चिनी रोग र दीर्घकालीन रोग : यसले मिर्गौला, आँखा, स्नायु र छालामा पुर्‍याउने गम्भीर खाले क्षति

चिनी रोगबाट पिडित व्यक्तिहरुलाई विभिन्न किसिमका रोगहरु लाग्न सक्छन् ।यी रोगहरुबाट बच्न चिनी रोगलाई राम्ररी नियन्त्रण गर्नु आवश्यक छ ।

चिनी रोगमा दुई प्रकारका दीर्घकालिन रोगहरु पाईन्छन् । मसिना रगतका नलीहरु प्रभावित भएर हुने रोगहरुलाई माइक्रोभास्कुलर र ठूला रगतका नलीहरु प्रभावित हुने रोगहरुलाई म्याक्रोभास्कुलर रोग भनिन्छ । आँखाको रेटिना प्रभावित हुने रोग अर्थात रेटिनोपेथी,  स्नायु प्रभावित हुने न्यूरोपेथी र मृगौलारोग अर्थात नेफ्रोपेथी नामक रोगहरु मसिना रगतका नलीहरु प्रभावित भएर हुन्छन् । करोनरी आर्टरी डिजिज,सेरेब्रोभास्कुलर डिजिज र पेरीफेरल आर्टरी डिजिज  ठूला रगतका नलीहरु प्रभावित भएर हुने रोगहरु हुन । 

डायवेटिजमा नेत्ररोग

चिनी रोगीहरुमा मोतीबिन्दु, जलबिन्दु र रेटिनाका रोगहरु पाइन्छन् । रेटिना आँखा भित्रको एउटा अत्यन्तै संवेदनशिल भाग हो । मानिसको दृष्ट्रि स्वस्थ  रेटिनामा भर पर्छ । रेटिनामा रगत पुर्‍याउने साना रगतका नलीहरु प्रभावित हुने अवस्थालाई रेटिनोपेथी भनिन्छ । यी रगतका नलीहरु फुटेर रेटिनामा रक्तश्राव भयो भने दृष्ट्रि कमजोर हुन्छ । चिनी रोगमा रेटिना भए नभएको नेत्रविशेषज्ञहरुले आँखा जाँचेर मात्र पत्ता लगाउन सक्छन् । यसर्थ चिनी रोगीहरुले  समय समयमा आँखा जाँच गराउनु अति आवश्यक छ । समयमा नै रेटिनाको रोग लागेको पत्ता लाग्यो भने  हिजोआज लेजर प्रयोग गरेर दृष्ट्रि जोगाउन सकिन्छ ।

आँखा भित्रको भिट्रस भागमा एण्टीभास्कुलर इण्डोथेलियल ग्रोथ फ्याक्टर इन्हीविटर को सुई दिएर पनि डायवेटिजमा हुने भ्याकुलर इडिमाको उपचार गरिन्छ । म्याकुला रेटिनाको बीचभागमा हुन्छ र यसले मानिसलाई हेर्ने शक्ति दिन्छ ।

विश्वमा सबभन्दा ज्यादा मृत्युहुने दश कारणहरुमा चिनी रोग सातौं कारण भएको विभिन्न अध्ययनहरुले देखाएको छ । संसार भरिका ३४.६ प्रतिशत चिनी रोगीहरुमा रेटिना प्रभावित भएको पाइएको छ । विश्वस्वास्थ्य संस्थाका अनुसार ३.७ करोड अन्धोपन बाट पीडित मानसिहरु मध्ये ४.८ प्रतिशत चिनी रोगको कारण भएको उल्लेख गरेको छ । 

राजिभ रमन र उनका सहयोगीहरुले चिनाइमा गरेको एक अनुसन्धानले ४० वर्ष भन्दा ज्यादा उमेर भएका १८ प्रतिशत चिनी रोगीहरुमा रेटिना प्रभावित भएको पाईएको थियो । नेपालमा एम.डी भट्टराई र सहयोगीहरुले गरेको अध्ययन  अनुसार ४० वर्ष माथिका १९ प्रतिशत चिनी रोगीहरुमा रेटिना रोगग्रस्त भएको पाइएको छ ।

