तरीय विकासको योजनामा गाँस्न सकिन्छ । 

अर्को कोणबाट हेरौँः सामाजिक दुरी कायम गरेर विद्यालय खोल्नुपर्छ भन्ने बहस कति सान्दर्भिक छ ? कोभिड–१९ महामारी उत्कर्षमा पुगेको बेला निजी विद्यालय सञ्चालकहरूलाई स्कुल खुलाउन हतारो हुनुका पछाडि आर्थिक मेसो टार्ने प्रपञ्च मात्रै हो । विद्यालय तथा कलेजलाई अन्तिम अवस्थामा मात्रै खोल्नुपर्छ भन्ने कुरा नै जायज हुन्छ । हाम्रो पहिलो आवश्यकता के हो ? ज्ञान सिक्नलाई जोखिम मोल्ने कि कि बाँचेपछि ज्ञान सिक्ने ? पहिलो कुरा त अभिभावकले कसरी आफ्ना छोराछोरीलाई विद्यालय पठाउलान् ? दोस्रो, यदि विद्यार्थीहरू विद्यालयमा गइहाले भने पनि विद्यार्थी त चञ्चल हुन्छ । कक्षामा सामाजिक दुरी कायम गरेर पढाउने कुरा त ‘स्वतन्त्र चरीलाई पिँजडामा बन्द गरेर खुसी छ’ भन्नु जस्तो मात्रै हुन्छ । बरु विद्यार्थीको हात–हातमा पुस्तक पुर्‍याउनुपर्छ भनेर गाउँपालिका, वडा स्तरीय सक्रियता बढाऔँ । घर–घरायसी काम सिकाउने तरिकालाई खोजौँ । अहिलेको देखिएको सबैभन्दा ठुलो समस्या भनेको इन्टरनेटको पहुँच नभएका क्षेत्र र विपन्न वर्गका परिवारमा नै हो । त्यसो भए यतिखेर सकेसम्म सामाजिक संस्कार र पारिवारिक भाइचाराका सन्देश पढाऔँ । अग्रजका अनुभवमा रम्न सिकाऔँ । हजुरबाबाट नातिले सिक्ने हिजोको ज्ञानको पुस्तान्तरणको आदतको जनचेतना जगाऔँ ।  

घरका कुरा सिकाऔँ !

अनलाइन कक्षाले राज्य साझा हो भन्ने अवधारणामा समेत प्रश्न उठाउने छ । यसबाट इन्टरनेटको पहुँच भित्र र बाहिर डिजिटल प्रयोग गर्ने र नगर्ने बिचको वर्ग, समुदाय, क्षेत्र र भूगोलमा बस्नेहरूको बिचको नतिजामा समेत फरक उपलब्धि आउँदा दीर्घकालीन असर पर्ने देखिन्छ । विभिन्न सञ्चारको माध्यमबाट जनचेतना अभिवृद्धि गरी सोचाइमा थोरै भए पनि सकारात्मक ऊर्जा उत्पन्न हुन सक्छ । यसबाट बाल मस्तिष्कमा थोरै भए पनि कोरोनाको त्रास कम हुन सक्छ । बरु यो समयलाई बालबालिकाहरूले उनीहरूको जीवनमा गरेर खान सक्षम बनाउने तथा गुणात्मक विकास गर्ने गरी उपयोग गर्नु बढी प्रभावकारी हुन सक्छ । यस अन्तर्गत निम्न कार्य गराउन सकिन्छः

    कोरोना महामारीको असर कतिसम्म र कहिलेसम्म रहन्छ भन्ने कुनै यकिन हुन नसक्दा विशेष गरेर स्नातकोत्तर तह र सोभन्दा माथिका लागि अनलाइन कक्षा एउटा विकल्प हुन सक्छ । स्नातक तथा माध्यमिक तहसम्मलाई रेडियो शिक्षा बढी प्रभावकारी हुन सक्ला । साना कक्षाका विद्यार्थीका लागि अहिले अभिभावक पनि घरमा हुनुहुन्छ र विद्यार्थी पनि घरमै छन् । उनीहरूलाई त घरमै सिकाउन–पढाउन सकिन्छ । हिजोको शिक्षामा हजुरबाले धुलो माटोलाई पिरामा राखेर छेस्काले क–ख, क–का, अ–आ, १–२ आदि आधारभूत कुरा सिकाइसकेपछि विद्यालय जाने चलन थियो भने आज यो कुरालाई किन नअपनाउने ? यो सम्भव पनि त छ । बालबच्चा त प्रायः काटुनमै झुम्मिइरहन्छन् । अब नेपाल सरकारले उपयोगी सन्देश प्रद काटुनलाई मात्रै युट्युबमा राख्ने गरी प्रबन्ध गरे कमसेकम बालबच्चाले आँखा बिगार्ने थिएनन् कि भन्ने पनि हो । 

अहिले आधारभूत तह (१–८) मा मात्रै नभएर माध्यमिक (९–१२) का विद्यार्थीहरू पनि पढाइ सीपमा कमजोर देखिन्छन् । बरु यी स्तरका विद्यार्थीहरूलाई अभिभावक र शिक्षकको समन्वयबाट पठन सीपमा अभ्यस्त बनाउने अभियान चलाउने हो भने यो एउटा राम्रो आधार हुन सक्ला । विद्यार्थीहरूको आफ्नो रुचि र क्षमता अनुरूप कलात्मक क्षमतालाई, अन्तर्निहित क्षमतालाई भरपुर रूपमा बाहिर निकाल्नुपर्ने समय हो । यस अवस्थामा इन्टरनेटको पहुँचमा हुनेहरूले मोबाइल र युट्युबबाट सकारात्मक कुरा सिकुन् भनेर प्रेरित गर्न सकिन्छ । 
दर्शनशास्त्री 'जिन ज्याक रुसो'