सैनिक विद्रोहका नायक बद्रीविक्रमको समाचार बनाउँदाको क्षण : रेडियो खोल्दा नबजेपछि भाइद्वारा आग्लाे प्रहार !

सैनिक विद्रोहका नायक बद्रीविक्रमको समाचार बनाउँदाको क्षण : रेडियो खोल्दा नबजेपछि भाइद्वारा आग्लाे प्रहार !

हरिविनोद अधिकारी  |  साहित्य  |  असार १३, २०७७

समय कसरी बत्तासिन्छ, समय कसरी बिस्तारै हिँड्छ अनि समय कसरी आफ्ना रफ्तारमा उडिरहन्छ । मान्छेले समय चक्रको यन्त्र बनाउने कल्पना गर्छन् र बितेका समयमा साँच्चै भौतिकरुपमा पुग्न पाए हुन्थ्यो भनेर सोचेका हुन्छन् । 

मैले यी संस्मरण लेखिरहँदाको समय असार महिनाको हो । समयको व्यतीत क्रममा विपला, पला, घडी, प्रहर, दिन, रात, सप्ताह, पक्ष, महिना, अद्र्ध वर्ष, वर्ष गर्दै समय बितिरहेको हुन्छ । म पनि ६६ वर्ष पूरा गरेर ६७ वर्षका सुरुवाती महिनामा मै रहेछु । समय बितेको पत्तै भएन । भानुभक्तले घाँसीको कुरा सुनेर आफ्नो मूल्याङ्कन आफैँ गर्दागर्दै भन्नुभयो- मो भानुभक्त धनी भईकन आज यस्तो । अर्थात् उहाँमा केही अमरत्व प्राप्त गर्ने काम गर्ने आन्तरिक प्रेरणा आयो । मेरो त जीवनको उत्तरार्द्ध भइसक्यो, समाजका लागि, देशका लागि केही गर्न सकिएन भन्ने प्यास बाँकी रहेको छ ।

 कुनै दिन पनि आराम गरेको समय थाहा छैन, सधैँ कता हो कता हिँडिरहेको जस्तो लाग्छ, निष्क्रिय बसेको पनि थाहा छैन र सक्रियताले समाज र देशको लागि केही गर्न पनि सकेको आफैँलाई लागेको छैन । खराब नगर्नू , आफूलाई आफैँले छि भन्ने काम नगर्नू भन्ने बाको विचारलाई सधैँ शिरोपर त गरेँ तर भाग्यको कारणले हो वा समयलाई मैले राम्रोसँग चिन्न नसक्दा सायद काली गण्डकीका पत्थरमध्ये शालिग्राम छान्न सकिन कि ?

 तर आफूमा आफैँलाई धिक्कार भन्ने पनि रहेन, मैले यो काम गरेँ भनेर यसरी लेख्दा सगर्व घोषणा गर्ने काम पनि भएन । यो विषाद पनि होइन, यो पीडा पनि होइन र यो कसैप्रतिको लाञ्छना पनि होइन । यो स्वमूल्याङ्कन हो । बाले धेरै स्कुल खोल्नु भयो, धेरैको भलो गर्नुभयो  र त्यो बेलामा पूर्व २ नम्बरको नेपाली काँग्रेसका लागि आर्थिक भारको जिम्मा लिनु भयो भनिन्छ । हुनसक्छ, क्षेत्र नम्बर १४ र १५मा उहाँको वर्चस्व थियो भन्ने मलाई पनि थाहा छ । 

बा धर्मभीरु हुनुहुन्थ्यो । तर समयले ल्याएको परिवर्तनलाई पनि आत्मसात् गर्न चाहनु हुन्थ्यो । आफैँले आयोजना गरेका नेपाली काँग्रेसका भोज भतेरमा बा मात्र धोती फेरेर खानु हुन्थ्यो रे ! सकेसम्म बाहुनलाई लिएर भात पकाउने व्यवस्था गराउनु हुन्थ्यो रे ! आफूचाहिँ भान्साको छेउमा धोती फेरेर खानु हुन्थ्यो रे !  भात पकाउने पक्कै नै धोती फेरेर पकाउँथे रे !  आफू लुगा लगाएर खाए पनि मेरो मवालीबा गोविन्द बरालले बाको त्यो समस्याको समाधान गर्नुहुन्थ्यो रे ! 

