आफैँलाई प्रश्न

आफैँलाई प्रश्न

वासुदेव अधिकारी  |  साहित्य  |  असार १३, २०७७

प्रिय बन्दाबन्दी,
आफूलाई छाम्दैछु
आफैँलाई हेर्दैछु
विगतसँग बात मार्दैछु 

संसार बनाउन 
मुलुक सपार्न
अरुलाई कति गाली गरेँ ? 
आफूले कति काम गरेँ ?
एक एक जोखिरहेछु 
एक एक हिसाब  निकालिरहेछु 

जंगल जानेहरुले जंगल फाँडे 
नदी पस्नेहरुले वालुवा चोरे
कानुन लाग्ला तिनलाई 
सिंहासन बस्ने /ताक्नेले
सपना तुहाए 
सपना कुहाए
इतिहास जाइलाग्ला तिनलाई 

घरै बस्ने मैले 
साग मूला तुलसी रोपेँ ? 
बाबरी वा पुदिना लगाएँ ? 

प्याज महंगियो भनेर 
किन रोएको म हिजो ? 
विषादिमा राष्ट्रियता 
किन खोजेको मैले हिजो ?

बन्दाबन्दीमा 
आफैँलाई प्रश्न गरिरहेछु 
आफ्नै स्कोर हेरिरहेछु ।