'कोशीको गडतिर घुम्ती छ' बोलको गीत र  जीवनको आकाश खोज्न भौँतारिँदाका भोगाइको कथा
असार ११, २०७७

मानिसको भोगाइ अनुभूति, जीवन शैली दृष्टिकोण फरक हुन्छ ।  मानव शास्त्रीको भनाइमा उसले बाँचेको प्रकृतिको प्रभाव हुन्छ । मेरो जीवनसँगको प्राकृतिक सामीप्य यो गीतको स्रोत हो । त्यो विकट प्रकृतिले गीतको जन्म भएको  हो । 

गीतको संरचनात्मक पृष्ठभूमिमा नै दुई भिन्न अलग अलग आधार रहेका छन् ।  सानो अंशमा उल्लेख गर्न चाहन्छु ।  William Shakespeare ले 'Venus and Adonis'  शीर्षक कवितामा प्रकृति र जीवनको सम्बन्ध देखाएर मिठो कविता सृजना गरेको पाइन्छ ।   

'Even as the sun with purple-colored face
Had tan’en his last leave of the weeping morn.'

 'कोशीको गडतिर घुम्ती छ थाकिमको भीर डर लाग्छ' भन्ने बोलको गीत सबैले मन पराउने मध्यमा पर्छ जस्तो मलाई लाग्छ । यसको सङ्गीतकार हुनुहुन्छ डाक्टर किराँत । गायक भगवान चामलिङ्ग हुनुहुन्छ । गीत लोकप्रिय हुनमा दुबै स्रष्टाहरूको उल्लेख्य योगदान रहेको छ । यो गीतको सन्दर्भ आउनासाथ म धन्यवाद नभनी रहन सक्दिन ।

'कोशीको गडतिर घुम्ती छ
थाकिमको भीर डर लाग्छ 
उडेर आउँथेँ थामखर्क टिकट पाउन गाह्रो छ 
यस पल्ट पनि हाम्रो भेट नजुर्ला जस्तो छ ।' 

William Shakespeare भएका भए यहाँ यसरी नै लेख्थे होलान् सायद  !  यो गीत वास्तवमा धेरै अगाडि लेखेको हुँ । भगवानजी बेलायतबाट फर्केपछि यो गीत गाउने मन गर्नुभयो ।  भगवानजीको मधुर मीठो आवाजमा २०६३ सालमा रेकर्डिङ भएको थियो । गीत लोकप्रिय भयो ।  स्रष्टाहरूलाई यो भन्दा खुसी के हुन सक्छ र !  मुरीको भात खाए जस्तै भएको छ  ।  छोडेर जाने यस्तै  न हो ।  

 कोभिड-१९ को बन्दाबन्दी समयमा उनन्चास हजार श्रोताले सुन्नु भएछ ।  थामखर्क हवाई मैदानको भिडियो खिचेर आफ्नै पाराले नीति चामलिङ्ग ले सामाजिक सञ्जालमा राख्नु भएछ । त्यसपछि झन् मलाई यो ठाउँ र गीतको सौंदर्यशास्त्र सोध्ने श्रोताको फोन निरन्तर आइरहेछ ।  नीति चामलिंगलाई पनि धन्यवाद भन्न चाहन्छु । 

यो गीतमा मैले नयाँ शब्द प्रयोग गर्ने कोसिस गरेको छु । जस्तै : साकेला, दोबे, सावा खोला ।  

(किराँत भाषामा 'सा' भनेको मासु, 'वा' भनेको पानी हो । उनीहरुले आफ्नो हतियार पानीमा पखालेका कारण सावा खोला भनिएको किराँत मुन्धुम धर्म कथा छ ।  तसर्थ यस भूगोललाई माझ किराँत भनिएको हो । यस भेगका नामहरू किराँत शब्दमा पाइन्छ ।) 

 जीवनको उतारचढाव सानै उमेरदेखि भोगेको छु | कोशीको गडतिर हिँडेर आफ्नो आकाश खोज्न पन्ध्र वर्षदेखि हिँडेको छु | जति बेला मैले २०२८ सालमा स्कुल पास गरेदेखि  निरन्तर कहिले चिसापानी हुँदै बुवां खोला हुँदै उदयपुरको बेल्टार झरेको छु । अनि फेरि अर्को बाटो आउँदा जाँदा कोशीको गडतिर हिँडेर नसकिने घुम्ती बाटो पार गर्दै रसुवा तरेर खोटाङ घर आएको छु । यस भूगोलका मानिसहरू यो बाटो यसरी नै हिँड्छन् र हिँडिरहेका छन्  । कोसीको गडतिर वर्षभरिलाई नुन तेल चामलको जोहो गर्न भारी बोकेर हिँड्छन्  ।  बाटोमा अभर परेर कोशीमा खस्न सक्छ । हाम्रो लागि छाम्लिंगको भीर, चमेरे र थाकिमको भीर जोखिमको बाटोका रुपमा परिचित छनु ।  