सायद बासँग केही भन्न नसके पनि हजुर बालाई पार्टीमा लागेर जेठो छोराले पैसा खर्च गरेको मन पर्ने रहेनछ । तर तीनओटी छोरीपछि जन्मेको जेठो छोरोलाई केही पनि नभन्ने उहाँको समस्या थियो भन्ने कुरा हजुरआमाले हामीलाई भन्नुहुन्थ्यो । माहिला बा घर हेर्ने, खेती गर्ने, बस्तुभाउको हेरचाह गर्ने, कान्छा बा आसामी उठाउने, बाहिर फेर जाने गर्नुहुन्थ्यो रे ! एक पटक कान्छा बालाई हजुर बाले सायद केही भनेर गाली गर्नुभएछ । अनि कान्छा बा आफ्नो भाग्य अजमाउन भनेर नेपाल जानुभएछ । त्यत्रो साहुको पुलपुलिएको कान्छो छोरो सामान्य सिपाहीमा भर्ना भएर काम गर्नु भएछ  ।

घरमा आएपछि आमाले भन्नुभयो- बाबु तेरो बिहेको कुरा छिनियो खुर्कोटमा । केटी हेर्न जान्छस् कि ? मैले भने–केटी हेर्न त जाउँला तर मन परेन भने भन्न पाउँछु कि पाउँदिन । नजिकै बा हुनुहुँदो रहेछ । बाले झट्ट भन्नुभयो–पाइँदैन । मैले जे निर्णय गरेँ, र वाग्दान भयो । अनि मैले भनेँ - त्यसो भए भैगो । बा आमाले जे गर्नुभयो, मेरै लागि गरेकोले म जान्न ।

यसै पनि बाहुनलाई सेनामा प्राथमिकता नदिने बेला थियो तर उहाँको समवयी खनियाँ खर्कका बद्रीविक्रम थापा सेनाको ठुलै पदमा भएकाले उहाँलाई त्यहाँ भर्ना हुन गाह्रो परेनछ । भर्ना हुनुभएछ । एउटा कुरा भन्नुहुन्थ्यो कान्छा बा हामीलाई पछि पनि । एक दिन सेनाको  ड्रेसमा बजारतिर समूहमा नै घुम्न गएको बेलामा कतै सेनाको हाकिमले माथि बार्दलीबाट भनेछन्– ए केटा हो, त्यहाँ गाईको गोबर सोहोर त, झिक्रा बाहिर फाल्देऊ त । अरु अलमल पर्दै थिए, कान्छा बाले ठुलो स्वरमा भन्नुभएछ- हामी त ५२ मुड्की ५३ घुस्सा खान पो सेनामा जागिर खान आएको, तिमीले भनेको मान्न होइन, हामी अहिले डिउटीमा होइनौँ, स्वतन्त्ररुपमा बिदामा घुम्न निस्केका हौ । त्यसो भनेर अरु साथीहरूलाई पनि लिएर उहाँ हिँड्नु भएछ ।

