सम्झनामा अंगुरबाबा : छोरी भएकाेले क्याम्पस भर्ना हुन बञ्चीत तर पहिलाे महिला प्राचार्य बन्न सफल

सम्झनामा अंगुरबाबा :  छोरी भएकाेले क्याम्पस भर्ना  हुन बञ्चीत तर  पहिलाे  महिला प्राचार्य बन्न सफल

डा. सदानन्द कडेल  |  शिक्षा  |  असार ८, २०७७

एउटा शिक्षाकर्मीको हैसियतले नेपालमा योगदान गरेका शिक्षा सारथीहरु बारे खोजी गर्ने क्रममा भेट भएका दर्जनौं आदरणीय गुरुहरु मध्य अधिकांशले महिला शिक्षाको सन्दर्भमा अंगुरबाबा जोशीको नाम लिनु भएको थियो ।  त्यसपछि मलाई अंगुरबाबा बारे थप खोजी गर्दै केही अभिलेखीकरण गर्ने इच्छा जाग्यो ।  फेसबुक मार्फत अंगुरबाबाको टेलिफोन नम्बर प्राप्त गरेर आफ्नो उद्देश्य सहित उहाँसंग भेट गर्ने चाहना ब्यक्त गरें ।  टेलिफोन उठाउँदै उहाँले भन्नु भयो- ‘मेरो जीवनीको किताव किनिसक्नु भएको रहेछ ।  खुशी लाग्यो । त्यसलाई पढ्नु होला । मलाई अहिले अलि सन्चो छैन । दश-बाह्र दिन पछि फेरी यहि नम्बरमा फोन गर्नुहोला । 

 'मैले त्रिचन्द्र क्याम्पसमा विज्ञान बिषय पढ्न छोरी भएको कारणले नपाएको हुनाले आफु क्याम्पस प्रमुख हुँदा पद्मकन्या क्याम्पसमा छोरीहरुको लागि विज्ञान बिषय पढाउन सुरु गरेको हुँ, यसमा मलाई गर्व छ’ बिरामी भए पनि उहाँको बोली जोशिलो र स्पष्ट थियो ।  रुचिको अनुसन्धानको बिषयलाई नुन तेल ब्यबस्थाको खातिर गर्नैपर्ने बाध्यकारी खेतालागिरी अनुसन्धानले छायाँमा पारीदिएकोले अंगुरबाबालाई फेरी फोन गर्न वा भेट्न पाएकै थिइन । अस्ति अचानक उहाँको देहावसान भएको दुखद खबर फेसबुकबाटै थाहा पाएँ । यसरी मेरो अंगुरबाबालाई फेरी भेट्ने वा फोन गर्ने धोको अधुरै रहन गयो ।  तथापी, आज तेस्रो दिन उहाँलाई लिपिबद्ध श्रद्दासुमन अर्पण गर्ने अभिप्रायले उहाँकै आत्मकथाको पुस्तक, टेलिभिजनका अन्तर्वार्ता तथा अन्य स्रोत सामग्रीहरुको सहयोगमा यो आलेख तयार गरेको छु ।  अंगुरबाबा शैक्षिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक, कानुनी र राजनैतिक क्षेत्रमा योगदान गर्नु भएकी बहु-आयामिक व्यक्तित्व हुनु हुन्छ ।  उहाँको ब्रिहंगम व्यक्तित्वको बारेमा प्रशंशा, आलोचना र समालोचना आफ्नो ठाउँमा होलान् तर यो आलेख मार्फत केवल शिक्षा क्षेत्रमा उहाँको योगदानको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ  ।  

   

(२३ साउन १९८९ – ६ असार २०७७)