साना रगतका नलीहरु प्रभावित भएर हुने रेटिनाको रोग, मृगौला र स्नायु रोगहरुलाई नियन्त्रण गर्न चिनी रोगलाई राम्ररी उपचार गर्नु पर्छ भन्ने विषयमा दुईमत छैन । डिसीसिटी अर्थात डायवेटिज कन्ट्रोल कमल्पिकेसन ट्रायल पहिलो किसिमको चिनी रोगीहरुलाई समावेस गरेर अमेरिकामा  अध्यायन गरिएको थियो ।  चिनी रोगको इन्टेन्सिभ उपचार गर्दा रेटिनोपेथी, नेफ्रोपेथी र न्युरोपेथीमा एकदमै फायदा भएको कुरा यो अध्ययनले देखाएको छ ।

गोडाका रक्तनलीहरु पनि चिनी रोगमा प्रभावित हुन्छन् । रगतका नलीहरु साँगुरियर गोडामा नापिएको रक्तचाप कम हुन्छ । रक्त नलीहरुलाई छाम्दा नभेटिन सक्छन् । रगतकानलीहरु रोगग्रस्त हुँदा गोडामा रक्तसञ्चार नभएर गोडाका औलाहरु र पैतालामा घाउको सम्भावना हुन्छ । रगतका नलीहरु सागुरिएर रक्तसञ्चार कम हुदा हिड्दा दुख्ने र आरम गर्दा दुखेको कम हुने गर्छ । केही प्रतिशत रोगीहरुलाई आरम गरिरहदा पनि गोडा, पिडुला अथवा तिघ्रा दुख्छ । 

युकेपिडियस अर्थात युनाईटेड किङ्डम प्रोस्पेटिभ डायवेटिक स्टडी दोस्रो किसिमको चिनी रोगीहरुलाई समावेस गरेर वेलायतमा गरिएको अध्ययन हो ।  यो अध्ययनले चिनी रोग राम्ररी नियन्त्रण गर्दा माइक्रोभास्कुलर डिजिजलाई फाइदा हुने देखाएता पनि मुटुरोगमा फाइदा पुगेको भने पुष्टि गर्न सकेन ।

ग्लाइकेटेड हेमोग्लोविन ६ प्रतिशत भन्दा कमलाई इन्टेन्सिभ उपचार मानिन्छ । यसरी ग्लाईकेटेड हेमोग्लोविन ६ प्रतिशत भन्दा कम हुँदा रगतमा ग्लुकोज कम हुँदाका लक्षणहरु देखा पर्न सक्छन् । यसर्थ अमेरिकन डायवेटिज एसोसियसन र डायवेटिज अध्ययन गर्ने यूरोपियन सोसाइटीले ग्लाईकेटेड हेमोग्लोविनलाई ७ प्रतिशत भन्दा कम राख्ने सल्लाह दिएका छन् । एक्सन टु कन्ट्रोल कार्डियो भास्कुलर रिस्क इन डायवेटिज  (ACCORD)  ट्रायलले ग्लाइकेटेड हेमोग्लोविन ७–७.९ प्रतिशत राख्नु पर्छ भनेको पाइन्छ । 

डायेवेटिजमा मृगौला रोग 

डायबेटिजद्वारा पीडित महिला तथा पुरुषहरुमा मृगौला रोग हुन सक्ने सम्भावना धेरै हुन्छ । यसर्थ समयमा नै चिनी रोगलाई राम्ररी नियन्त्रण गर्नु पर्छ भनिएको हो  । चिनी रोग राम्ररी नियन्त्रण गर्न ग्लाइकेडेट हेमोग्लोबिनलाई ७ प्रतिशत भन्दा कम खाली पेटको रक्त ग्लुकोज ९० देखि १२० मिलिग्राम र खाना  खाएको २ घण्टापछिको रक्त ग्लुकोज १४० देखि १६० मिलिग्राम राख्ने प्रयत्न गर्नु पर्छ । माथि उल्लेख गरिए अनुसारको रक्त ग्लुकोज राख्न खाने ओखती अथवा इन्सुलिनको मात्रा तलमाथि पार्न पर्छ । 

