टीका चाम्लिङ | साहित्य | असार १३, २०७७
कोरिसकेपछि सयौं चित्र
एक्कासि थिच्यो भ्यानगगलाई
कुख्यात अपराधीले खेपिरहेको
कठोर यातनाजस्तो हजारौं दुःखले
तर, थिच्न सकेनन् उनको
मुटु, मस्तिष्क र सपनाको अनन्त परिधिलाई
झुल्कियो मस्तिष्कमा कलिलो घाम
चुम्यो क्यानभाष- क्षितिजले
पोतियो मुटु- रङ्गले
ओर्लियो जून- शिल्पले
फक्रीयो आँखा- सपनाले
र, मुस्कुरायो सूर्यमुखी फूल
नाघेर निकै लामो यात्रा
फैलियो संसारभरि
पुग्यो मानिसहरूको हातहातमा
खुल्यो दुनियाँको आँखाआँखामा
कतिले चुमे आबेशमा
मायाले टाँसे छातीमा
बाँडे उपहार उत्सवहरूमा
छापिए अखबारका मुखपृष्ठमा
सजिए ग्यालरी र सोकेसहरूमा
देखेर जम्मै दृश्य-परिदृष्य
चकित भयो आफै
भ्रमित भयो आफै
बाध्य भयो सोच्न ऊ
'मेरो मुटु हो मस्तिष्क
फैलिरहेको यो धरतीमा यस्तरी ?
फूलको चित्र हो कि रङ्ग
खुलिरहेको यो आकाशमा यस्तरी ?'
उब्जियो अनेकौँ प्रश्नमाथि
अर्को एक गम्भीर प्रश्न !
'के मानिस फूलजस्तै हार्दिक बन्न सक्छ ?
के संसार रङजस्तै मार्मिक बन्न सक्छ ?'
खोज्दाखोज्दै जवाफ
पोखियो एक युगीन रङ
र, बाँचिरहेछ घामभएर
धरतीको क्यानभासभरि सूर्यमुखी फूल ।