सामाजिक दूरी राख्दै, मास्क, स्यानिटाइजर, पञ्जाको प्रयोग गरेर व्यवसाय सञ्चालन गरिने

सामाजिक दूरी राख्दै, मास्क, स्यानिटाइजर, पञ्जाको प्रयोग गरेर व्यवसाय सञ्चालन गरिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ८, २०७७

काठमाडौँ । नेपाल महिला चेम्बरले स्वास्थ्य सुरक्षा अपनाएर व्यापार व्यवसाय गर्नुपर्ने बताएको छ ।

महिला चेम्बरले २०७७ असार ७ गते आइतबार यहाँ आयोजना गरेको ‘बन्दाबन्दीका कारण महिला उद्यमशीलतामा देखिएको चुनौती’ विषयक कार्यशाला गोष्ठीका वक्ताले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपालमा कोभिड–१९ को सङ्क्रमण बढेको भन्दै विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सञ्चालन गर्न सबैलाई आग्रह गर्नुभयो । 'सामाजिक दूरी कायम राख्दै, मास्क, स्यानिटाइजर, पञ्जाको प्रयोग गरेर व्यवसाय सञ्चालन गरेमात्र कोरोना सङ्क्रमण फैलन सक्दैन, उश्रेष्ठले भन्नुभयो ।

महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्माले कोभिड–१९ का कारण उद्यमी महिलाको व्यवसायी जीवन कष्टकर हुँदै गएको बताउनुभयो । कोरोनाका कारण व्यापार व्यवसायमा समस्या हुँदै गएको उहाँको भनाइ थियो । महासचिव लीमा अधिकारीले अहिलेको अवस्थामा उद्योग व्यापारको क्षेत्रमा प्रविधिको उपयोगिता बढ्दै गएको बताउनुभयो । आगामी दिनमा प्रविधिका माध्यामबाट व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

साना तथा मझौैला उद्योग तथा व्यापारका क्षेत्रमा सक्रिय उद्यमी महिलालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यशालामा देशभरका ५० महिला उद्यमीको सहभागिता रहेको थियो ।