गौमूल गाउँपालिकामा चाउचाउ बन्द

गौमूल  गाउँपालिकामा चाउचाउ बन्द

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ११, २०७७

बाजुरा, बजारका खानेकुराको गाउँमा बिगबिगी बढेपछि गौमूल  गाउँपालिकाले अखाद्य वस्तुको प्रयोग न्यूनीकरण गर्ने  निर्णय गरेको छ । गाउँसभाले जनस्वास्थ्यमा असर पार्ने बजारका तयारी खाद्य सामग्री प्रयोगमा रोक लगाउने र गाउँपालिकाका ६ वटै वडामा चाउचाउलाई पूर्ण रुपमा बिक्री बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिका केन्द्र रहेको घटमुना बजारबाहेक सबै वडामा चाउचाउसहितका मसलादार उत्पादन सामग्री बन्द गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनुभयो । विद्यालय क्षेत्रबाट तीन सय मिटर आसपास क्षेत्रमा पत्रुखाना बिक्रिीवितरणमा रोक लगाइने र यसबारे नियमित सचेतना फैलाउने निर्णय गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाले आगामी आ.वका  लागि रु ३२ करोड २९ लाख बराबरको बजेट समेत प्रस्तुत गरेको छ । सातौँ गाउँसभामा उपाध्यक्ष थापाले समानीकरण, संघीय र प्रदेश सरकारको अनुदान, सशर्त र राजस्व बाँडफाँट लगायत शीर्षकमा उक्त रकम बराबरको बजेट प्रस्तुत गर्नुभयो ।
 
 गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट शीर्षकमा पनि कृषि उत्पादन, आयआर्जन, युवा रोजगारका विषयलाई प्राथमिकतामा राखेको छ  भने घटमुनामा १५ शय्याको अस्पताल निर्माण गर्ने गरी योजना अघि सारिएको छ ।