भोलिपल्ट रोलकलमा त्यही हाकिमले हिजो मलाई मुखमुखे लाग्ने को हो भनेर कड्किँदा कान्छा बाले भन्नुभएछ-त्यो मान्छे मै हुँ । हामी सरकारको सिन्दूर पहिरेका हौँ, तपाईँको निजी कामका लागि लाग्न सक्दैनौ, लागेनौँ । यो घटना सायद २००५ सालतिरको हो जस्तो लाग्छ किनभने पछि राणाको गाथगादी ताकेका अपराधमा बद्रीविक्रम काकासहितका त्यो समूहका सेनाहरूलाई कोर्ट मार्सल भएर मृत्युदण्ड दिने फैसला भएको बेलामा कान्छा बा पनि भगुवा भएर हिँड्नु भएछ बद्रीविक्रमको सल्लाहमा काँग्रेसको प्रचार गर्न अहिलेको सिन्धुलीतर्फ । 

त्यो बेलामा नै एउटा रेडियो ल्याउनु भएको रहेछ अलइन्डिया रेडियो सुन्नका लागि । ठुलो रेडियो थियो  सन्दुसजस्तो, अहिलेका टेलिभिजन जस्तो । हाम्रो घरमा राखेको रेडियोमा एभरेडीको अङ्ग्रेजी नाइनभित्र एउटा बिरालो रहेको हुन्थ्यो । ब्याट्री नै सानो तिनो टेलिभिजन जस्तो थियो । हामीले थाहा पाउँदा त रेडियो नेपाल आउँथ्यो र धर्मराज थापाको गीत हामीलाई मनपथ्र्यो । सायद सबैलाई उहाँको गीतको मोहनी लागेको थियो । अहिले थाहा भयो, तारादेवीको स्वर पनि आउँथ्यो । ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो ......जस्ता गीत कालजयी नै भए । हामीलाई पनि मन पथ्र्यो । 

तर मलाई समाचार मनपथ्र्यो । सायद भाग्यप्रसाद शाह, प्रचण्डमान सिंह, कृष्णा ताम्राकारहरूको नाम जस्तो लाग्छ । नेवारीमा पनि समाचार आउँथ्यो हरि श्रेष्ठले भन्नुहुन्थ्यो । पछि हरिजीसँग चिनजान हुँदा मैले भनेको थिएँ—थोँ रेडियो नेपाल खः भन्ने सुरुको वाक्य याद थियो । हिन्दीमा पनि समाचार भनेको जस्तो लाग्छ । रेडियो नै पो बिहान २ घण्टा, दिउँसो सायद २ या ३ घण्टा र बेलुका पनि त्यस्तै  २ घण्टा जस्तो लाग्छ , बज्थ्यो । हाम्रा घरमा बेलुका जात्राजस्तै हुन्थ्यो तर रेडियो ठूल्दिदीको कोठामा हुनाले बाहिर नै बसेर मानिसहरूले सुन्थे पेटीमा बसेर । 

बाहरू, हजुरआमा, हामी केटाकेटीहरूचाहिँ कोठामा नै बस्थ्यौँ । एक दिन भाइले कार्यक्रम नभएको बेलामा खोल्न खोजेछ, बजे पो । अनि उसले आग्लाले हानेछ बजाउन । रेडियोमा ठ्याङ्ग त भएछ तर कार्यक्रम बज्ने कुरै भएन । ब्याट्री बुद्धिमान दाइले काठमाडौँबाट ल्याइदिनु हुन्थ्यो । बिग्रेको ब्याट्रीमा चक्का चक्काहरू हुन्थे, हामी त्यसलाई पैसा भनेर खेलाउँथ्यौँ । कालो मसला हुन्थ्यो । खोइ किन हो, त्यो मसलालाई पिँधेर खेल्थ्यौँ । अहिले पो थाहा भयो, त्यो त विष नै हुने रहेछ । 

