पहिरोले बिजुलीको पोल बगाउँदा २ सय घरमा विद्युत् अवरुद्ध

पहिरोले बिजुलीको पोल बगाउँदा २ सय घरमा विद्युत् अवरुद्ध

लोकसंवाद संवाददाता  |  समाज  |  असार १२, २०७७

तनहुँ । बुद्धसिंह राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१३ निउरोघारीमा गएराति पहिरोले बिजुलीको पोल बगाउँदा दुई सय घरमा विद्युत् अवरुद्ध भएको छ । केही दिनदेखि परेको वर्षाले उक्त ठाउँमा पहिरो जाँदा बिजुलीको पोलमा क्षति पुगेको हो ।

पहिरोले ठूला–ठूला ढुङ्गा झारेर ११ केभी लाइनको बिजुलीको पोलमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख कपिल पाण्डेले जानकारी दिनुभयो । 'पहिरोले चार वटा पोलमा क्षति पु¥याउँदा व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाका दुई सय घरमा विद्युत् अवरुद्ध हुन पुगेको छ', उहाँले भन्नुभयो, 'पहिरो नहटाउँदासम्म मर्मत कार्य गर्न समस्या छ ।' ढुङ्गाले पोल र तारहरु थिचेकाले पहिरो हटाएपछि मात्रै मर्मतको काम गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

सो स्थानमा केही दिनअगाडि पनि पहिरोले दुईवटा पोलमा क्षति पु¥याएको थियो । सो पोल तत्कालै मर्मत गरी विद्युत् प्रवाह सञ्चालन गरिए पनि अहिले ठूलो पहिरो गएकाले पहिरो हटाएपछि मात्रै मर्मतसम्भारको काम गर्न सकिने विद्युत् प्राधिकरण  वितरण केन्द्रले जनाएको छ ।

 प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका संयोजक बद्रीनाथ अधिकारीले अवरुद्ध भएको बाटो खुलाउने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले दमौलीबाट डोजर पठाएर बाटोको पहिरो पन्छाउन लागिएको जानकारी दिनुभयो ।