रामदेवले ल्याएको कोरोनाको औषधि केही घन्टामै प्रतिबन्धित !

रामदेवले ल्याएको कोरोनाको औषधि केही घन्टामै प्रतिबन्धित !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ९, २०७७

काठमाडौं । भारतको आयुष मन्त्रालयले पतन्जलिका तर्फबाट कोरोना भाइरसको औषधि पत्ता लगाइएको भनेर आएको समाचारबारे ध्यानकर्षण भएको जनाएको छ । 

मन्त्रालयले स्पष्ट रुपमा वैज्ञानिक अध्ययन गरिएको भनेर गरेको दाबी र विवरणबारेमा मन्त्रालयलाई कुनै जानकारी नभएको बताएको छ ।

पतन्जलिले मंगलबारमात्रै ‘कोरानिल ट्याबलेट’ र ‘श्वासारि वटी’ नामको औषधि लन्च गरेको थियो । जसलाई कम्पनीले कोरोनाका बिरामीका लागि आयुर्वेदिक औषधि भएको दाबी गरेको थियो । 

मन्त्रालयले विज्ञप्ति जारी गरेर आयुर्वेदिक औषधि समेत रहेको यो औषधिको विज्ञापन ड्रग एन्ड म्याजिक रिमेडिज (आपत्तिजनक विज्ञापन) कानुन १९५४ र कोरोना महामारीबारे केन्द्र सरकारको निर्देष अन्तर्गत आउने बताएको छ । 

मन्त्रालयले २१ अप्रिल, २०२० मा एक अधिसूचना जारी गरेर आयुष मन्त्रालयको रेखदेखमा कोभिड–१९ बारे कसरी अध्ययन गर्ने भन्ने दिशानिर्देश गरेको थियो । 

आयुष मन्त्रालयले पतन्जलि आयुर्वेद लिमिटेडसँग औषधिको नाम र त्यसको प्रयोगबारे सोधपुछ गरेको थियो । साथै औषधिको अध्ययन कहाँ र कुन अस्पतालमा गरिएको हो र प्रोटोकल पालना गरे÷नगरेको बारे समेत सोधेको थियो । 

मन्त्रालयले नमूना साइज, इन्स्टिच्युसनल इथिक्स कमिटि क्लियरेन्स प्राप्त भए÷नभएको, सीटीआरआई दर्ता र अध्ययनसँग जोडिएका तथ्यांक समेत मागेको छ । यी सबै विषयमा अध्ययन नभएसम्मका लागि यो औषधिबारे प्रचारमा रोक लगाइएको जनाएको छ । 

यसका साथै मन्त्रालयले उत्तराखण्डको लाइसेन्सिङ प्राधिकरणसँग औषधिको लाइसेन्सको कपी समेत मागेको छ र उत्पादन स्वीकृतिको विवरण समेत मगाएको छ । 

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आईसीएमआर) का महानिर्देशक प्राध्यापक बलराम भार्गवले पतन्जलिले विकास गरेको औषधिबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् । 

केन्द्रीय औषध मानक नियन्त्रण संगठन (सीडीएससीओ) का वरिष्ट अधिकारीले भने, ‘सामान्य अवस्थामा एक औषधि विकसित गर्न, त्यसको क्लिनिकल परीक्षण पूरा हुन र मार्केटिङ सुरु गर्न कम्तीमा पनि ३ वर्ष लाग्छ । असामान्य अवस्थामा यसको गति बढाउन सकिन्छ । तर पनि कुनै औषधि बजारमा आउनका लागि १० महिनादेखि एक वर्षसम्म लाग्छ ।’

पतन्जलिका सीइओ आचार्य बालकृष्णले यो औषधिको क्लिनिकल परीक्षणमा कोरोनिल औषधि सेवनबाट शतप्रतिशत बिरामी निको भएको दाबी गरेका छन् ।