पशुपतिनाथको मूल मन्दिर क्षेत्रमा मर्मतसम्भार जारी

पशुपतिनाथको मूल मन्दिर क्षेत्रमा मर्मतसम्भार जारी

लोकसंवाद संवाददाता  |  समाज  |  असार १०, २०७७

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी लागू गरिएपछि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर क्षेत्रभित्र मर्मतसम्भार शुरु गरिएको छ । 

मूल मन्दिरभित्र छापिएको ढुङ्गा हल्लिएकाले खाली भएका बेला निकालेर मर्मतसम्भार शुरु गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । हल्लिएका ढुङ्गा निकालेर पुटिङ भर्ने काम भइरहेको छ । 
 
मूल मन्दिरभित्रको चन्दन घोट्ने घर जीर्ण भएकाले भत्काइएको छ । चन्दन घोट्न र भण्डारी सुत्नका लागि महेन्द्र सहारा सत्तल प्रयोगमा ल्याइएको पनि उहाँले बताउनुभयो । चन्दन घोट्ने घरसँगैको भान्छा घर गत वर्ष नै भत्काएर पुनःनिर्माण भइरहेको छ । यी संरचना विसं २०७२ वैशाख १२ गतेको भूकम्पले जीर्ण भएका थिए ।
 
भूकम्पले क्षति पुगेका पशुपतिका ९० वटा संरचनामध्ये ४२ वटाको पुनःनिर्माण सम्पन्न भएको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिनुभयो । भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काम शुरु गरेको पाँच वर्षमा पुरातात्विक महत्वका सबै संरचना बनाइसक्ने प्रतिबद्धता गरे पनि पशुपति क्षेत्रका ६० वटासम्मको पुनःनिर्माण सकिने भएको कोषले जनाएको छ ।
  
हाल १४ वटा संरचना पुनःनिर्माणका लागि खरिद प्रक्रियामा रहेको छ । बन्दाबन्दीपछि जयवागेश्वरी मन्दिरको पुनःनिर्माण शुरु भएको छ । प्राधिकरणको कार्यकाल आगामी माघ दोस्रो साता सकिँदैछ । यसैगरी मृगस्थली क्षेत्रका १० शिवालय पनि पुनःनिर्माणका क्रममा छन् । विश्वरुप मन्दिर पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रस्ताव निर्माण सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि काम शुरु गर्ने तयारी भएको छ । यसका लागि पुरातत्व विभागको सहमति लिने प्रक्रिया अघि बढेको जनाइएको छ ।