वैकल्पिक माध्यमको पढाइको तगारो : २३ लाख ५७ हजार विद्यार्थी कुनै पनि मिडियाको पहुँचबाट टाढा !

वैकल्पिक माध्यमको पढाइको  तगारो : २३ लाख ५७ हजार विद्यार्थी कुनै पनि मिडियाको  पहुँचबाट टाढा !

निर्जला कक्षपति  |  शिक्षा  |  असार ९, २०७७

‍सरकारले वैकल्पिक माध्यमबाट नेपालभरका सबै विद्यालयका विद्यार्थीको पढाइ सुचारु गर्न निर्देश गरे पनि उपत्यका तथा देशभरका सबै सामुदायिक विद्यालय पढ्ने सबै बालबालिकाले आफ्नो पढाइलाई सुचारु गर्न नसकेका अनेकन् समाचार आउन थालेको छन् ।  

सामुदायिक विद्यालय पढ्ने विद्यार्थी भनेका निम्न आय स्तर भएका, विपन्न वर्ग, घरेलु कामदार र सुकुम्वासीका छोराछोरी नै बढी रहने गरेको छन्।  नन्दी रात्रि विद्यालयमा आफ्नी छोरीलाई पढाई रहेकी शान्ति विश्वकर्मा भन्नुहुन्छ , ‘कोठा भाडामा लिएर बसेकी हुँदा इन्टरनेट छैन, त्यसैले पढाइ भइरेको छ कि छैन, मलाई थाहा छैन । रेडियो र टेलिभिजन पनि आफूसँग छैन । किन्नको लागि पैसा छैन । त्यसैले अब जहिले विद्यालय खुल्छ त्यही बेला देखि छोरी पढ्न पठाउने सोची रहेकी छु ।’ 

सहरमा रहेका धेरै अभिभावकहरू समेत प्रविधि मैत्री छैनन् । यसैगरी सबै कहाँ ल्यापटप र ट्याव हुन्छ  र ? सबैले स्मार्ट फोन पनि बोक्दैनन् । यस्तो अवस्थामा अनलाइन पढाइ गर्न असम्भव जस्तो भइरहेको छ । फेरी सबै ठाउँमा इन्टरनेटको पहुँच पनि छैन र सबै जना यो सुविधा लिन सक्ने अवस्थामा पनि छैनन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार ५५ प्रतिशत घरपरिवारले इन्टरनेटको पहुँच राख्ने भए पनि १३ प्रतिशत विद्यालयले मात्र इन्टरनेटको पहुँच राख्छन् । ४५ प्रतिशत विद्यार्थी अनलाइन वा अन्य प्रकारका मिडियासँग नियमित पहुँचबाट टाढा रहेको अनुमान गरिएको छ । राजधानीका निजी विद्यालयले अनलाइन शिक्षालाई निकै अगाडि बढाइरहेको भए पनि उपत्यका बाहिरका जिल्लामा भने रेडियो र टिभीमा पढाइने शिक्षा समेत विद्यार्थीहरूले लिने अ अवसरबाट वञ्चित  भइरहेका छन् । 

मटुक महतो रंकी देवी आधारभूत विद्यालय जनमुक्ति नगर वटेश्वर वडा नं १ धनुषाका प्रधानाध्यापक राम वृक्ष महतोका अनुसार ‘सरकारले वैकल्पिक शिक्षाबाट पढाउनु भनेको भए पनि यहाँका अधिकांश विद्यालयमा पढाई हुन सकिरहेको छैन । प्रदेश नं २ कोरोनाबाट बढी सङ्क्रमित क्षेत्र भएको हुँदा यहाँका अभिभावकहरू विद्यालय खुलेपछि मात्र आफ्ना नानीलाई विद्यालय पठाउने सोचमा देखिन्छन् ।’ सरकारले बैकल्पिक माध्यमबाट पढाउनको लागि अभिभावकहरूसँग रेडियो, टेलिभिजन र अनलाइनको पहुँच नै छैन । निकै नै न्यून आय स्तर भएका अभिभावक र विद्यार्थी हुँदा इन्टरनेटको पहुँचसम्म पुग्न सकेका छैनन् । यसै गरी यहाँका मानिस रेडियो त्यति सुन्दैनन् । टेलिभिजन पनि सबैका घरघरमा छैनन् ।

कक्षा १ देखि ५ सम्म रहेको उक्त विद्यालयमा विद्यार्थीको सङ्ख्या १७० रहेको छ । कोरोनाको महामारी अहिल्यै हट्ने नदेखेपछि र विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पनि पढाउन नसक्ने भएपछि हप्ताको तीन दिन विद्यार्थीको घरदैलो गएर विद्यार्थी र अभिभावक दुबैसँग कुराकानी गर्ने अनि विद्यार्थीलाई गृहकार्य दिने गरेको पनि प्रधानाध्यापक राम वृक्ष महतोले बताउनु भयो । 