संगै एसएलसी पास गर्ने पहिलो नेपाली जोडी 

एघार बर्षको उमेरमा १२ बर्षका बलराम जोशीसँग अंगुरबाबाको विवाह भएको थियो । विवाह पश्चात पनि दरबार हाइस्कुलमा पाँच कक्षामा पढ्ने उहाँका श्रीमानले आफ्नो अध्ययनलाई अगाडी बढाई  रहनुभयो ।  अंगुरबाबाको भने स्कुल जाने परिस्थिति नै थिएन किनकि त्यतिबेला दरवार स्कुलको ढोका बालिकाहरुको लागि बन्द थियो ।  प्राइभेट परिक्षार्थीको रुपमा एसएलसी दिने पारिवारिक निर्णय अनुसार उहाँले घरैमा पढन थाल्नु भयाे ।  स्कुलमा पढेका बलरामले गणित, इतिहास र भूगोलको तयारीको लागि मद्दत गर्नु भयाे ।  अंगुरबाबाको बुवाले अंग्रेजी र केहि गुरुहरुले घरमै आएर अन्य बिषयहरु सिकाउनु भयो । हाल १०६ बर्षको उमेरमा पनि सकुशल रहनु भएकी अंगुरबाबाकी सासु चन्द्रकुमारी जोशी ८ महिनाको एकमात्र सन्तान बलराम काखमा भएका बेला १५ बर्षको कलिलो उमेरमै बिधवा हुनु भएको थियो । उहाँले बुहारीलाई छोरी जस्तै ठानेर पढाउनको लागि राम्रो वातावरण बनाइदिनु भएको थियाे ।  वि.सं. २००४ सालको एसएलसी परिक्षा अंगुरबाबाले द्वित्तीय श्रेणीमा उत्तीर्ण गर्नु भयो भने उहाँका श्रीमान्  बलराम प्रथम श्रेणी सहित एसएलसी बोर्डमा पाँचौं  हुनु भएको थियो । यसरी उहाँको जोडी नेपालमै सँगै एसएलसी पास गर्ने पहिलो जोडी बन्यो ।  त्यस्तै, उहाँले नेपालमा एसएलसी पास गर्ने दोस्रो ब्याचकी बालीकाको रेकर्ड समेत राख्न सफल हुनुभयो ।  उहाँसंगै  स्व‍‍. सहाना प्रधान (बाम मोर्चाको पुर्व अध्यक्ष तथा पुर्व उपप्रधानमंत्री), साधना प्रधान (पुर्व प्रधानमन्त्री मनमोहन अधिकारीकी श्रीमती) र भुवन राज्यलक्ष्मीले सोही साल एसएलसी पास गर्नु भएको थियो । अंगुरबाबाले आफ्नो पुस्तकमा उहाँ भन्दा अघि एसएलसी पास गर्ने (२००२ साल) नेपालकै पहिलो छात्राको नाम गौरी राणा उल्लेख  गर्नुभएकाे छ  भने प्रकृति अधिकारीले आफ्नो किताव 'एसएलसीको इतिहास' मा ती छात्राको नाम लेखराज्य लक्ष्मीदेवी भएको  उल्लेख गर्नु भएकाे छ ।

अंगुरबाबाले निकै ठुलो संघर्ष गरेर आफ्नो अध्ययनलाई निरन्तरता दिंदै सफलता चुम्नु भएको थियो ।  घरमै पढेको भरमा आज भन्दा ७३ बर्ष अघि द्वितीय श्रेणीमा एसएलसी पास गर्नु सजिलो थिएन । डेढ महिनाको सुत्केरीले प्राइभेट परिक्षा दिएर आईए पास गर्नु,  ६ महिनाको छोरो छोडेर बीए पढ्न वनारस जानु,  विचैमा गर्भवती भएर नेपाल आई छोरी पाएर २ महिनाको छोरी आमालाई छोडेर पुनः वनारस गई अध्ययनलाई निरन्तरता दिनु र सरासर द्वितीय श्रेणीमा बीए पास गर्नु चानेचुने कुरा होइन ।  कृत संकल्पित भएर मेहनत गरे गर्भवती वा सुत्केरी भएपनि पढाईलाई निरन्तरता दिन सकिने रहेछ भन्ने शिक्षा अंगुरबाबाको संघर्षपूर्ण जीवन यात्राबाट लिन सकिन्छ ।  

