गोदावरीका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्ने

गोदावरीका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १२, २०७७

ललितपुर । गोदावरी नगरपालिकाका दुई  वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्ने भएका छन् ।  नगरपालिका गठन भएपछि वडाहरु टुक्रिएसँगै तिनमा कमै मात्रामा स्वास्थ्य सेवाको सुविधा  छ । 

गोदावरी –६ र ११ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न चालु आर्थिक वर्षमा बजेट प्रदान गरेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, 'वडा ६ मा धमाधम भवन निर्माणको काम शुरु हुने भएको छ भने वडा ११ मा भवन निर्माणका लागि छलफल गरिरहेका छाैँ।' केन्द्रको भवन निर्माणपछि विभागले आवश्यक कर्मचारीसमेत व्यवस्थापन गरिदिने महर्जनले जानकारी दिनुभयो ।

विभागले पहिलो चरणमा भवन निर्माणका लागि  साढे ११ लाख रुपैयाँ बजेट दिएको छ । अपुग  रकम विभागले नै दिने जनाएको ६ का वडाध्यक्ष विष्णुमान महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीले पहिलो चरणमा ६ कोठाको एकतले भवन बनाउने भएका छाैँ । विभागले आउँदो आर्थिक वर्षमा पुनः रकम दिएपछि साढे दुई तलासम्मको भवन निर्माण गर्ने योजना बनाएका छाैं।' गोदावरीका कूल १४ वडामध्ये  दुई वडामा कमै मात्र स्वास्थ्य सेवासुविधा छ ।