डिएपी मलको छैन अभाव, साल्ट ट्रेडिङ लि र कृषि सामग्री संस्थानले उपलब्ध गराउँदै

डिएपी मलको छैन अभाव, साल्ट ट्रेडिङ लि र कृषि सामग्री संस्थानले उपलब्ध गराउँदै

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ११, २०७७

विराटनगर । पूर्व क्षेत्रमा किसानलाई वर्षे धानबाली लगाउन प्रारम्भमा चाहिने रासायनिक मल डिएपीको अभाव नरहेको बताइएको छ । प्रदेश नं १ का १४ जिल्ला तथा प्रदेश नं २ का सिरहा र सप्तरीका किसानलाई साल्ट ट्रेडिङ लि र कृषि सामग्री संस्थान कार्यालय विराटनगरले उपलब्ध गराउँदै आएको रासायनिक मलमध्ये साल्ट ट्रेडिङ कार्यालय विराटनगरमा अहिले १९ हजार ८२० बोरा डिएपी मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानले मागे जति डिएपी मल उपलब्ध गराइएको छ । केही दिनभित्र थप एक लाख बोरा डिएपी आउने भएकाले किसानलाई यो मलको अभाव हुँदैन । डिएपी मल किसानले धान रोप्ने समयमा खेत तयार गर्दा हाल्ने मल हो । यसको प्रतिबोरा मूल्य दुई हजार १५० रुपैयाँ निर्धारण गरिएको भए पनि किसानले केही छुट हुने व्यवस्था पनि गरिएको छ ।

यसैगरी किसानलाई आवश्यक पर्ने एसएसपी मल पनि १२ हजार ३०४ बोरा मौज्दात रहेको प्रमुख चौधरीले बताउनुभयो  रासायनिक मल उपलब्ध गराउने कृषि सामग्री संस्थान विराटनगरमा डिएपी मल १७९ मेट्रिक टन, पोटास १४२ मेट्रिक टन र कृषि चुन तीन दशमलव ६५० मेट्रिक टन मौज्दात रहेको बताइएको छ ।

संस्थानका कर्मचारी नवरत्न सुवेदीले  कार्यालयका लागि दुई हजार ५०० मेट्रिक टन डिएपी केही दिनभित्र प्राप्त हुने र थप दुई हजार मेट्रिक टन  आउने भएकाले किसानलाई  अभाव नहुने जानकारी दिनुभयो ।  कार्यालयले पूर्व क्षेत्रमा मोरङको विराटनगर, इलाम, झापाको बिर्तामोड, धनकुटा, सुनसरीको इटहरी, सप्तरीको राजविराज, सिरहाको लहान र उदयपुरको गाईघाट कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।

यस्तै कृषि सामग्री संस्थान विराटनगरमा मलखाद भण्डारण गर्ने दुई ठूला गोदाम वर्षात्का कारणले पानी प्रवेश गरी नष्ट हुने भएकाले स्तरोन्नति गर्ने काम तीव्र गतिमा भइरहेको छ । धरान –विराटनगरको छ लेनको सडक निर्माण  भइरहेको र साविकमा निर्माण भएको गोदाम सडकभन्दा गहिरो पर्न गएकाले  चौरमा पानी जम्ने समस्या पनि निर्माण सम्पन्न भएपछि समाधान हुने जनाइएको छ । अहिले दुवै कार्यालयमा युरिया मल छैन ।  बाली लगाइएको केही समयपछि मात्र किसानले धानबालीमा युरिया मल हाल्ने भएकाले यसको पनि अभाव नहुने बताइएको छ ।