छोरी भएकै कारण त्रिचन्द्र क्याम्पसमा भर्ना हुन बन्चित 

कहिल्यै विधालय नगईकन दोस्रो श्रेणीमा एसएलसी पास गर्नु भएकी अंगुरबाबा र एसएलसी बोर्डमा प्रथम श्रेणीमा पाँचौ स्थान ल्याउन सफल बलरामको जोडी साइन्स पढेर ‘म्याडम क्युरी र पियरे क्युरीको जस्तै जोडी बनेर अनुसन्धानका काम गर्ने’ उत्साह र हौसलाका साथ एसएलसी पछि पढ्न मिल्ने एउटामात्र कलेज त्रिचन्द्र क्याम्पसमा भर्ना हुन जानु भएको तर  श्रीमानले तुरुन्तै भर्ना पाउनु भयाे  ।  क्याम्पस प्रशासनले अंगुरबाबाको भर्ना लिन इन्कार गरेर उहाँको उत्साह र जोश माथि तुषारापात गरिदियो ।  आफ्नो संस्मरणमा अंगुरबाबाले लेख्नु भएकाे छ –‘छोरी भएकै कारणबाट म साइन्स पढ्नबाट बन्चित भएँ । त्यतिखेर केटीहरुका लागि न स्कुल थियो न कलेज । यस कुराले म निकै दुखी भएँ ।’ त्यसपछि श्रीमान् त्रिचन्द्रमा आईएससी पढ्न थाल्नु भयो भने अंगुरबाबा प्राइभेट रुपमा आईए अध्ययन गर्न थाल्नु भयाे ।  

एमए पास गर्ने पहिलो नेपाली महिला 

अध्ययनमा अत्यन्तै रुची राख्नु हने अगुरबाबाले आईएको परिक्षा भन्दा डेढ महिना अगाडी सुत्केरी भए पनि जाँच दिन छोड्नु भएन ।  बडासासुले पढाई छोड्न आग्रह गरे पनि, सासुले समेत सुत्केरी अवस्थामा धेरै पढ्दा आँखा बिग्रेलाकी भनेर चिन्ता प्रकट गरे पनि ‘म पढ्छु, केही हुँदैन’ भन्दै परिक्षा दिएर पास हुनु भएकाे थियाे ।  केवल स्नातक तह पढ्ने बेलामा मात्रै उहाँले नियमित विधार्थीको रुपमा बनारस हिन्दु विश्वविद्यालयको महिला कलेज जाने मौका पाउनु भएको थियाे । उहाँ ६ महिनाको छोरो सासुलाई जिम्मा लगाएर बनारस  पढ्नकाे लागि जानु भएकाे थियाे ।  उहाँका श्रीमान् चाही सोहि विश्वविद्यालयको साइन्स कलेजमा अध्यनरत हुनुहुन्थ्यो ।  वनारसमा बीए पढिरहेको बेला उहाँ गर्भवती  हुनुभयाे ।  नेपाल फर्केर छोरी जन्माई २ महिनाको छोरी पनि आमालाई छोडेर अध्ययनलाई निरन्तरता दिन पुन: बनारस  जानु भएकाे थियो । त्यस्तो प्रतिकुल परिस्थितिमा पनि सरासर बिए उत्तीर्ण गरेर वनारस हिन्दु विश्वविद्यालयको सेन्ट्रल हिन्दु कलेजमा भर्ना भएर स्नातकोत्तर तहमा अध्ययन गर्दै सन् १९५४ मा राजनीतिशास्त्रमा एमए पास गर्नु भएको थियाे ।  यसरी नेपालबाट एसएलसी पास गर्ने दोस्रो ब्याचकी छात्रा नेपालमा एमए गर्ने पहिलो नेपाली महिला बन्न सफल  हुनु भएकाे थियो ।  श्रीमान् र भाइसंगै वनारस पढ्न जाने अवसर मिलेकोले नै यस्तो रेकर्ड राख्न उहाँ  सफल हुनु भएकाे थियाे ।   

