‘एक वडा, एक उत्पादन’ च्यानडाँडामा किसानद्वारा कागतीको बेर्ना उत्पादन

‘एक वडा, एक उत्पादन’  च्यानडाँडामा किसानद्वारा कागतीको बेर्ना उत्पादन

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ५, २०७७

खोटाङ । साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका किसान सामूहिकरुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । यसअघिसम्म छुट्टाछुट्टै उत्पादन गर्दै आएका तल्लो टोल बङ्गुर पालन कृषक समूहमा आबद्ध किसान गाउँपालिकाको  दुई लाख रुपैयाँ आर्थिक सहयोग पाएपछि सामूहिकरुपमा बेर्ना उत्पादन शुरु गरेका हुन् । 

‘एक वडा, एक उत्पादन’को नीतिसहित हरेक वडामा नर्सरी व्यवस्थापन तथा प्रवद्र्धनका काम शुरु गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । 'गाउँपालिका कृषि पर्यटनको विकास गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा लागेको छ', उहाँले भन्नुभयो, 'हरेक नर्सरी उत्पादन सफल भएकाले चिया, कागती, नासपाती र कफीको बेना अन्यत्र खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ ।'

बाँझे च्यानडाँडाका किसानले पहिलो चरणमा कागतीका ४० हजार बेर्ना उत्पादन गर्ने लक्ष्य लिएका छन् । हाल किसानले कागतीको नर्सरीको जराको विकास गर्न जर्खराउने (उखालेर पुनः माटो खुकुलो पारेर रोप्ने) काम गरिरहेका छन् । कागतीको बेर्ना उत्पादन, कागतीको खेती विस्तार एवं बिक्रीका लागि समूहमा आबद्ध २२ किसानले प्लाष्टिकको टनेलभित्र कागतीको बेर्ना हालेका गाउँपालिकाका कृषि शाखा संयोजक गणेश राईले बताउनुभयो । गाउँपालिकाको सहयोगमा स्थानीय किसान चिया, नासपाती र कफीको बेर्ना उत्पादनमा समेत लागेका छन् । 

साकेला गाउँपालिका–३ खिदिमामा चिया, वडा नम्बर–४ मात्तिममा अनार र वडा नम्बर–२ रतन्छामा नासपातीको नर्सरी लगाइएको छ । आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशुपंछी पालनलगायत फरकरफरक कृषि व्यवसायको स्रोत केन्द्र बनाउने अभियान थालिएको छ । 

हरेक वडामा कृषक समूह गठन गरेर अभियान शुरु गरिएको उक्त गाउँपालिकामा गत आर्थिक वर्षमा  ५३ लाख रुपैयाँ र स्वीस सरकारअन्तर्गत हेल्भेटासले ४५ लाख २८ हजार ररुपैयाँ गरी जम्मा ९८ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पाँच वर्षभित्र सबै वडालाई एकरएक वटा कृषि व्यवसायको स्रोत केन्द्र बनाउने उद्देश्यसहित हरेक वर्ष बजेट बढाउँदै लगिने जनाएको छ ।