नाफाद्वारा राष्ट्रिय अरनिको सम्मान  लगायत विविध विधका पुरस्कार सम्मान प्रदान  गरिने

नाफाद्वारा राष्ट्रिय अरनिको सम्मान  लगायत विविध विधका पुरस्कार सम्मान प्रदान  गरिने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार ४, २०७७

काठमाडाैँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले कलाकार शङ्करनाथ रिमाल र सन्तकुमार शाक्यलाई यसपालिको राष्ट्रिय अरनिको सम्मान प्रदान गर्ने भएको छ ।

नाफाले आज विज्ञप्ति जारी गरी रिमाल र शाक्यलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । पुरस्कारको राशि जनही  एक लाख रहेको छ । नाफाले  २५ हजार राशि रहेको ‘ललितकला राष्ट्रिय लेखन पुरस्कार’ प्रा. डा. लय मैनाली र ‘ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार’ केशवराज खनाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

२०७७ वैशाख २ गते ललितकला प्रदर्शनीका क्रममा वितरण गर्ने भनिएको उक्त पुरस्कार कोभिड–१९ का कारण रोकिँदै आएको थियो । प्रदर्शनीलाई अब वैकल्पिक (भर्चुअल) माध्यमबाट गर्ने तयारी भइरहेको छ । प्रदर्शनीका लागि सङ्कलित कलाकृतिको मूल्याङ्कन गरी अन्य विभिन्न विधामा समेत पुरस्कार घोषणा गरिएको नाफाका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

कर्माचार्यका अनुसार विधागतरुपमा पुरस्कार प्राप्त गर्ने कलाकारको नामावलीसमेत सार्वजनिक गरिएको छ । राष्ट्रिय ललितकला पुरस्कारअन्तर्गत हस्तकलातर्फ कास्कीका मिलन शेरचन, मूर्तिकलातर्फ ललितपुरका सुरेश तुलाधर, आधुनिक मूर्तिकलातर्फ भक्तपुरका भूषण दुवाल, परम्परागत चित्रकलातर्फ भक्तपुरका कृष्णराम घेमेसु, आधुनिक चित्रकलातर्फ पर्वतका गणेश जिसी, लोककलातर्फ धनुषाका लक्ष्मण मण्डल र वास्तुकला तथा सिर्जनात्मक कलातर्फ काठमाडौँका प्रमिला लामा रहनुभएको छ ।

उक्त पुरस्कारको राशि जनही  ६० हजार प्रदान गरिनेछ । अन्य १५ जनालाई रु २५ हजार राशिको ललितकला विशेष पुरस्कार प्रदान गर्ने घोषणासमेत गरिएको कर्माचार्यले जानकारी दिनुभयो । यस्तै प्रादेशिक पुरस्कार अन्तर्गत प्रदेश नं १ बाट मोरङका कौशिला राई, प्रदेश नं २ बाट सप्तरीका रुविकुमार कर्ण, वाग्मती प्रदेशबाट काठमाडौँका प्रकाश मिजार, गण्डकी प्रदेशमबाट कास्कीका दलबहादुर गुरुङ, प्रदेश नं ५ बाट रुकुमका आकाश बुढा मगर, कर्णाली प्रदेशबाट मुगुका मीनबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशबाट कैलालीका गणेशदेवी चौधरीलाई पुरस्कार प्रदान गरिने भएको छ ।