२५० भन्दा बढी होटेल पलायन हुँदै, ब्याज मिनाहाको माग

२५० भन्दा बढी होटेल  पलायन हुँदै, ब्याज मिनाहाको माग

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १२, २०७७

सुर्खेत । तीन महिनादेखि व्यवसाय बन्द भएको भन्दै होटल व्यवसायी सङ्घ सुर्खेतले ब्याज मिनाह दिन सरकारसँग माग गरेको छ ।

कोरोना सङ्क्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेको भन्दै यो अवधिको बैङ्कको ब्याज मिनाह गर्न सरकारसँग माग गरेको हो ।

ब्याज मिनाहसँगै सङ्घले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन माग गरेको छ । २०७७ असार ११ बिहीबार एक विज्ञप्ति जारी गर्दै सङ्घले व्यवसायीहरुले घर भाडा र बैङ्कको ब्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको दुखेसो समेत गरेको छ ।

सङ्घका अध्यक्ष गोरख रावतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'सुर्खेत जिल्लामा मात्रै एक हजार २५० भन्दा बढी होटलहरु रहेका  छन् । यसमा करिब छ हजार बढी जनशक्तिले रोजगारी पाइरहेको अवस्था छ । बन्दाबन्दीका कारण होटल व्यवसाय बन्द हुँदा नागरिकको रोजगारी मात्रै गुमेको छैन्, अर्बौैंको नोक्सानी भएको छ ।'

 सङ्घले होटल व्यवसायीहरु सबैभन्दा बढी घरभाडाको मारमा परेकाले लकडाउन अवधिभरको घरभाडा पूर्णरुपमा र सङ्क्रमणकाल रहुञ्जेलसम्मका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न सरोकारवालासँग आग्रह गरेको छ । अध्यक्ष रावतले छुटका लागि घरधनीहरुलाई समेत राहत पुग्ने गरी विशेष कोषमार्फत सम्बोधन गर्न सरकारसँग माग गरिएको जनाउँदै अहिलेकै अवस्थामा घर भाडा तिर्न नसकिने बताउनुभयो । सङ्घले सङ्क्रमण अवधिभर बिजुली पानीको महसुल कम्तीमा एक वर्षका लागि छुट र टेलिफोन, इन्टरनेटलगायतका महसुलमा विशेष सहुलियतको व्यवस्था गर्न माग गरिएको छ । सङ्घका महासचिव जनकबहादुर सिंहले एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजश्व छुट गरिदिन सरकारसँग माग गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, 'होटल व्यवसायमा संलग्न व्यवसायीहरुले बैङ्क र वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याज र किस्ता तिर्ने मुख्य स्रोत यही व्यवसाय मात्र हो । जुनसुकै शीर्षकमा लिएको भए पनि उक्त ऋण तिर्ने समयावधि कम्तीमा दुई वर्ष थप गरी उक्त अवधिभरको ब्याजमा सहुलियत दर कायम गराई साँवामा गाभिदिने व्यवस्था गर्न सरकारसँग माग गर्दछौँ ।' उहाँले अहिलेसम्म कुनै पनि किसिमको व्यावसायिक सुविधा नपाएकाले तत्कालका लागि चालु व्यवसायलाई नै धितोको रुपमा मूल्याङ्कन गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको छ ।