रुसी राष्ट्रपति पुटिन झनै शक्तिशाली, सन् २०३६ सम्म शक्तिमा रहन पाउने

रुसी राष्ट्रपति पुटिन झनै शक्तिशाली, सन् २०३६ सम्म शक्तिमा रहन पाउने

लोकसंवाद संवाददाता  |  विदेश  |  असार १२, २०७७

रुस । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्याउनेगरी जनमत तयार भएको जनाइएकाे छ ।

झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउनुहुने भएको छ ।

पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो । नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ ।

संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याउनु भएको हो । त्यस प्रस्तावमा अहिले मात्रै मतदान भएको हो । शुरुमा गत अप्रिल २२ मा मतदान गर्ने तय भएपनि कोरोनाभाइरसको सङ्क्रमण फैलिदै गएपछि गत जुलाई १ का लागि तय गरिएको थियो । तर त्यतिबेला पनि हुन नसकेपछि सरेर अहिले मतदान गरिएको जनाइएको हो ।

मतदानका लागि एक हप्तासम्म मतदान केन्द्रहरु खुल्ला गरिएको थियो भने मतदान गर्ने बेलामा भिडभाड नहुने व्यवस्था गरिएको थियो । मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ । प्रत्येक कार्यकाल छ बर्षको हुने भएकाले उहाँले अर्को १२ बर्ष रुसमा शासन गर्ने कानूनी बाटो खुलेको छ ।

राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो । तर संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप छ बर्षे दुई कार्यकाल थपेकाले उहाँको कार्यकाल अव सन् २०३६ सम्म सुनिश्चत भएको हो ।

अहिले ६७ बर्ष हुनुभएका पुटिनले रुसमा गत दुई दशकदेखि शासन गर्दै आउनुभएको छ । उहाँ रुसी जनताका विचमा अति लोकप्रिय मानिनुहुन्छ । उहाँलाई थप दुई कार्यकाल शक्तिमा राख्ने प्रस्ताव सहितको संविधान संशोधनको यो प्रस्तावलाई संसदले यसअघि नै पारित गरिसकेको छ ।