लौठ सल्लो, चिस्यान केन्द्र, कृषि सडक र विद्युतीय चुल्हो महाँकालको प्राथमिकता

लौठ सल्लो, चिस्यान केन्द्र, कृषि सडक र  विद्युतीय चुल्हो महाँकालको प्राथमिकता

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ११, २०७७

ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा लौठ सल्लो, चिस्यान केन्द्र, कृषि सडक, सुधारिएको र विद्युतीय चुल्होका साथै सौर्य ऊर्जाको प्रयोगमा जोड दिने भएको छ ।

“कृषि र पशु स्वरोजगारको आधार, स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार” भन्ने मूल नाराका साथ गाउँपालिकाका उपाध्यक्ष कमला तामाङले बुधबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नं ३ सिसवनमा लौठ सल्लो पकेट क्षेत्र बनाई कृषकको आयस्तरमा वृद्धि गरिने, कृषकबाट उत्पादित वस्तुको भण्डारणका लागि गोटीखेलमा चिस्यान केन्द्रको स्थापना, कृृषिजन्य वस्तु उत्पादन हुने क्षेत्रबाट उत्पादित वस्तु ढुवानी र व्यवस्थापनका लागि कृषि सडक निर्माण, गोटिखेल बजारलाई नमूना बजारका रुपमा विकसित गर्नाका साथै हरेक वडालाई धुवाँमुक्त बनाउन सुधारिएको तथा विद्युतीय चुल्होका साथै सौर्य ऊर्जाको प्रयोगमा जोड गरिने घोषणा गर्नुभयो ।

“सफा घर, बस्ती र पालिका” अभियान सञ्चालन गरी लालीगुराँसको पकेट क्षेत्रका रुपमा लक्ष्यबासदेखि ठोस्नेखोलासम्मलाई विकास गरी पर्यटकको आकर्षक गन्तव्यस्थल बनाइने, लौठसल्लो प्रशोधन र प्याकेजिङ उद्योग, जडीबुटी खेती र प्रशोधन केन्द्र, सुगन्धित तेल उत्पादन र बिक्रीवितरणका लागि महाङ्कालले सम्भाव्यता अध्ययन पनि गर्ने जनाइएको छ ।

महाङ्कालले पशुपालन व्यवसाय प्रोत्साहनका लागि गोठ सुधार कार्यक्रम, बाख्रापालन व्यवसाय प्रवद्र्धन, कृषकको आयस्तर बढाउन बोयर जातको बोका खरीद तथा वितरण, खोर निर्माणमा अनुदान, स्थानीय जातका कुखुरा उत्पादन, गोठ सुधार कार्यक्रम र माछापालन व्यवसायलाई सामुदायिक रुपमा सञ्चालन गर्ने भएको छ ।

च्याउ, चिया र कफी जस्ता नगदे तथा बेमौसमी तरकारीखेती, अन्नबाली, फलफूल, अदुवा, अम्रिसो जस्ता व्यावसायिक खेतीलाई प्रवद्र्धन गरी आधुनिक कृषि प्रणाली एवं व्यावसायीकरणमा जोड दिइने कार्यक्रममा तामाङले बताउनुभयो ।