क्याप्टेन फुन्सुक तासीको अनुभव : चिनियाँ सेना भन्थे ‘पोस्ट छोड यो जमिन न तिम्रो न हाम्रो हो भन्थे’

क्याप्टेन फुन्सुक तासीको अनुभव : चिनियाँ सेना भन्थे ‘पोस्ट छोड यो जमिन न तिम्रो न हाम्रो  हो भन्थे’

लोकसंवाद संवाददाता  |  विदेश  |  असार ८, २०७७

लेह सहरबाट १५ किलोमिटर टाढा रहेको गाउँमा बस्छन्, क्याप्टेन फुन्सुक तासी । सन् १९६२ मा भारत–चीन युद्धका क्रममा उनी गलवान घाँटीमा तैनाथ थिए । क्याप्टेन तासी उमेरले ८४ वर्ष पुगे । उनी स्मरण गर्छन्, एक दिन उनलाई पुरै सैनिक युनिट लिएर दौलत बेग ओल्डी र गलवान जान आदेश आयो । उनी आफ्नो सैनिक युनिट लिएर लेहदेखि हिँडेर दौलत बेग ओल्डी सेक्टर र फेरि गलवान घाँटी सम्म पुगे । यो बाटो करिब २५० किलोमिटर थियो । क्याप्टेन तासी भन्छन्, ‘राशन–पानी बोक्नका लागि घोडा र याक हुन्थे, तर हतियार हामी आफैंले पिठ्यूमा बोकेर हिड्थ्यौं ।’ 

क्याप्टेन तासी सेनाको १४ जेएन्डके मिलिसियामा भर्ती भएका थिए । युद्धको समयमा उनी अल्फा कम्पनीमा थिए । तासी भन्छन्, ‘हामी गलवान पुग्यौं, हामी एलएसीमा आएका थियौं र उता पारी चिनियाँ सेना पनि आएका थिए । हामी दुवै आफ्नो बंकर बनाइरहेका थियौं । २–३ महिना त्यही बसिरह्यौं । डम्पिङ क्षेत्रमा खाने कुरा आउँथ्यो । हेलिकोप्टरबाट सामान झारिन्थ्यो, याक र खच्चरबाट पनि सामान पु¥याइन्थ्यो ।’

 चिनियाँ सेना र भारतीय सेनाबीच चलिरहेको १९६२ को त्यो युद्धलाई सम्झिएर क्याप्टेन तासीको अनुहारमा मुस्कुराहट आउँछ । उनी भन्छन्, ‘चिनियाँ सैनिक हामीलाई लाउड स्पिकरमा गीत सुनाउँथे । तन डोले मन डोले गीत बजाउँथे उनीहरुले र जब हाम्रो ध्यान उनीहरुतिर जान्थ्यो, तब लाउड स्पिकरबाट भन्थे–चिसो मौसम सुरु हुँदैछ, तिमीहरु पछि जाओ, हामी पनि जान्छौं । यो जमिन तिमीहरुको पनि हैन, हाम्रो पनि हैन ।’

तासीका अनुसार चिनियाँ सैनिक पोस्ट उचाइमा थियो र हाम्रो तल थियो । तर जुन नालाबाट चिनियाँ सेनाले पानी लैजान्थे, हामी पनि त्यहीबाट ल्याउँथ्यौं । जब उनीहरु पानी लिएर उकालो लागेपछि हामी लिन जान्थ्यौं ।’

गलवानबाट बाहिर निस्किदाका क्षणहरु अझै उनको दिमागमा ताजा छन् । उनी भन्छन्, ‘हामीलाई पोस्ट छाड्न आदेश आएको थियो । अँध्यारो भएपछि हामी तयारी गर्न थाल्थ्यौं । केही मानिस बाँकी रहेको सामान ल्याउनका लागि पछि छाड्यौं । यो क्षेत्र चीनको कब्जामा जानेवाला थियो । त्यसकारण केही सामान हामीले जलाइदियौं । त्यहाँ निकाल्नका लागि एउटा नाला थियो । त्यो नाला बन्द गरेको भए चिनियाँ सेनाले हामीलाई पक्राउ गर्न सक्थे । त्यसकारण त्यहाँबाट निस्कनुपर्‍यो । चीनको योजना हाम्रो पोस्टबाट हामीलाई समात्ने थियो । त्यसपछि हामी विस्तारै विस्तारै रोकिदै फिर्ता भयौं । त्यसपछि कहिल्यै पनि फर्किएर गलवान गइनँ ।’ तासी भन्छन्, गलवान नाला दुवै तिर सम्म छ र बिचमा एक नाला रहेको छ । नालाको आसपास गहिरो खाडलहरु छन् । नालामा पानी चीनतिरबाट आउँछ । नाला ठूलो छैन, गर्मीमा पानी हुन्छ, चिसो मौसममा जम्छ ।

क्याप्टेन तासी १९८८ मा रिटायर भएका थिए । त्यसपछि उनी लेह नजिकै रहेको गाउँ स्टोकमा बस्दै आएका छन् । गलवानमा उनीसँगै युद्धमा सहभागी भएका अरु पनि सैनिक यो गाउँ र आसपासका क्षेत्रमा बस्छन् । तासी भन्छन्, ‘यदि युद्धको अवस्था भएमा दुवैतिरका सेनाले ठूलो क्षति भोग्नुपर्ने हुन्छ ।’