अहिलेको अवस्थामा  रेडियो , टेलिभिजनबाट सरकारले पढाउन सुरु गरिसकेको छ । तर शेयेरकाष्टको सर्वेक्षण अनुसार ५५ प्रतिशत भन्दा बढीले रेडियो सेट नभएकै कारण रेडियो सुन्दैनन् । रेडियो सेटबाट रेडियो सामग्री सुन्नेको सङ्ख्या ४८ प्रतिशत छ । यसै गरी स्कुल जाने ३७ प्रतिशत बालबालिका घरपरिवारसँग मात्र टेलिभिजन रहेको छ । सहरमा ४६ प्रतिशत घरपरिवारसँग र गाउँमा २२ प्रतिशत घरपरिवारसँग मात्र टेलिभिजन छ ।  यो तथ्याङ्कलाई हेर्दा दुई घर बराबर १ टेलिभिजन सेट पर्दछ । यस्तो अवस्थामा रेडियो, टेलिभिजन घरमा नहुने विद्यार्थीले पढाइबाट वञ्चित रहनु पर्ने अवस्था छ । 

लक्ष्मी मावि बटेश्वर १ धनुषाका विद्यालय सञ्चालक समितिका अध्यक्ष राजदेव महतोका अनुसार  लक्ष्मी माध्यमिक विद्यालयमा १ देखि १० सम्म पढ्ने विद्यार्थीको सङ्ख्या साढे ५ सय रहेको छ । नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै विद्यालय सञ्चालन गर्न सकिएको छैन । कुन माध्यमबाट पढाउँदा ठिक हुन्छ भनेर बच्चालाई तपाईँको घरमा टिभी रेडियो, अनलाइन कुन छ भनेर फर्म भर्न लगाइएको छ । त्यही फर्मको आधारमा पढाइ गरिने उहाँको भनाई छ । किनभने सबै विद्यार्थी न अनलाइनमा पहुँच राख्छन् न टिभीमा न त रेडियोमा नै । 

धनुषाका अभिभावक सुरेन्द्र पासवान आफ्नो छोरीलाई जनता माध्यमिक विद्यालय देवपूरामा पढाउँछन् । विद्यालयलाई क्वारेनटाइन बनाइएको हुँदा विद्यालय खुल्न सकिने अवस्थामा छैन । उहाँ पनि आफ्नो छोरीलाई विद्यालय खुलेपछि मात्र विद्यालय पठाउने सोचमा हुनुहुन्छ । किनभने वैकल्पिक माध्यमबाट पढाउनको लागि उहाँसँग रेडियो, टिभी र इन्टरनेटको व्यवस्था छैन । 

श्री राष्ट्रिय आधारभूत विद्यालय लक्ष्मीपुर धनुषाधाम नपा ४ की प्रधानाध्यापक सीता सिंह पनि वैकल्पिक माध्यमबाट पढाई सञ्चालन गर्न असम्भव देख्नुहुन्छ । विद्यार्थीका घरमा रेडियो टिभी छैन, मोबाइलमा सबैको हातमा भए पनि इन्टरनेट छैन । विद्यालय नजिक रहेको मलंगवा सम्सीकनना कोरोना महामारीले सील गरिएको हुँदा पनि यहाँका अभिभावकहरू आफ्ना बच्चालाई विद्यालय पठाउने मनस्थितिमा देखिंदैनन । यस परिस्थितिमा विद्यालय र शिक्षकले केही नयाँ अवधारणा ल्याउन सकेका छैनन् । तर विद्यार्थीलाई पाठयपुतक भने वितरण गरिसकिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कुनै पनि मिडियाको पहुँचमा नरहेका विद्यार्थीको सङ्ख्या २३ लाख ५७ हजार ९ सय ५९ रहेको छ । कुनै पनि मिडियामा पहुँच नभएका यी विद्यार्थीहरूलाई कसरी पढाउने अहिलेको मुख्य चुनौतीको विषय नै यही हो । शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्नुहुन्छ – यस्ता विद्यार्थीलाई पढाउने माध्यम भनेको छापा सामग्री नै हो । बालबालिकालाई पढाउनको लागि शिक्षकले छापा सामग्री बनाउनु पर्छ । यसको लागि शिक्षा मन्त्रालयले शिक्षकलाई भच्र्यूयूल मिटींग गरेर तालीम दिन सक्नु पथ्र्यो र शिक्षकले सामग्री तयार पारेर आफ्ना बच्चालाई पढाउन सक्नु पर्छ जून भइरहेको छैन  । 

