बिहीबार पन्ध्र अन्तर्राष्ट्रिय उडान मार्फत १३ सय नेपाली स्वदेश फर्किए,शुक्रबार  १० उडान हुँदै

बिहीबार पन्ध्र अन्तर्राष्ट्रिय उडान मार्फत १३ सय नेपाली स्वदेश फर्किए,शुक्रबार  १० उडान हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १२, २०७७

काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०७७ असार ११ गते बिहीबार मात्र  पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका  विमानस्थलले जानकारी दिएकाे छ ।

 यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत २०७७ असार ११ गते बिहिबार  एक हजार ३०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन् ।बिहिबार  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २४२ यात्रु र दुई बच्चा र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सका दुई जहाज नेपाली ल्याउन बहराइन उडेको विमानस्थलले जनाएको छ । त्यस्तै हिमालय एयरलाइन्सले अबुदाबीबाट १५४ र दोहाबाट १५६ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले विज्ञप्तिमार्फत जनाएको छ ।

जजीरा एयरलायन्सले कुवेतबाट १४६ यात्रु र एक बच्चा ल्याएको छ । उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन पुनः कुवेत उडेको छ । कतार एयरवेजले दोहाबाट १४७ यात्रु काठमाडौँ ल्याएको छ । फ्लाइ दुबईले दुबईबाट १८९ यात्रु र एक बच्चा ल्याएको छ । सोही एयरलाइन्सको अर्को उडानले जम्मा एक यात्रु काठमाडौँ ल्याएको जनाइएको छ ।

शुक्रबार पनि अन्तराष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका विमानस्थलले सार्वजनिक गरेको छ । दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर र मेलबर्नमा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।