घरघरमा पाइपलाइनबाट ग्यास पुर्‍याउन सर्वे शुरु, पहिलो चरणमा एक हजार घरमा पुर्‍याइने

घरघरमा पाइपलाइनबाट ग्यास पुर्‍याउन सर्वे शुरु, पहिलो चरणमा एक हजार घरमा पुर्‍याइने

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ४, २०७७

झापा ।  झापाको कनकाई नगरपालिका–२ स्थित निर्माणाधीन कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन लिमिटेडले घरघरमा पाइपलाइनबाट ग्यास पुर्‍याउन सर्वे शुरु गरेको छ ।

संस्थाबाट उत्पादित बायोग्यास वितरणका लागि अर्थ मन्त्रालयले  दुई करोड उपलब्ध गराएपछि पाइपलाइन निर्माणका लागि सर्वे शुरु गरिएको संस्थाका प्रबन्ध निर्देशक दीपक चापागाईंले जानकारी दिनुभयो ।

'पहिलो चरणमा एक हजार घरमा पाइपबाट ग्यास पुर्‍याउने लक्ष्यका साथ काम अघि बढाइएको छु ', उहाँले भन्नुभयो, 'अर्थ मन्त्रालयबाट दुई करोड अनुदान पाएपछि काम अघि बढाएका छौँ ।' हालसम्म बायोग्यास प्लान्ट निर्माणको ७० प्रतिशत काम पूरा भइसकेको छ । डाइजेष्ट निर्माण सम्पन्न भइसकेको छ भने कन्ट्रोल प्यानल र सहायक पूर्वाधारको काम धमाधम भइरहेको छ । आगामी मङ्सिरसम्म बायोग्यास उत्पादन गरेर घरघरमा पुर्‍याउने लक्ष्यका साथ द्रुत गतिमा काम अघि बढिरहेको प्रबन्ध निर्देशक चापागाईंले बताउनुभयो ।

चार हजार घनमिटरको बायोग्यास प्लान्ट पूर्णक्षमतामा सञ्चालनमा आएपछि दुई हजार घरमा पाइपलाइनबाट ग्यास पुर्‍याउन सकिने संस्थाका अध्यक्ष मिनाल तिम्सिनाले बताउनुभयो । 'पहिलो चरणमा कनकाई–२ र ३ का एक हजार घरमा ग्यास पुर्‍याउँछौँ', उहाँले भन्नुभयो, 'त्यसपछि थप विस्तार गर्दै लगिनेछ ।' ग्यासका साथै दैनिक दश टन अग्र्यानिक मल उत्पादन हुने संस्थाका प्राविधिक जीवन श्रेष्ठले बताउनुभयो ।

प्लान्ट निर्माणका लागि बन्दाबन्दीका समयमा पनि ३०/३५ जनाले दैनिक १२ घण्टासम्म काम गरिरहेको उहाँले बताउनुभयो । लकडाउनका बेला पनि एक दिन काम रोकिएको छैन', उहाँले भन्नुभयो, 'निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ ।'  १६ करोड ३६ लाख ६७ हजारको लागतमा निर्माणाधीन प्लान्टका लागि विश्व बैंकले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत पाँच करोड ४८ लाख अनुदान दिएको छ ।

संस्थामा आबद्ध आठ सय शेयर सदस्यहरुले  एक करोड ५० लाख लगानी गरेका छन् भने पाइपलाइन विस्तारका लागि अर्थ मन्त्रालयले दुई करोड अनुदान दिएको छ ।

संस्थामा कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाले समेत लागत साझेदारी गरेका छन् । यी तीन स्थानीय तहबाट फोहर सङ्कलन गरिने प्रबन्ध निर्देशक चापागाईंले बताउनुभयो । स्थानीय तहबाट सङ्कलन गरिएको फोहर वर्गीकरण गरेर कुहिने फोहरबाट बायोग्यास, नकुहिने प्लाष्टिकजन्य फोहरबाट पुनः प्रयोग गर्न मिल्नेलाई नवीकरणीय गर्ने र प्रयोग गर्न नमिल्ने प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालिने योजना रहेको चापागाईले बताउनुभयो ।

फोहर सङ्कलनका लागि शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकासँग पनि छलफल अघि बढाइएको उहाँले बताउनुभयो । बायोग्यास प्लान्टको गत वैशाखमा अर्थमन्त्री डा. युवराज खतिवडाले शिलान्यास गर्नुभएको थियो भने २०७५ साल जेठ १७ गते कम्पनी दर्ता गरेर संस्थाले काम अघि बढाएको थियो । 

सन्तोष शर्मा