हतारमा सुरु गरिएको यो अनलाइन कक्षा कुन उमेर समूहका र कति कक्षादेखि पढाउनु ठिक हुन्छ भनेर समेत अध्ययन गरिएको छैन । देखासिकी कै भरमा धेरै विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । तर अनलाइन कक्षा स–साना नानीहरू एक्लैले लिन सक्ने अवस्था छैन र सक्दैनन् पनि  । कम्प्युटरले एक पछि अर्को गर्दै दिइने निर्देशनहरू फलो गर्नु जरुरी छ । यसको लागि अभिभावकले पनि उत्तिकै समय दिनु पर्ने र प्रविधि सम्बन्धी ज्ञान हुनुपर्ने देखिएको छ । पाटनकी सीता गुरुङले आफ्नो छोरीलाई निजी स्कुलमा पढाउनु भएको छ उहाँ भन्नुहुन्छ,– ‘सुरुका दिनमा निकै गाह्रो भयो । कसरी अनलाइन कक्षामा जोडिने भन्ने कुरै थाहा भएन । विद्यालयले स्कुल एप्समा पठाएको भए पनि मैले त्यसलाई चलाउन जानिन त्यसैले स्कुलको शिक्षकलाई सोझै फोन गरे । अनि उहाँले यो पछि यो गर भन्दै सिकाउनु भयो मैले नजानेर ५ कक्षा पढ्ने मेरो छोरीले नै अनलाइन कक्षामा जोडिन सफल भइन् । अहिले पनि स्कुलले दिएको गृहकार्य हरेक दिन शिक्षकलाई पठाउनुपर्छ । बल्लतल्ल गरिराखेका छौँ ।’

 प्रारम्भिक बाल विकास विज्ञ डा. मिनाक्षी दाहालका अनुसार, अनलाइन कक्षा, आधारभूत तहमा पढ्ने विद्यार्थीका लागि धेरै प्रभावकारी हुँदैन  । लामो समय कम्प्युटरमा बसेर पढ्दा बच्चाको आँखामा पनि प्रभाव पार्ने हुन्छ र उनीहरूका लागि सिकाइका माध्यमबाट पढाउँदा नै रमाउने गर्छन् र उनीहरू सिकाइका माध्यमबाट नै नयाँ नयाँ कुरा जानी रहेका हुन्छन् । घरमै उनीहरूले अभिभावकसँग खेली खेली पढ्न सक्छन् । बाल कक्षा पढ्ने स–साना नानीका लागि सिकाइका माध्यमबाट नै पढाउँदा उत्तम हुन्छ ।

निजी विद्यालयमा पढाउने सबै शिक्षक समेत प्रविधि मैत्री छैनन् । कतिपय सामुदायिक विद्यालयमा त कम्प्युटर कार्यालय प्रयोजनको लागि मात्र राखेको पाइन्छ । काठमाण्डौंका केही थोरै सामुदायिक विद्यालयले अनलाइन कक्षा र प्रविधि सम्बन्धी तालिम भरखर भरखर लिन सुरु गरेको भए पनि अधिकांश सामुदायिक विद्यालयले अनलाइन कक्षा लिन सक्ने सामर्थ्यमा छैनन् । किनभने विद्यालयले अनलाइन कक्षा लिन जबरजस्ती सुरु गरेर मात्र हुँदैन । त्यहाँ पढ्ने अधिकांश विद्यार्थी निम्न आय स्तर भएका र कत्तिलाई त इन्टरनेटको पहुँच सम्म पुग्न र स्मार्ट फोन किन्न समेत धौ धौ पर्ने देखिन्छ ।

 विद्यार्थी उपलब्धि राष्ट्रिय मूल्याङ्कन नासाको रिर्पोट अनुसार निजी विद्यालय पढ्ने ३७ प्रतिशत विद्यार्थीसँग कम्प्युटर रहेको छ भने, सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका १० प्रतिशतसँग मात्र कम्प्युटरको पहुँच छ । निजी विद्यालयमा पढ्ने २२ प्रतिशत विद्यार्थीसँग इन्टरनेट सुविधा छ भने सामुदायिक विद्यालयका ४ प्रतिशतसँग मात्र इन्टरनेट सुविधा छ ।  यसैगरी विद्युतको कुरा गर्ने हो भने ३५ प्रतिशत सामुदायिक विद्यालयमा मात्र विद्युत पुगेको छ । करिब १० हजार सामुदायिक विद्यालयमा मात्र कम्यूटर भएको तथ्याङ्क छ र कम्म्यूटर भएकाहरूमा पनि धनी वर्ग नै पर्दछन् । धेरै गरिब परिवारका बालबालिकाहरु इन्टरनेटको पहुँच वञ्चित छन् । यस्तो अवस्थामा अनलाइन कक्षा भनी रहन मात्र उपर्युक्त हुँदैन ।  नयाँ सोच, फरक तरिका र घरमै बसेर पढ्न सकिने नवीन उपाय खोज्न सक्नु पर्छ ।