समुन्द्र पारबाट एमए गर्ने पहिलो नेपाली महिला

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको समरभिल कलेजमा ब्रिटिश संविधानको बिषयमा अध्ययन गर्न छात्रवृति मिलेपछि सन् १९५७ को सेप्टेम्बरमा (२०१४ साल) अढाई बर्षकी कान्छी छोरी सासूलाई छोडेर  अंगुरबाबा काठमाण्डौबाट हवाइजहाजमा पटना, पटनाबाट रेलमा मुम्बई र मुम्बईबाट पानीजहाजमा १७ दिन लगाएर श्रीमान् सँगै लन्डन पुग्नु भएकाे थियाे ।  चार बर्ष बेलायत बसेर उहाँले अक्सफोर्ड विश्वविध्यालयबाट कानुनमा स्नातकोत्तर पास गर्नु भयाे भने मिडिल टेम्पल लन्डनबाट बार एट ल को उपाधी समेत प्राप्त गर्नु भयो । यो उपलब्धी हात पारेसंगै उहाँ समुन्द्र पारबाट एमए पास गर्ने पहिलो नेपाली महिला पनि बन्न सफल हुनु भयाे ।  यस अघि उहाँले नेपालबाटै कानुनमा स्नातकको उपाधी पनि लिन भ्याइसक्नु भएकाे थियाे । 

पहिलो नेपाली महिला प्राचार्य (क्याम्पस प्रमुख) तथा शिक्षामा योगदान  

बि.सं. २०११ सालमा बनारसबाट एमए पास गरेर फर्किने बित्तिकै अंगुरबाबाले डील्लीबजार स्थित एउटा भाडाको घरमा सञ्चलित पद्मकन्या कलेजमा राजनीतिशास्त्र पढाउन थाल्नु भयो ।  उहाँले पढाउने बीए को कक्षामा जम्मा ४ जना छात्राहरु थिए । पद्मकन्यामा बीएको कक्षा उद्घाटन कार्यक्रममा स्वागत भाषण गरे पश्चात नै उहाँ चर्चामा  आउनु भएको थियाे ।  अंगुरबाबाले बेलायतमा पढेर फर्केपछि २०१८ साल जेठदेखी पद्मकन्या कलेजको पहिलो महिला प्राचार्य (क्याम्पस प्रमुख)को रुपमा काम थाल्नु भयाे ।  आफ्नो १८ बर्षे पेशागत जीवनमा १२ बर्ष क्याम्पस प्रमुख भएर महिला शिक्षाको सुधारको लागि अथक प्रयास गर्नु भएको थियाे । 

पद्मकन्या क्याम्पस महिनाको एकपटक स्टाफ मिटिंग गर्ने र त्यसमा बिद्यार्थी प्रतिनिधि पनि राख्ने परम्पराको थलनी गर्ने श्रेय  उहाँलाई जान्छ । डील्लीबजारबाट पद्मकन्या क्याम्पसलाई शंकर देव क्याम्पसमा सार्न र बागबजारमा अहिलेको स्थानमा जग्गा किनेर आफ्नै भवन बनाउन बिशेष पहल गर्नु भएको थियो ।  कीर्तिनिधि बिष्ट शिक्षामंत्री भएको बेला नै नयाँ भवन निर्माणको शिलान्यास  गराउन सफल हुनु भएको थियो ।  क्याम्पस सरस्वतीको मन्दिर भएकोले भवनमा सुनको जलप लगाइएको गजुर राख्ने अवधारणा अंगुरबाबाको नै थियाे ।  नयाँ भवन उद्घाटनको बेला पाँच जना नानीहरुबाट नै शान्ति पाठ गराउने उहाँको योजना भने बरिष्ट गुरुहरुले नमानेको कारण सफल हुन सकेको थिएन । अक्सफोर्ड विश्वविद्यालयको पुस्तकालयबाट उहाँ निकै प्रभावित भएकाले पद्मकन्या क्याम्पसको पुस्तकालयको फर्निचर पनि सकेसम्म त्यस्तै बनाउन प्रयत्न गर्नु  भएको थियाे ।  