हिसाब गरेर आएको ग्लोमेरुलर फिल्ट्रेसन ६० मिलीलिटर भन्दा कम अथवा पिसाबको अल्वुमिन क्रियाटिनिन रेसियो ३० मिलिग्राम/ग्राम अथवा यो भन्दा ज्यादा अथवा दुबै पाइयो भने क्रनिक किडनी डिजिज भएको मानेर राजेस राजपुत र उनका साथीहरुले गरेको अनुसन्धानको नतिजा सन् २०१९ मा डायवेटिज र मेटावोलिज्जमको जर्नलमा प्रकासित  गरेका थिए ।  यो नतिजा अनुसार दोस्रो किसिमको चिनी रोगमा दीर्घकालीन मृगौलारोग ४८.४ प्रतिशतलाई भएको पाईएको छ ।

डायवेटिजमा हुने स्नायुरोग

चिनी रोगीहरुलाई स्नायु रोग हुन सक्छ । पैतला झमझम गर्नेे र पोल्ने यसको मुख्य लक्षण हो । चिनी रोगमा स्नायु प्रभावित भएर दुखेको गोडा हिडडुल गर्दा निको हुन्छ । चिनी रोगद्वारा गोडाका स्नायुहरु प्रभावित हुँदा छोएको थाहा हुदैन । कडा चिजले घोचेको पनि थाहा नहुन सक्छ । टुनिङ्फोर्कको भाइव्रेसन, तातो र चिसो पनि थाहा हुँदैन । यसै कारणले गर्दा खाली खुट्टा हिड्दा पैतालामा चोट लागेर घाउ हुने सम्भावना हुन्छ । घाउ भएको ठाउमा जिवाणुद्वारा संक्रमण हुन सक्छ । 

मैले मेरा सहयोगी साथीहरुसँग मिलेर गरेको अध्ययनका अनुसार ५८.९ प्रतिशत दोस्रो किशिमको चिनी रोगीहरुलाई स्नायु रोग लागेको पाइएको छ । चिनी रोगीहरुमा स्नायुलाई प्रभावित हुन नदिन चिनी रोगलाई राम्ररी नियन्त्रण गर्नु पर्छ । 

चिनी रोगमा ठूला रगतका नलीहरु रोगग्रस्त भएर हुने रोगहरुमा अल्प रक्तप्रवाह हृदय रोग, पक्षघात र गोडाका रक्तनलीहरुमा प्रभाव पार्ने रोगहरु पर्छन् । चिनी रोगीहरुमा  हृदयघात गराउन सक्ने मुटुरोग हुने सम्भावना दुई गुणा ज्यादा हुन्छ । पुरुषमा भन्दा चिनीरोग हुने महिलाहरुमा अल्परक्तप्रवाह हृदयरोग ज्यादा हुन्छ । तीनवटा करोनरी आर्टरीहरु प्रभावित हुने अवस्थालाई ट्रिपल भेसल डिजिज भनिन्छ । यस किसिमको मुटुरोग चिनी रोगीहरुमा ज्यादा हुन्छ । चिनीरोगीहरुलाई हृदयरोग हुने सम्भावना ज्यादा भएकोले चिनी रोगलाई अल्परक्त प्रवाह हृदयरोग सरह मानिन्छ । पहिलो किसिमको चिनी रोगलाई राम्ररी नियन्त्रण गर्दा हृदयघात हुने सम्भावना कम भएको कुरा अध्ययनहरुले देखाएको भएता पनि दोस्रो किसिमको चिनी रोगमा पुष्टि भएको छैन । 

