नरेन्द्र मोदीको ट्विटमा राहुल गान्धी, मायावती र ममतालाई ट्याग, निर्वाचन सफल बनाउने अपिल

नरेन्द्र मोदीको ट्विटमा राहुल गान्धी, मायावती र ममतालाई ट्याग, निर्वाचन सफल बनाउने अपिल

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २९, २०७५

छिमेकी भारतमा आगामी लोकसभा निर्वाचनको घोषणा भएपश्चात् प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर सबैलाई अचम्मित तुल्याएका छन् । 

मोदीले आज बिहान विभिन्न ३१ ट्विटमार्फत् देशका नेता, कलाकार, खेलाडी, धर्मगुरु तथा मिडियासँग चार आग्रह गरेका छन् । मोदीले आफ्नो यस ट्विटमा भारतका विपक्षी पार्टीका नेता राहुल गान्धीसँगै मायावती, ममता बनर्जी, शरद पवार, अखिलेद यादव, तेजस्वी यादव, एम.के. स्टालिन, नवीन पटनायक, कुमार स्वामी, वाइएस जगन, चन्द्रबाबु नायडु, जगमोहन रेड्डी, नीतिश कुमार, रामविलास पासवान, पवन चाम्लिङ, आदित्य ठाकरे आदिलाई ट्याग गरेका छन् । उनले ट्विटमा लेखेका छन्, ‘आउनुस्, एउटा यस्तो वातावरण बनाऊ, जहाँ भोटर कार्ड पाउनु र भोट खसाल्नु गर्वको विषय बनोस् । यसलाई लिएर सबै उत्साहित बनुन् । खासगरी १८ वर्ष उमेर पुगेका पहिलो पटक मतदानमा सहभागी हुने युवाका लागि निर्वाचन लोकतन्त्रको उत्सव नै बन्न पुगोस् ।’ 
प्रधानमन्त्री मोदीले ट्विटमार्फत् चार अनुरोध गरेका छन् । 

– आज नै आफ्नो नाम रजिस्टर गर्नुस् । 

– आफ्नो नाम मतदाता सूचीमा जाँच गर्नुस् । 

– आफ्ना भविष्यका कार्यक्रम चिन्तन गरेर निर्धारण गर्नुस् । 

– अरुलाई पनि मतदानका लागि प्रेरित गर्नुस् । 


उनको ट्विटमा भनिएको छ, ‘म बेग्लाबेग्लै क्षेत्रका प्रभावशाली व्यक्ति, जस्तैः राजनीति, उद्योग, खेलकूद र फिल्म जगतका धुरन्धरहरूसँग भन्न चाहान्छु, उनीहरू मतदातालाई जागरुक बनाउने काममा अगाडि आउन । हामी सबै मिलेर हुन गइरहेको निर्वाचनलाई ‘अभूतपूर्व’ बनाइदिऊ । यस पटकको मतदान प्रतिशतले पहिलाका सबै रेकर्ड भंग गरिदेओस् ।’ 

प्रधानमन्त्री मोदीले आफ्नो ट्विट फिल्मी क्षेत्रका हस्ती मोहनलाल नागार्जुन, रणवीर सिंह, वरूण धवन, बिक्की कौशल, मनोज वाजपेयी, शंकर महादेवन, दीपिका पादुकोण, आलिया भट्ट, अनुष्का शर्मा आदिलाई ट्याग गरेका छन् । 

 

यस्तै, भारतीय उद्योग जगतका रतन टाटा, आनन्द महिन्द्रा, अशीव चौहान, कैलाश सत्यार्थी, किरन बेदी, सुदर्शन पटनायकसँग मोदीले मतदान गर्नका साथै अन्य व्यक्तिहरूलाई पनि मतदान गर्न प्रेरित गरिदिन अनुरोध गरेका छन् । 

सलमान खान र आमिर खानलाई ट्याग गर्दै मोदीले लेखेका छन्, ‘यस अवसरमा तपाईंहरूले आफ्नो रोचक शैलीले युवालाई मतदानमा सहभागी हुन प्रेरित गर्नुस्, यसले हाम्रो लोकतन्त्रलाई अझै बलियो र देशलाई समृद्ध बनाउनेछ ।’

यसैगरी अक्षय कुमार, भूमि पेटनेकर र आयुष्कान खुरानालाई ट्याग गर्दै मोदीले लेखेका छन्, ‘अलिकति अझै बल प्रयोग गरेर भोटिङलाई सुपरहिट कथा बनाइदिनुस् ।’ 

क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी, विराट कोहली र रोहित शर्मालाई ट्याग गर्दै उनले लेखेका छन्, ‘तपाईंहरूले क्रिकेटको मैदानमा अनेकौं रेकर्ड बनाउनुभएको छ । अहिले समयको माग छ, तपाईंहरू १३० करोड भारतवासीलाई जागरुक बनाउनुस्, मतदानको महारेकर्ड बनाउन भोटरलाई अभिप्रेरित गर्नुस् ।