आफुले त्रिचन्द्र क्याम्पसमा छोरी भएकै कारण विज्ञान बिषय पढ्न नपाएकोले निकै पीडा बोध भएको र त्यतिबेला कतिपय अविभावकहरु को-एड्जुकेशनवाला कलेजमा छोरी पढ्न नपठाउने सोच राख्ने भएकोले चाहना राख्ने केटीहरु साइन्स अध्ययन गर्नबाट बन्चित नहुन् भनेर पद्मकन्यामा साइन्स बिषय राख्न अथक प्रयास  गर्नु भयाे  र सफल समेत हुनु भयो । पोशाकमा एकरुपता नभएको कारण गरिब परिवारका छात्राहरुलाई मर्का परेको महशुस गरी अंगुरबाबाले नै हरेक छात्रा तथा प्राध्यापक र शिक्षकहरुलाई पोशाकको व्यवस्था गर्ने निर्णय गर्नु भएको थियाे । 

उहाँले आफ्नो आत्मकथामा स्मरण गर्नु भएको छ  –‘लुगा छान्ने काम चाहि विद्यार्थी नानीहरुले गरेका हुन् । गेरु रंगको नेपाली घर्बुनाको कपडा पनि नानीहरुले नै छानेका हुन् ।’ सैद्दान्तिक आस्थाको हिसाबले उहाँ पंचायती ब्यबस्थाकै हिमायती भएको कुरा राजदरवारसंगको उनको निकटताले पुष्टि गर्दर्थ्यो । तथापी पंचायत बिरोधी बन्द हड्तालमा एउटा पनि प्रहरी क्याम्पस भित्र पस्न नदिएको भनेर अंगुरबाबाले गर्वसाथ स्मरण गर्नु भएको थियो  । अंगुरबाबाले क्याम्पस प्रमुखहरु मध्येबाट त्रिभुवन विश्वविद्यालय सभाको सदस्य र प्राज्ञिक परिषदको सदस्यको रुपमा प्रतिनिधित्व गरेर विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधारमा भूमिका निर्वाह गर्नु भएको थियाे । वि. सं. २०३२ सालमा राष्ट्रिय पंचायतको सदस्यमा मनोनित भए पछि राजिनामा गर्नु भएकी अंगुरबाबाले अहिलेसम्म सबैभन्दा सन्तुष्टि मिलेको पेशा नै शिक्षण पेशा भएको उल्लेख गर्नु भएको थियो  । 