धन्य ! हामीले खाएनौँ । पछि  त रेडियो पनि बिग्रियो, त्यत्तिकै थियो । एक पटक बनाएर बजाउने कुरा भयो, तर त्यो ब्याट्री पाउन पनि काठमाडौँ नै जानुपर्ने । सेतो हात्ती भयो । त्यो कान्छा बाले ल्याउनु भएको भए पनि मनोरञ्जनका लागि ठूल्दिदी बाँचुन्जेलसम्म उहाँकै कोठामा रह्यो । पछि के के भयो, थाहै भएन किनभने हाम्रा बाहरू छुट्टिनु भयो, हामी बारीको बिचमा खेत नजिक पारेर सर्‍यौँ, कान्छा बा पण्डित कुलनाथ जिबाको खाइनपाइन किनेर माझीबारी नेर जानु भयो । मूल घरमा माहिला बा मात्र बस्नुभयो । हाम्रो भागमा परेको मतान, कान्छा बाको भागमा परेको खोल्सापारिको घर सबै माहिला बालाई जिम्मा लगाएर आएको सम्झना छ मलाई । कान्छा बा २०२४ सालमा स्वर्गे हुनुभयो, माहिला बा २०३८ सालमा स्वर्गे हुनुभयो भने मेरा बा २०६१ सालमा स्वर्गे हुनुभयो । हुन त कसले देखेको छ र को स्वर्ग गयो वा स्वर्ग नै छ कि छैन ? तर हाम्रो चलन के हो भने स्वर्गीय हुनु भयो भन्ने छ र त अहिले पनि कोही मरेपछि लेख्दा स्वर्गीय वा स्व. लेख्ने चलनले निरन्तरता पाइरहेकै छ । चाहे त्यो आस्तिक होस् या नास्तिक । अर्थात् मृतक भन्ने परिचयका लागि स्व. वा स्वर्गीय लेख्ने चलन छ । 

यहाँ प्रसङ्ग आयो बद्रीविक्रम थापा काकाको । हाम्रो परिवारसँग राम्रो सम्बन्ध थियो । त्यो परिवारका अरूसँग त धेरै हिमचिम भएन तर पनि शोभा थापा हाम्रै कक्षा हुनुहुन्थ्यो, उहाँको भाइ लक्ष्मीविक्रम थापा, जसलाई हामी मायाले लबी भन्थ्यौँ ।  हामीभन्दा एक कक्षा तल थियो । अर्थात् लबीले सायद २०२७ सालमा प्रवेशिका परीक्षा दिएको जस्तो लाग्छ । पछि चिकित्सक भयो । भनिन्छ, बद्रीविक्रम काकाको परिवारमा १२ जना डाक्टर थिए रे उहाँको स्वर्गीय हुने बेलामा । उहाँ साँच्चै नै गान्धीवादी नेता हुनुहुन्थ्यो । उहाँलाई मृत्युदण्ड दिनका लागि राजाको पञ्जाछाप या हस्ताक्षर लिन राणाहरूले कागज लिएर गएकै बेलामा राजा त्रिभुवनका माहिला छोरा हिमालय वीरविक्रम शाहले मदिरा खाएको नाटक गरेर सरकार बाहिर आउनु पर्‍यो भन्दै दरबारबाट निकाले पछि भारतीय राजदूतावासमा शरण लिन गएको कुरा छ, त्यसैले बद्रीविक्रम काकाको मृत्युदण्ड टरेको थियो । अनि नेपाली काँग्रेसले जनक्रान्ति गरेर प्रजातन्त्र स्थापना गरेपछि मात्र उहाँहरूको सैनिक समूह कारागारबाट, त्यो पनि गोल घरबाट छुटेको भन्ने सुनेको हुँ । अहिले उहाँको छोरो भाइ किरणविक्रम थापा साँच्चै नै काकाको पदचिह्न पछ्याउने पितृभक्त छोरो भएका छन् । काका एउटा महान् समाजसेवी र स्वच्छ प्रशासक हुनुहुन्थ्यो । उहाँ बडाहाकिम, अञ्चलाधीश र गुठी संस्थानको अध्यक्ष हुनुभयो र गुठीलाई प्रशासनिक रुपमा सबल बनाउनु भयो र पछि उहाँलाई उहाँकै बाल सखा कवि तथा राजनीतिज्ञ कुलचन्द्र कोइरालाले संस्कृति अनुसन्धानमा धेरै सघाउनु भयो । 

