वर्षा शुरु भएसँगै सप्तकोशीमा पानीको वहाव बढ्दै

वर्षा शुरु भएसँगै सप्तकोशीमा पानीको वहाव बढ्दै

लोकसंवाद संवाददाता  |  समाज  |  असार १२, २०७७

इनरुवा । तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आज मध्याह्न १२ :०० बजे गरिएको मापनानुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । अहिले कोशी ब्यारेजका २६ ढोका खुुला गरिएको छ । 

बिहीबार बिहान  कोशी व्यारेज भएर एक लाख सात हजार  क्युसेक प्रतिसेकेन्ड तथा १२ : ०० बजे एक लाख १८ हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव  थियो । आज बिहान ९ :०० बजे गरिएको मापनानुसार भने एक लाख ५९ हजार ९४० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको थियो ।  कोशी ब्यारेजका २४ ढोका खुला गरिएको थियो ।  

कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भए पनि ब्यारेजमा कुनै खतरा नरहेको सुुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।