२०६३ साल माघमा जब प्लेन चढेर घर जाने निघो गरेँ । बल्ल बल्ल अन्तिम अवस्थामा मात्र टिकट पाएँ । त्यो पनि  दिहुँ बस्ने बिरामी महिलालाई दिन बाध्य भएँ ।  भोलि सरकारी सिट लिएर जाउँला भनेर मन थामेँ ।  भोलिपल्ट त झनै चिनेकै साथीहरू नन हाकिम -हाकिम भएर आए ।  कसको  विरोध गर्नु ।

भौगोलिक कठिनाइको यात्रामा भोगिएका दर्द र  मिठासले यो गीत जन्मेको हो । जीवन खोज्ने क्रममा यो बाटो उस बेला एक्लै हिँड्नु कम खतरा थिएन ।  चोर, भीर, नदी, बाघ, भालु ,भोक सम्झँदा पनि आङ फुलेर आउँछ आजभोलि । कतै पुल थिएन ।  काठको डुङ्गाबाट नदी तर्नपर्थ्यो ।  भाग्य जे पनि हुन सक्थ्यो ।  आफ्नो आकाश खोज्दै जाँदा  सयौँ पल्ट कठिन बाटो हिँडियो । आज समय धेरै बदलिएको छ ।  तर अहिले पनि खोटाङ जिल्लाको प्राण यही बाटो हो । 

हिंडदाको एउटा सम्झना कहिले बिर्सन सक्दिनँ म । जीवन नोस्टाल्जिक हुन्छ । हाम्रो विवाहपछिको दोस्रो भेट थियो त्यो । काठमाडौँ आउनलाई बिहानै ससुराली घरबाट हिंडयौं ।  पहिलो पल्ट जुवाइँसँग छोरी सहर पढ्न हिँडेको देख्दा सासुआमाको मुहारमा हर्ष बिस्मात दुवै मुहारमा प्रस्टैसँग देखेको थिएँ  मैले ।  जेठ महिनाको अन्त हुन लागेको थियो । चिसापानी पुगेपछि पानी पर्न थाल्यो ।  लाजले हाम्रो बोली  बाटोमा त्यति खुलेको थिएन ।  छिटो उकालो ओराली बाटो काट्नु थियो  । नभए तल बग्ने ठुलो बुवांखोला झन् भल उर्लेर बाटो छेक्ने सम्भावना थियो ।  खोलै खोला दस ठाउँ जंघारतर्न पर्थ्यो ।  कुदेको कुद्दै हामीले दस जँघार तरिसक्नेसाथ खोला वारिपारि ढुङ्गा मुढा बोकेर धरती थर्काउँदै दूध कोशीमा मिसिएको थियो । जँघार पर गरेकोमा मन शान्त त थियो । तर बारी बास बस्ने टहरा सम्म थिएन ।  बेलुकीको छ बज्दै थियो । पारी थाकिएको भिर अझ हिँड्नु थियो ।  माझी दाइले झमक्क साँझमा हामीलाई कोशी तारी दिनुभयो । पानी पर्न रोकिएको थिएन ।  फेरि तीन घण्टाको उकाली पानीमा हिँडेर राती उदयपुरको छुइला पुग्यौँ  । अहिले हो भने बाल विवाहमा जाकिन्थ्यौँ सायद !  तातो भात र दिनभरिको दस घण्टाको उकाली ओराली कुदाइले सत्र बर्से युवती कमला भुसुक्क निदाइन् । बास बसेको ठाउँमा न त सुत्ने गुन्द्री नै थियो । फगत फलेकमाथि मेरो दाइने हातको सिरानीमा निदाइन् । मैले उनलाई देखेर सम्झेको थिएँ–'कति ठुलो विश्वास जसले मलाई अझ राम्ररी चिनेकी छैनन् । हाम्रो दोहोरो बोली पनि राम्रोसँग फुटेको छैन ।  म यतिकै छोडेर हिँड्न पनि त सक्छु, वि.पिको कथा (मधेसतिर) जस्तो' !  