जीवनको उत्तरार्धमा उहाँ नेपालको इतिहासमै पहिलो कन्या गुरुकुल खोल्न सक्रिय हुनु भएको थियाे ।  फलस्वरूप बिभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा २०६७ सालमा चितवनको देवघाटमा गार्गी कन्या गुरुकुल स्थापना गरियो । यसको संस्थापक संरक्षक हुनुहुन्थ्याे अंगुरबाबा । यस गुरुकुलमा ‘दलित नानीहरुले पनि हात हल्लाएर वेद पाठ  गर्छन् ।’ साथै, २०५२ सालबाट नेपालमा ग्यान विज्ञानको अध्ययन, अध्यापन र अनुसन्धानमा योगदान गर्ने प्रतिभालाई उत्प्रेरित गर्न ‘डा. बलराम जोशी ग्यान विज्ञान राष्ट्रिय पुरस्कार’ वितरण गर्ने ब्यबस्था मिलाउनु भयो ।  दश लाख रकम जम्मा गरिएको मुद्दती खाताबाट आउने ब्याजबाट प्रत्येक बर्ष ५० हजार १सय १ को पुरस्कार प्रदान गर्ने व्यावस्था गरिएको छ । त्यसपछि २०५४ साल देखि ‘डा. बलराम जोशी सुयोग्य शिक्षक पुरस्कार’ पनि दिन थालिएको छ ।  यसका अतिरिक्त २०५८ सालमा आफ्नो आमा र बुवाको सम्मानमा ‘श्री दीपकुमारी पीताम्बरप्रसाद पन्त समाज सेवा कोष’ र छोरी जस्तै माया गरेर आफुलाई पढाउने सासु तथा स्व. ससुराको स्मृतिमा ‘श्री चन्द्रकुमारी हिमालयराज जोशी स्वास्थ्य सेवा कोष’ स्थापना  गर्नु भएकाे थियो  ।  हरेक कोषमा तीन लाख रकम जम्मा गरिएको र प्रत्येक बर्ष एक/एक जनालाई  २५ हजार १सय १ को समाज सेवा र स्वास्थ्य सेवा पुरस्कार दिने  गरिएको छ  ।    

प्रकाशित कृति तथा पुरस्कार  

शिक्षा र समाज सेवाका अतिरक्त साहित्य तिर पनि अगाडी बढ्नु भएकी अंगुरबाबाका एक दर्जन कृतिहरु तथा अनगिन्ति फुटकर रचनाहरु प्रकाशित छन् । जसमध्य कल्पना (कथा संग्रह, २०३१), भाव तरंग (कविता संग्रह), मुक्तिमुक्त माला (मुक्तक संग्रह, २०६६),  क्यान्सरको बरदान (संस्मरण, २०६७), अक्षर साधना र गोधुलि (आत्मकथा, २०७४)  सुख के, किन, कसरी ? (विचार),  चिन्तन (विचार),  के लेखुँ (२०६७), वृद्धा अवस्था: जीवनको श्रीपेच, ह्यापिनेस (अंग्रेजी पुस्तक),  थट्स इन रुट्स (अंग्रेजीपुस्तक) तथा साइन्स अफ धर्म-एसेंस (खप्तड बाबाको ‘धर्म विज्ञान’ भोलुम ५ को अंग्रेजी अनुवाद) आदि प्रमुख छन् ।  

उहाँले रत्न श्री सुवर्ण पदक, महेन्द्र विद्या भुषण प्रथम, गोरखा दक्षिण बाहु दोस्रो, त्रिशक्तिपट्ट तेस्रो, शुभराज्याभिषेक पदक (२०१३ र २०३१), गद्धी आरोहण रजतमहोत्सव पदक, राष्ट्रिय प्रतिभा पुरस्कार, दीर्घ सेवा पुरस्कार, योगमाया पुरस्कार (२०६८) र जगदम्बा श्री पुरस्कार (२०७१) प्राप्त  गर्नु भएकाे थियाे । 

निचोड 

अंगुरबाबाले निकै ठुलो संघर्ष गरेर आफ्नो अध्ययनलाई निरन्तरता दिंदै सफलता चुम्नु भएको थियो ।  घरमै पढेको भरमा आज भन्दा ७३ बर्ष अघि द्वितीय श्रेणीमा एसएलसी पास गर्नु सजिलो थिएन । डेढ महिनाको सुत्केरीले प्राइभेट परिक्षा दिएर आईए पास गर्नु,  ६ महिनाको छोरो छोडेर बीए पढ्न वनारस जानु,  विचैमा गर्भवती भएर नेपाल आई छोरी पाएर २ महिनाको छोरी आमालाई छोडेर पुनः वनारस गई अध्ययनलाई निरन्तरता दिनु र सरासर द्वितीय श्रेणीमा बीए पास गर्नु चानेचुने कुरा होइन ।  कृत संकल्पित भएर मेहनत गरे गर्भवती वा सुत्केरी भएपनि पढाईलाई निरन्तरता दिन सकिने रहेछ भन्ने शिक्षा अंगुरबाबाको संघर्षपूर्ण जीवन यात्राबाट लिन सकिन्छ ।  