काका बद्रिविक्रम थापाका छोरा छोरीले कहिल्यै पनि आफ्ना पिताजीको पदको धाक धक्कु लगाएनन् र उहाँलाई प्राप्त गाडीको सुविधा लिन उनीहरूलाई वर्जित थियो । नेपाली काङ्ग्रेसबाट राजनीति सुरु गरे पनि पछि समाजसेवा र राष्ट्रसेवक गर्ने त हो नि भनेर राजाको बेलामा पनि बडाहाकिम, अञ्चलाधीश हुनुभयो तर पञ्चायतका मानिसहरूले उहाँलाई पञ्च ठानेनन् , वास्तवमा साँच्चै व्यावहारिक प्रजातन्त्रवादी हुनुहुन्थ्यो । उहाँ जनकपुरमा अञ्चलाधीश हुँदा नै हामीले नयाँ शिक्षा योजनाका विरुद्धमा आन्दोलन गरेका थियौँ । हामी विद्यार्थी नेताहरूलाई छोड्नु पर्‍यो भनेर प्रतिनिधि मण्डल गएका थियौँ । जनकपुरमा आन्दोलन चर्केको थियो, हामी विद्यार्थी नेताहरू सकेसम्म भूमिगत शैलीमा बस्थ्यौँ तर जनकपुरमा हामी आफूलाई सुरक्षित ठान्थ्यौँ । जनकपुर काँग्रेसमय नै थियो प्रतिबन्धको अवस्थामा पनि । अनि उहाँले हाँसेर भन्नुभयो–जजसलाई पक्राउ गर्नुपर्ने हो, सबै पो आएका रहेछन् । सजिलै भयो । तर हामी किन हो उहाँलाई काँग्रेस नै ठान्थ्यौँ । उहाँले ढोका थुनेर हामीलाई भन्नुभयो- मैले के गल्ती गरेको छ र ? कक्षा ७ को सच्चिदानन्द मिश्रलाई, कक्षा १०को विमलेन्द्र निधिलाई क श्रेणीको खाना दिएर जेलमा राखेको छु । उनीहरूलाई अब पक्राउ गर्दा ख श्रेणीको खाना दिन पाइँदैन । वास्तवमा क श्रेणीको खाना भनेको राजनीतिज्ञ, विशिष्ट श्रेणीको व्यक्ति र स्नातक तह पास गरेको व्यक्तिलाई मात्र दिन्थे क्यारे शान्ति सुरक्षामा थुन्दा । अनि मलाई भन्नुभयो- सायद तिमी रामप्रसाद दाइका छोरा हौँ क्या रे ! तिमीलाई पनि गिरफ्तार गर्ने लिस्टमा राखेका छन् । अहिले मेरो भन्दा पनि मण्डलेको राज छ, मलाई त काँग्रेस हो यो भनेर दरबारमा कुरा लगाएका छन् रे ! मलाई कुनै पनि दिन हटाउन सक्छन् अञ्चलाधीशबाट । म हिंडने बेलामा सबैलाई छोड्ने छु । बाहिर मण्डलेहरु घुमिरहेका छन् तिमीहरूलाई भेटेकोमा रिसाउँदै छन् । यहाँबाट निस्केपछि सिधै जनकपुर जानू, यता नबस्न । सबैलाई पक्राउ गर्न सक्छन् । 

बद्रीविक्रम काकाको सन्देश र काँग्रेसको पर्चा लिएर कान्छा बा घरतिर आउनु भयो र खुर्कोटमा साँघुको मुखमा बसेर काँग्रेसका पर्चा बाँड्नु भयो रे । त्यस बेलामा बद्रीविक्रम थापाका साथीहरू गुरु उमानाथ शास्त्री पनि हुनुहुन्थ्यो जसले प्रजातन्त्रका पक्षमा प्रचार अभियान चलाउनु भएको थियो । पछि विष्णुलाई पनि भन्नुहुन्थ्यो -तेरा बा र म त  साथी हौँ ।