मस्तिष्कलाई रक्तसञ्चार गर्ने रगतका नलीहरु चिनी रोगमा दुई गुणा ज्यादा प्रभावित हुन्छन्  जसको कारणले पक्षघात हुन्छ । मस्तिष्कमा रक्तसञ्चार गराउने क्यारोटिड आर्टरी साँगुरो हुनेहरुलाई पनि पक्षघात हुन सक्छ । चिनी रोगीहरुको रगतमा रगत जम्न मद्दत गर्ने पदार्थहरु ज्यादा हुने भएकाले मस्तिष्का रक्तसञ्चार गर्ने रगतका नलीहरुमा रगत जमेर पक्षघात हुन सक्छ । हृदयघात र पक्षघातका साझा कारणहरुमा उच्चरक्तचाप, डायवेटिज, धुम्रपान, नराम्रो कोलेस्टोरेल, ज्यादा रक्त होमोसिष्टिन, मोटोपन, जीवाणु र विषाणुद्वारा संक्रमण र व्यायम नगर्ने वानी पर्छन् ।

 यी कारणबाट मुक्ती पाउने उपायहरु अपनाउनाले  दीर्घायु जीवन प्राप्त गर्न सकिन्छ । एक/दुई पेग मदिरापान पक्षघात र हृदयघातबाट बचाउन मद्दत गर्छ भने अधिक सेवन स्वास्थ्यको लागि हानिकारक हुन्छ । 

गोडाका रक्तनलीहरु पनि चिनी रोगमा प्रभावित हुन्छन् । रगतका नलीहरु सागुरियर गोडामा नापिएको रक्तचाप कम हुन्छ । रक्त नलीहरुलाई छाम्दा नभेटिन सक्छन् । रगतकानलीहरु रोगग्रस्त हुँदा गोडामा रक्तसञ्चार नभएर गोडाका औलाहरु र पैतालामा घाउ हुने सम्भावना हुन्छ । रगतका नलीहरु सागुरिएर रक्तसञ्चार कम हुदा हिड्दा दुख्ने र आरम गर्दा दुखेको कम हुने गर्छ । केही प्रतिशत रोगीहरुलाई आरम गरिरहदा पनि गोडा, पिडुला अथवा तिघ्रा दुख्छ । 

गोडामा रगत पुर्‍याउने रगतका नलीहरु सागुरिएको पत्ता लगाउन गोडा र पाखुराको सिष्टोलिक रक्तचापलाई जाँच गर्नु पर्छ । गोडाको सिष्टोलिक रक्त चापलाई पाखुरोको सिष्टोलिक ब्लडप्ररेसरले भाग गर्दा आउने अंकलाई एंङ्कल व्रेकियल इन्डेक्स भनिन्छ । सामान्यतया पाखुराको भन्दा गोडाको सिष्टोलिक ब्लडप्रेसर ज्यादा हुने भएकाले एंङ्कल व्रेकियल इन्डेक्स एक भन्दा बढी हुन्छ । 

चिनी रोगीहरुका गोडाका रक्तनलीहरु सागुरिंदा यो इन्डेक्स ०.९ प्रतिशतभन्दा कम हुन्छ । केही प्रतिशत चिनी रोगीहरुमा गोडाका रक्तनलीहरुमा क्यालसियम जम्मा भएर कडा हुन्छन्  र यस्तो अवस्थामा एंङ्कल व्रेकियल इन्डेक्स पत्ता लगाउन सकिदैन । यस्तो अवस्थामा गोडाका बुढी औलाको रक्तचाप डप्लर प्रविधिबाट नापेर टोवीआई अर्थात टोब्रेकियल इन्डेक्स पत्ता लगाउन सकिन्छ । गोडाको बुढी औलोमा रक्त सञ्चार गर्ने रगतको नलीमा क्यालसियम जमेको हुँदैन । 

