पहिलो चुनावी सम्बोधनमै चिप्लिइन् प्रियंका

पहिलो चुनावी सम्बोधनमै चिप्लिइन् प्रियंका
भारतको कांग्रेस पार्टीकी महासचिव प्रियंका वाड्रा । तस्बिर : बिबिसी डट कम ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ३०, २०७५

काठमाडौं । केही समयपहिला भारतको राजनीतिक दल कांग्रेसको महासचिव बनाइएकी प्रियंका वाड्राले पहिलो चुनावी सम्बोधनमै चिप्लिएकी छन् । 

भारतको गुजरात राज्यमा आयोजित र्यालीबाट आगामी अप्रिलमा हुन गइरहेको लोकसभा चुनाव प्रचारको क्रममा कांग्रेस अध्यक्ष राहुल गान्धीकी कान्छी बहिनीसमेत रहेकी उनले भनिन्, ‘महात्मा गान्धीले गुजरातबाट देशको स्वतन्त्रताका लागि आवाज उठाउनुभएको थियो ।’ 

भारतीय स्वतन्त्रताको इतिहासमा महात्मा गान्धीले आजादीको लडाइँको औपचारिक श्रीगणेश विहार राज्यको चम्पारणबाट गरिएको उल्लेख छ । 

उनको भारतीय स्वतन्त्रताको इतिहास विषयक ज्ञानलाई लिएर भारतभरि ‘जोक’ हुन थालेको छ ।

प्रियंकाले चुनावी र्यालीलाई सम्बोधन गर्दै भनिन्, ‘यही ठाउँबाट हाम्रो आजादीको लडाइँ सुरु भएको थियो । महात्मा गान्धीले यहीबाट प्रेम, सद्भावना र स्वतन्त्रताको आवाज उठाउनुभएको थियो । म सोच्छु– यहीबाट देशको अवस्थाबारे आवाज उठ्नुपर्छ ।’ 

गान्धीनगरको र्यालीमा उनले भनिन्, ‘म पहिलो पटक गुजरात आएकी हुँ र पहिलो पटक नै साबरमतिको त्यस आश्रममा गएँ, जहाँबाट महात्मा गान्धीले हाम्रो देशको आजादीका लागि संघर्ष थालनी गर्नुभएको थियो ।’ 

उनले भनिन्, ‘यो देश प्रेम, सद्भाव र एक–अर्काप्रतिको स्नेह सम्बन्धको आधारमा बनेको छ । आज देशमा जे भइरहेछ त्यो सबै यसको विरुद्धमा छ ।’

गुजरात अथवा चम्पारण 

गुजरात युनिभर्सिटीको ‘सोसल साइन्स’का प्रोफेसर गैरांग जानीका अनुसार सन् १९१५ मा गान्धी दक्षिण अफ्रिकाबाट फर्किदा गुजरात आएका थिए । 

९ जववरी १९१५ मा गुजरात आएका गान्धीले २५ मई १९१५ मा अहमदावादको कोचरावमा सत्याग्रह आश्रमको स्थापना गरेका थिए । तर, पछि जुलाई १९१७ मा यस आश्रमलाई साबरमती नदी किनारमा स्थानान्तरित गरियो र यसको नाम साबरमती आश्रम रहन गयो । तर, गान्धीले भारतको आजादीको लडाइँको आन्दोलन गुजरातबाट नभएर विहारको चम्पारणबाट सुरु गरेका थिए । 

विहारमा हुने नील खेतीका बधुवा श्रमिकको कमजोर अवस्था देखाउन किसान राजकुमार शुक्लले गान्धीलाई चम्पारण पु¥याएका थिए । 

आफ्नो आत्मकथामा महात्मा गान्धीले यसबारे लेखेका छन्, ‘त्यस सीधासाधा किसानले मेरो हृदय नै जित्यो ।’

अप्रिल १९१७ मा गान्धी पहिलो पटक चम्पारण पुगेका थिए । यहाँका किसानका दुर्दशा हेरेर गान्धीले ती किसानको हकहितका लागि आवाज उठाए । 

अहिंसा रूपी अस्त्रको पहिलो प्रयोग गान्धीले चम्पारणमा गरेका थिए । पछि गएर गान्धीको यही अहिंसा रूपी अस्त्र भारतको आजादीको लडाइँमा ‘गान्धीवादी लडाइँ’ बन्यो । 

प्रियंकाको कांग्रेसमा ‘इन्ट्री’लाई लिएर उत्साहित भएको भएको पार्टीको एक वर्ग उनको प्रतिरक्षामा ओर्लेको छ । त्यस वर्गको तर्क छ– प्रियंका पार्टी अध्यक्ष आफ्नो दाइ राहुलको छविलाई ‘ओभरटेक’ गरेर अगाडि जान चाहान्नन् । त्यसैले उनले फितलो सम्बोधन दिएको खबर एजेन्सीको सहयोगमा तयार गरिएको हो ।