डिडिसीले धुलो दूधको मूल्य घटायो

डिडिसीले धुलो दूधको मूल्य घटायो

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ११, २०७७

काठमाडौँ, बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान डिडिसी ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर रु २०, नौनीमा रु ८० र धुलो दूधमा रु १०  छुट दिइएको  छ ।
घ्युको खुद्रा मूल्यसँगै थोक मूल्यमा एकदेखि पाँच प्रतिशतसम्म छुट दिइएको डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार थोक मूल्य प्रतिलिटर रु ८३० का दरमा तीन सयदेखि पाँच सय लिटर घ्यु किन्दा एक प्रतिशत छुट दिइएको छ । यसैगरी पाँचदेखि एक हजार लिटरमा दुई, एक हजारदेखि तीन हजारसम्म चार, तीन हजारदेखि पाँच हजारसम्म चार र पाँच हजार लिटरदेखि माथि घ्यु किन्दा पाँच प्रतिशतसम्म छुट दिइएको छ ।

रु बीस छुट डिडिसीका बिक्री केन्द्र लैनचौर, खुमलटार, नयाँ सडक तथा आयोजना केन्द्रबाट खरीद गर्दा मात्र  पाइने जनाइएको छ । एक हजार लिटरभन्दा बढी नौनी खरीद गर्नेलाई रु ८० र धुलो दुध खरीद गर्नेलाई रु १० छुट दिइएको डिडिसीका अर्थविज्ञ अज्जन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि नौनी प्रतिलिटर रु ७८० र धुलो दूध प्रतिलिटर रु छ सय थियो ।

डिडिसीका आयोजना केन्द्र लौनचौर, बालाजु, विराटनगर, जनकपुर, ढल्केबर, हेटौडा, बुटवल, कोहलपुर, अत्तरिया र कैलालीबाट नौनी र धुलो दूध खरीद गर्दा मात्र छुट हुनेछ । यसैगरी नेपाली सेनालाई बिक्री गरिने होलमिल्क ९घ्युसहितको दूध० एक हजारभन्दा बढी खरीदमा रु १० छुट दिइएको छ । यसअघि थोकमूल्य रु ७५० थियो ।

असार ३ गतेअघि बट्टाको घ्यु प्रतिलिटर रु ९२० तथा प्याकेटमा राखिएको घ्यु प्रतिलिटर रु नौ सयमा बिक्री गरिएको थियो ।

१२ प्रतिशतले कमी
बन्दाबन्दी केही खुकुलो भएसँगै दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा क्रमिक रुपमा सुधार हुँदै आएको महानिर्देशक पौडेलले जानकारी दिनुभयो । डिडिसीको तथ्यांकानुसार बन्दाबन्दी समयभन्दा हाल चार प्रतिशतले दूध खपतमा वृद्धि भएको तथा अन्य पदार्थको खपतमा कमी आएको छ ।
बन्दाबन्दीअघिको तुलनामा काठमाडौँ उपत्यकामा मात्र दैनिक १२ प्रतिशत दूध खपतमा कमी आएको जनाइएको छ । उहाँका अनुसार बन्दाबन्दीअघि काठमाडौँ उपत्यकामा मात्र दैनिक ८७ हजार लिटर दूध बिक्री हुँदै आएकामा आज ७६ हजार लिटर बिक्री भएको छ । दूधसँगै दही खपतमा ४० प्रतिशतले कमी आएको जनाइएको छ ।