बद्रीविक्रम काका सायद महोत्तरी समाजको अध्यक्ष हुनुहुन्थ्यो जनबेलामा उहाँको निधन भयो । स्वर्गे हुनुभयो । युवा चर्चित पत्रकार रवि अधिकारी हाम्रो रेडियो नेपालको कार्यक्रम घटना र विचारमा आएर भन्न थाले —पुरु दाइ, हरि दाइ ,आज पूर्व अञ्चलाधीश तथा बडाहाकिम बद्रीविक्रम थापाको आज निधन भयो । समाचार बनाउनु पर्‍यो । पुरुषोत्तम दाहाल भाइले मतिर हेरेर भने- दाजुलाई भनन, दाजुले बनाउनु हुन्छ समाचार । मैले भनेँ—ल त रविबाबु भन, के के हो उहाँले गरेका कामहरू । उनले समाजसेवाका कामहरुको विवरण देखाए र अञ्चलाधीश, बडाहाकिम भएको कुरामात्र भने । अनि मैले पुरुलाई भनेँ—पुरु म आजको मुख्य समाचार यसैबाट ब्रेक गर्छु । पुरुलाई थाहा थियो २००७ सालको आन्दोलनमा उहाँले पुर्‍आएको योगदानका बारेमा । अनि मैले बनाएँ- २००७ सालको राणा विरोधी आन्दोलनमा सैनिक विद्रोहका नायक बद्रीविक्रम थापाको आज निधन भएको छ र नेपाली प्रजातान्त्रिक इतिहासको एउटा कालखण्डको नायकले आज विश्राम लिएको छ । उहाँप्रति श्रद्धाञ्जली दिएर मात्र आजको हाम्रो कार्यक्रमको थालनी गर्छौँ । अनि विस्तारमा उहाँको जन्म, अरु समाजसेवाका बारेमा त्यस दिनको कार्यक्रमको आधा भाग नै उहाँमाथि समर्पण गरेका थियौँ । रवि त छक्क पर्‍यो र भन्यो आज म नआएको भए यो समाचार जान्थ्यो त ? पुरुले हाँसेर भन्यो, हामीले थाहा पाइसकेको थियौँ र छलफल गरिसकेका थियौँ आजको मुख्य समाचार थापाजीको नै हुनेछ । तिमी आयौ, झन् राम्रो भयो । रवि खुसी भयो । हामीले पनि त्यो जिउँदो सहिदका बारेमा आफ्नो श्रद्धाञ्जली दिन पायौँ । 

अन्तमा,

अहिले आयो असार । असारलाई महाकवि कालिदासले साह्रै मनमोहक महिनाको रुपमा लिएका छन् र ती पानी बोकेर हिँडेका बादलहरूलाई उनले सन्देशवाहकको रुपमा यसरी लिएका छन् कि सायद ! प्रेमिकाको गाउँमाथिबाट उडेर आएको होला, अब पनि मेरो सन्देश त्यहीँ पुर्‍याइदे । बादलहरूलाई कुनै बन्धन हुँदैन । स्वच्छन्द । मनझैँ । निर्बन्ध । असार महिनाको महत्त्व मेरालागि पनि उस्तै छ । मेरो बिहे भएको पनि २०३१ साल असारमा नै हो खुर्कोटमा । आदरणीय माता मानकुमारी र पिता ईश्वरीप्रसाद उपाध्याय आचार्यकी माहिली छोरी देवकीदेवीसँंग मेरो विवाह भएको थियो असार १४ गते । जीवनको एउटा महत्त्वपूर्ण काम नै हो रहेछ । भर्खर कलेजमा पढ्दै गर्दा र प्रजातन्त्रका पक्षमा अनन्त समयसम्म लडिरहनु पर्ने राजनीतिक आस्थाप्रति विश्वास भएको बेलामा अरु सबै कुरा गौण हुने रहेछ ।