रगतका नलीहरु साँगुरिएको डप्लर प्रविधिले पनि पत्ता लाग्छ । सिटी स्क्यानद्वारा एञ्जियोग्राफी गरेर गोडाका रक्तनलीहरु सागुरिएको पत्ता लगाउन सकिन्छ । सागुरिएका रगतका नलीहरुको भेन वाइपास ग्राफ्ट शल्यक्रिया गरेर उपचार गरिन्छ । चिनी रोगीहरुलाई छालाका विभिन्न प्रकारका रोगहरु पनि हुने सम्भावना हुन्छ । 

डायवेटिजमा हुने छाला रोगहरु

डायवेटिजबाट पीडित महिला तथा पुरुषहरुलाई धेरै किसिमका चर्मरोग हुने सम्भवना हुन्छ । प्राय गरेर छालाका रोगहरुले शरिरलाई खतरा पुराउदैनन् र चिनीरोग राम्ररी नियन्त्रण गर्नाले छालारोग निको हुदै जान्छ । जिवाणु जनित चर्मरोगमा एण्टिवायोटिक प्रयोग गर्नु पर्ने हुन्छ । फङ्गसद्वारा संक्रमण हुँदा पनि औषधिको आवश्यक पर्छ  । करिब ८० प्रतिशत चिनी रोगीहरुमा छाला प्रभावित हुन सक्छ । चिनी रोगीहरुमा पाईने छाला रोगहरु निम्न प्रकारका छन् ।

१. जीवाणु जनित चर्मरोग– कार्वङ्कल र एब्सेस

२. फङ्गसद्वारा संक्रमण–प्राय गरेर गुप्ताङ्गको संक्रमण हुनुको साथै चिलाउने गर्दछ
३. छालामा डावर आउन सक्छ ।    
४. हात गोडामा नदुख्ने फोकाहरु कहिले काँही देखा पर्दछन् ।
५. नेक्रोवायोसिस लिप्वाईडका– पहेंलो, रातो अथवा खैरो छालारोग  देखा पर्छ ।  पहिलो किसिमको चिनीरोगमा यो छालारोग हुन्छ ।
६. जानथेलेस्मा – आँखाका ढकनीमा पाईन्छ 
७. एकान्थोसिस नेग्रिकान्स – गर्धनको छाला कालो हुन्छ ।
८. ग्रानुलोमा एनुलेर – रातो रंगको छालारोग चिनीरोगहरुलाई हुन सक्छ । चिनीरोग नभएका व्यक्तिहरुलाई पनि यो चर्मरोग हुन्छ ।
९. डिजिटल स्क्लेरोसिस– चिनीरोगीहरुमा हुने यो छाला रोगमा हाथका औंला र हाथ पछाडि तिरको छाला बाक्लो हुन्छ ।
१०. इरप्टिभ जान्थोमेटोसिस– चिलाउने, दुख्ने, मसिना पहेँला दानाहरु तिघ्रा र शरीरका अन्यभागहरुमा पाउन सकिन्छ । 
११. स्किन ट्याग (Skin Tags) – आँखाको ढकनी र गर्धनमा छालाका लुम्रा पाईन सकिन्छ ।
१२. Dermopathy  – नली खुट्टामा देखिने छालाको रोग ।
१३. Rubeosis Facei  – रगतका मसिना नलीहरु प्रभावित भएर रातो अनुहार हुने अवस्था पनि कहिलेकाँही चिनीरोगीहरुलाई हुन सक्छ ।
१४. सेतो छाला हुने भिटिलेगो नामक चर्मरोग पहिलो किसिमको चिनीरोगमा हुन सक्छ ।

यो पनि 

चिनी रोग : के कारण लाग्छ ? लागेको कसरी थाहा पाउने ? र कति प्रकारका हुन्छन् ?

चिनी रोगीहरूको सङ्ख्या : नेपालमा १५ देखि १९ र विश्वमा करिब ३ प्रतिशत जनसङ्ख्या पीडित !

चिनी रोग : जसका कारण देखिने अल्पकालीन बिमार, लक्षण र उपचार


प्रा.डा. डिबी कार्की,बरिष्ठ मुटुराेग विशेषज्ञ हुनुहुन्छ ।