अनलाइन कक्षा र त्यहाँ पढाएको दृश्य देख्दा के लाग्छ भने शिक्षकहरू नयाँ प्रविधिमा पढाएका त छन् तर पढाउने तरिका विल कुल पुरानै छ ।  थोरै शिक्षकले मात्र पावर प्वाइन्टमा आफ्नो सामग्री प्रस्तुत गरे पनि केही शिक्षकहरूले भने मोबाइलमा पाठ्यपुस्तकका पाठहरू खिचेर विद्यार्थीलाई देखाउने र पढाउने गरेको पाइएको छ ।  इन्टरनेटका कारण शिक्षकले पढाएको बोली समेत बुझ्न कठिन हुने समस्या त छँदै छ, त्यसमाथि फोटो खिचिएका स–साना अक्षर पढ्नै नसकिने छ । यस्तो बेलामा बच्चालाई  सिकाइका माध्यम के के हुन सक्छन् भनेर सोचिएको छैन र कुनै पनि विद्यालयले त्यो अभ्यास गरिरहेका पनि छैनन् । अहिलेको अवस्थामा  रेडियो , टेलिभिजनबाट सरकारले पढाउन सुरु गरिसकेको छ । तर शेयेरकाष्टको सर्वेक्षण अनुसार ५५ प्रतिशत भन्दा बढीले रेडियो सेट नभएकै कारण रेडियो सुन्दैनन् । रेडियो सेटबाट रेडियो सामग्री सुन्नेको सङ्ख्या ४८ प्रतिशत छ । यसै गरी स्कुल जाने ३७ प्रतिशत बालबालिका घरपरिवारसँग मात्र टेलिभिजन रहेको छ । सहरमा ४६ प्रतिशत घरपरिवारसँग र गाउँमा २२ प्रतिशत घरपरिवारसँग मात्र टेलिभिजन छ ।  यो तथ्याङ्कलाई हेर्दा दुई घर बराबर १ टेलिभिजन सेट पर्दछ । यस्तो अवस्थामा रेडियो, टेलिभिजन घरमा नहुने विद्यार्थीले पढाइबाट वञ्चित रहनु पर्ने अवस्था छ । 

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार– शिक्षकले अनलाइन कक्षामा पढाउँदा पाठ्यपुस्तकका विषयवस्तुलाई सन्दर्भ सामग्री मानेर शिक्षकले पढाउने तरिकामा नयाँपन अपनाउन जरुरी ठान्नु हुन्छ । स–साना नानीले अनलाइन पढ्न पाउनु नराम्रो हुँदै होइन तर उनीहरूलाई अनलाइन कक्षा किन झ्याउ लाग्ने गरेको छ त यो कुरा बुझ्नु आवश्यक छ । शिक्षकले अनलाइनमा पढाउँदा बच्चाले के गर्दा पढायो भने रमाइलो मानी पढ्छन् भनेर शिक्षकले अलि गृहकार्य गर्नु पर्ने र त्यही अनुसार पाठ्य सामग्री बनाएर बनाउनु पर्ने उहाँको धारणा छ । शिक्षकको भूमिका प्रभावकारी नहुँदा मोटुपत्लु रमाएर हेर्ने बालबालिका अनलाइन पढ्ने भन्दा भाग्न थालेका छन् ।

 त्यसैले, सरकारले नेपालभरका विद्यालयमा पढाई सुचारु गर्न निर्देश गरेको भए पनि सबै ठाउँमा पढाइ भने हुन सकिरहेको छैन ।  अनलाइन, रेडियो र टिभी, अफलाइन कुनै पनि माध्यमबाट पढ्न नसकेका बालबालिकालाई कसरी शिक्षा दिने भन्ने अहिलेको मुख्य चुनौतीको विषय हो । सरकारले यस्ता विद्यार्थीलाई शिक्षाबाट वञ्चित नगराउन शिक्षकलाई नै परिचालन गरी शिक्षकको अवधारणा अनुसार पढाउन निर्देशन गर्नु पर्छ ।