थाकेर शरीर शिथिल थियो । सम्झँदै निदाएछु । हवाई मैदान अथवा मटर अहिले जस्तो भएको भए सायद यो नियति भोग्न पर्दैन थियो कि !  गीत यसरी अवचेतन रूपले हृदयभित्र हुर्कँदै आयो । 

 जब थामखर्क हाम्रो सपनाको मैदान तयार भयो ।  कोसीको घुम्ती बाटो मैले हिँडेको छैन । महत्त्वपूर्ण बाटो भएको कारण सयौँ ढाक्रेहरू, भविष्य खोज्न जानेहरू यो बाटो हिँडिरहेका छन्  हिजो आज पनि । 

यो गीतको पछाडि अर्को रोचक हाम्रो भोगाइको कथा पनि लुकेको छ । मैले यो गीत लेखिसकेपछि अग्रजहरूलाई सम्झिन भने अपुरो हुनसक्छ । 

२०३७ सालमा केदार राई खोटाङबाट रापंस निर्वाचित भएर मन्त्री हुनुभयो ।  इन्द्रेनी पोखरी र थामखर्कमा हवाई मैदानको भौगोलिक मिनी सर्भे भएको थियो । फेरि पछि अगाडि बढेन ।  एकपल्ट दिक्तेलमा सबै उपस्थित भएका थियौँ ।  थामखर्क हवाई मैदानको कुराको सन्दर्भ चलाइयो ।  काठमाडौँ वैशाख ५ गते बृखबहादुर राई संयोजक बनाई भानुभक्त घिमिरे, काशी राई, श्रीप्रसाद भट्टराई, केदार राई, नरेन्द्र राई, राजेन्द्र बस्नेत, पृथीबहादुर राई, जयबहादुर राई हरिबहादुर कार्की, दीपबहादुर राई साथै म समेत जाने तयारी भयो तर काठमाडौँमा म र वृषबहादुर राई मात्र भयौँ । 

 हामी  पर्यटन मन्त्री महमुद महसिनलाई भेट्न गयौँ ।  जिल्लामा काशी राईले लेखेको निवे दनमा जिल्लावासीको हस्ताक्षर थियो । त्यसलाई मैले लेखेको निवेदनमा संलग्न गरेर मन्त्रीलाई निवेदन दियौँ ।  मन्त्रीले तोक आदेश योजना आयोगलाई ठाडो भाषामा लेखेका थिए ।  अर्को वर्ष योजना आयोगको प्रतिनिधि र हवाई विभागको मान्छे पुरानो सानो फायल बोकेर आए ।  हवाई मैदान थामखर्कलाई छानियो । राजनीति आन्दोलनले निर्दलीय पञ्चायत सकियो ।  एमालेतर्फबाट  अशोक राई प्रतिनिधि सभामा निर्वाचित हुनु भयो । भाग्य बस यातायात तथा पर्यटन मन्त्रालयको मन्त्री बन्ने अवसर प्राप्त गर्नु भयो ।  थामखर्क मैदानले निर्माणको लय तुरुन्त समात्यो ।  त्यसपछि नयाँ प्रतिनिधि शिव, विशाल

अन्य साथीहरूबाट क्रमिक रुपमा हवाई मैदानको विस्तार  भयो ।  खोटाङ जिल्लाको दक्षिणी क्षेत्रले थोरै भए पनि राहत महसुस गर्न पायो । 

यो गीतको प्रमुख अर्को आधार यो पनि हो । मनमा रहेको दुःख सुख हरेक मान्छेको मनमा प्रतिबिम्बित भइरहन्छ । 

२०६३ साल माघमा जब प्लेन चढेर घर जाने निघो गरेँ । बल्ल बल्ल अन्तिम अवस्थामा मात्र टिकट पाएँ । त्यो पनि  दिहुँ बस्ने बिरामी महिलालाई दिन बाध्य भएँ ।  भोलि सरकारी सिट लिएर जाउँला भनेर मन थामेँ ।  भोलिपल्ट त झनै चिनेकै साथीहरू नन हाकिम -हाकिम भएर आए ।  कसको  विरोध गर्नु । 

आफ्नो गाउँ जान टिकट नपाउनुको कठिनाइ पनि यो गीतमा लेखिएको छ । कुरा अझ धेरै छ ।  गन्थन लामो हुन सक्छ ।  फेरिपछि समय मिलेमा लेख्नेछु । 

सबैले हाम्रो गीत मन पराउनु भएको छ ।  आदरणीय सबै श्रोतालाई हौवा, नमस्ते ।                 

यो गीत युट्युबमा पनि सुन्न सक्नु हुनेछ ।


प्रा. डा‍. विष्णु राई कवि तथा मानव शास्त्री हुनुहुन्छ ।