तटबन्धनका लागि ५० अर्ब

तटबन्धनका लागि ५० अर्ब

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ११, २०७७

चितवन । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी तटवन्धनका लागि रु ५० अर्ब माग गरेको छ । सो  आयोजनाले ती दुवै नदीको विस्तृत आयोजना प्रतिवेदन तयार गरी सिँचाइ विभागमा पेश गरेको छ ।

आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनीयर हरिबहादुर थापाका अनुसार ती दुवै नदीमा तटबन्धन र त्यसमाथि ग्राबेल बाटो हुने छ । आयोजनाले तयार गरेको प्रतिवेदनमा नारायणी नदीको नवलपरासीतर्फ ६३ किलो मिटर तटबन्धन गरिनेछ । यसअघि तटबन्धन गरिएको १० किलोमिटर क्षेत्रलाई मर्मत सम्भार गरिने छ ।

उहाँका अनुसार नारायणीको चितवनतर्फ ५० किलोमिटर तटबन्धन गरिनेछ । पहिले निर्माण भएको १३ किलोमिटर भागलाई मर्मत गरिने छ । राप्तीमा चितवन र मकवानपुर क्षेत्रको १०५ किलोमिटर मध्ये स्वीस परियोजनाले पूर्वी चितवनमा गरेको तटबन्धनको बाहेकको भूभाग तटबन्ध गरिनेछ ।

तटवबधनको माथि डिलमा ६ मिटर फराकिलो ग्राबेल सडक हुने उहाँले जानकारी दिनुभयो । नदीतर्फ ग्याबिन जालिबाट संरक्षण गरिनेछ । उहाँले विभागमा प्रतिवेदनको विषयमा छलफलपछि स्वीकृत भएसँगै गुरुयोजना निर्माणमा लाग्ने बताउनुभयो ।

तटबन्धनमा ठूलो खर्च लाग्ने भएकाले दाता र ऋणको खोजी गरिँदैछ । राप्ती र नारायणीको चितवनतर्फको भागमा लगानी गर्न एसियन डेभलोपमेण्ट बैंकले चासो देखाएको उहाँले जानकारी दिनुभयो । सो बैंकका प्रतिनिधिहरुले स्थलगत अध्ययन गरिसकेका छन् । कुन ढङ्गले उनीहरु सहकार्य गर्न तयार हुन्छन् पछि थाहा हुने उहाँको भनाइ छ ।