शिक्षकबिनाको कम्प्युटर शिक्षा

शिक्षकबिनाको कम्प्युटर शिक्षा
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन २९, २०७५

जाजरकोट । चार वर्षअघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् । 

विषयगत शिक्षकको अभाव र पर्याप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुन नसकेको हो । कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताब भट्याएर विद्यार्थीलाई पढाउने गरेका छन् । कार्यालयले उपलब्ध गराएको कम्प्युटर खोल्ने र बन्द गर्नेबाहेक अन्य काम नभएको विद्यालयले जनाएका छन् । 

जाजरकोटमा सबै माविमा दुई थान कम्प्युटर उपलब्ध गराएर विद्यार्थीलाई अभ्यास गराउने उद्देश्य राखे पनि दक्ष शिक्षक नहुँदा ढाटैबाट कम्प्युटर हेर्नुबाहेक अन्य काम नभएको जानकी मावि मैदेका स्थानीय जगत गिरीले बताउनुभयो । स्थानीय सरकारले पनि नमूना विद्यालय बनाउने भन्दै विभिन्न कार्ययोजना अगाडि सारेका छन् । तर, कम्प्युटर शिक्षक र सीमित कम्प्युटरका कारण समस्या भएको विद्यालयले जनाएका छन् । 

शिक्षकविनाका कम्प्युटर बन्द कोठाका साथी भएको शिक्षकको भनाइ छ । विद्यालयमा आम्दानीको स्रोत नहुँदा निजी स्रोतबाट कम्प्युटर शिक्षक राखेर पढाउन नसकिएको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले बताउनुभयो । प्रावि तहका शिक्षकको भरमा मावि तह सञ्चालन गर्नुपर्ने जाजरकोटका अधिकांश विद्यालयको बाध्यता छ । 

पर्याप्त शिक्षक दरबन्दी नहुँदा अधिकांश विद्यालयले निजी स्रोतबाट शिक्षक राखेर विद्यालय सञ्चालन गर्दै आएका छन् । स्थानीय वन उपभोक्ता समूह, स्थानीयवासीले संकलन गरेको चन्दा, विकास निर्माणबाट आएको रकमबाट विद्यालय चल्दै आएको सरस्वती मावि बारेकोट गाउँपालिका–५ का प्रधानाध्यापक मनबहादुर सिंहले बताउनुभयो । 

अहिले अधिकांश विद्यालयमा रहेका कम्प्युटर, भिडियो हेर्न र फेसबुक चलाउन मात्र प्रयोग भएको देखिन्छ । प्रत्येक माविमा दूरसञ्चार प्राधिकरण र वर्डलिङ्कको सहकार्यमा इन्टरनेट जडान गरे पनि विद्यार्थीले प्रयोग गर्न पाएका छैनन् । 

कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउन स्थानीय सरकार र केन्द्र सरकारले ध्यान नदिने हो भने लाखौँको रकम बालुवामा पानीजस्तै हुने निश्चित भएको भेरी नगरपालिका–१ रिम्नाका गगनबहादुर खड्काले बताउनुभयो । 

सरस्वती मावि सिमाका कक्षा ७ मा पढ्ने छात्र सूर्य शाही भन्नुहुन्छ, ‘सरले अगाडि आएर किताब भट्याउनुहुन्छ, हामीलाई केही थाहा हुँदैन, अहिलेसम्म कम्प्युटर समात्न नपाएरै परीक्षा दिन लागिएको छ ।’ कम्प्युटर पढाउने शिक्षकलाई समेत कम्प्युटरको ज्ञान नभएर पढाउँदा शिक्षा लिने विद्यार्थीले कसरी शिक्षा आर्जन गरेका होलान् ? अहिले चर्चाको विषय बन्न पुगेको खबर राससमा छ ।