पन्ध्र बर्षकै कलिलो उमेरमा आफ्नो श्रीमान् गुमाएकी, ८ महिनाको बालकलाई एक्लै हुर्काएकी र घरमा एक्लै भएकी सासुले बुहारीलाई आफुसंगै नराखी छोरासंगै वनारस र बेलायत पढ्न पठाई माथी उल्लेखित उमेरका नाति नातिना स्याहार सुसारको जिम्मेवारी लिने उहाँको सासुको महान उदारता र सहयोग स्तुत्य र अत्यन्तै प्रेरणादायी छ ।  हरेक सासुले बुहारीलाई छोरी जस्तै माया गरे वा छोरालाई दिएको अवसर छोरीलाई पनि जुटाईदिए अथवा हरेक बुहारीले सासुलाई आफ्नै आमा जस्तो ब्यबहार गरे हरेक परिवार सुमधुर वतावरणमा रमाउन सक्छ र सफलताको शिखर चढ्न सक्छ भन्ने दृष्टान्त पनि यसबाट देख्न सकिन्छ ।  

आफ्नो पढाइको क्रममा धेरै वटा रेकर्ड राख्नु भएकी अंगुरबाबाले पेशागत जीवनमा पनि रेकर्ड राख्न सफल  हुनुभएकाे छ । वाल्यावस्थामा केटीले सुन्न हुन्न भनिएतापनि गायत्री मन्त्र कण्ठस्थ सुनाउने, कलेजमा छोरीलाई अध्ययन गर्न  बन्देज लगाए पनि साइन्समा भर्ना हुनको लागि जमर्को गर्ने, पद्मकन्याको नयाँ भवन उद्घाटनमा छोरीहरुलाई नै शान्ति पाठ गर्न लगाउन कोशिश गर्ने, पहिलो कन्या गुरुकुल स्थापना गरेर दलित नानीहरुलाई वेद पाठ गर्न लगाउने, क्याम्पसको महत्वपुर्ण निर्णयहरुमा बिद्यार्थी प्रतिनिधिहरुलाई सहभागी गराउने, बिद्यार्थीको पोशाक छान्ने जिम्मा बिद्यार्थीलाई नै दिने तथा (प्रिन्सिपल प्राचार्य) भएपछि प्रिन्सिपल (सिद्धान्त) मा प्रतिबद्ध रहनु पर्छ’ भन्ने मान्यता राख्ने जस्ता अंगुरबाबाका कार्यशैली तथा योगदान सम्मान गर्न लायक छन् । 

 उहाँले आफ्नै रकमबाट विभिन्न किसिमका पुरस्कारहरु स्थापना गरी सम्पति थुपार्ने मात्र हैन समाजलाई केही दिनु पर्छ भन्ने दमदार संदेश पनि दिनु भएको छ ।  घाटीको क्यान्सर, स्तन क्यान्सर, मुटु रोग (पेस मेकर राखेको) तथा अन्य १० किसिमका औषधीहरु खाँदा-खाँदै पनि जीवनको उत्तरार्धमा उहाँले कितावहरु लेख्न पनि भ्याउनु भएकाे छ ।अन्त्यमा, महिला शिक्षाको अग्रणी धरोहर तथा चट्टानी आत्मबलकी धनी अंगुरबाबाका योगदानको सम्मान गर्दै, उहाँ बाट सिक्दै समतामुलक पहुँच र गुणस्तरीय शिक्षा सुनिश्चित अभियानमा नयाँ पुस्ता सरिक हुन सक्नु नै अंगुरबाबा प्रतिको सच्चा श्रद्दान्जली हुनेछ ।