राजनीतिको भूत यसरी शरीरमा चढ्ने रहेछ कि एक बारको जुनीमा देशप्रति  किन न्यौछावर नहुने भन्ने जोस मडारिँदो रहेछ । मलाई पनि सिन्धुलीमा पढ्दै नेपाली काँग्रेसप्रतिको आस्थाको  अमिट छाप लागेको थियो । त्यसको कारण थियो बा काँग्रेस हुनुभएको पनि होला, घरमा काँग्रेसका साहित्यहरू देखेको  र पढेकोले पनि होला र होला प्रजातन्त्रको एउटा सुन्दर परिणामका बारेमा स्वर्णिम कल्पना किनभने हाम्रो पुस्ताले प्रजातन्त्रको स्वाद चाखेकै थिएन ।  त्यसै त्यसै सहिद भएर पनि प्रजातन्त्रका पक्षमा लाग्ने विचारले म व्यग्र थिएँ । त्यो बेलामा प्रजातन्त्र पुनर्स्थापनाबाहेक अरु सबै कुरा गौण थिए । त्यही बेलामा मेरो बिहेको कुरा भएछ  । बाले केटी हेर्नुभएछ ।

म जनकपुरतिरबाट आउँदै थिएँ, पूर्व परिचित शिक्षक ओमप्रकाश आचार्यजीलाई लालगढदेखि उत्तरको दमारमा भेटेँ, म पाटुहुँदै ग्वाल्टार जान हिँडेको थिएँ । उहाँले मलाई भेट्ने बित्तिकै सोध्नु भयो–तपाईँलाई सुट हालौँ कि दौरा सुरुवाल र कोट । मैले कुरा बुझिन र सोधेँ– किन र केका लागि ? उहाँले भन्नुभयो–तपाईँलाई थाहा छैन र मेरी माहिली बहिनी देवकीसँग तपाईँको बिहे आगामी असार १४ गते हुँदैछ ? वास्तवमा नै मलाई केही पनि थाहा थिएन र थाहा नभएको कुरा व्यक्त गरेँ । विवाहको कुराले एउटा तरङ्ग त ल्याउँदो रहेछ । उहाँले कुरा नै छिनेको भनेपछि मैले त्यहाँ केही भन्ने कुरा नै थिएन र मेरो नापो उहाँले कुनै धागोका सहायताले लिनुभयो । म त्यसताका खद्दरका लुगा मात्र लाउँथे र फुल पाइन्ट त लगाएकै थिएन । पछि सानो ठिमीमा डिप्लोमा (बीएड )पढ्दा मात्र पाइन्ट लगाएको थिएँ । खादीको कुर्था सुरुवाल र टोपी त लगाउँथे । 

घरमा आएपछि आमाले भन्नुभयो- बाबु तेरो बिहेको कुरा छिनियो खुर्कोटमा । केटी हेर्न जान्छस् कि ? मैले भने–केटी हेर्न त जाउँला तर मन परेन भने भन्न पाउँछु कि पाउँदिन । नजिकै बा हुनुहुँदो रहेछ । बाले झट्ट भन्नुभयो–पाइँदैन । मैले जे निर्णय गरेँ, र वाग्दान भयो । अनि मैले भनेँ - त्यसो भए भैगो । बा आमाले जे गर्नुभयो, मेरै लागि गरेकोले म जान्न ।

वास्तवमा त्यो बेलामा प्रजातन्त्रको पुनर्स्थापनाबाहेक अरु कुरामा ध्यानै थिएन । राजनीतिको नसा मात्र थियो । बाका लागि मेरो विवाह एउटा प्रतिष्ठा र धेरै सन्तानपछिको छोरो अनि माहिला बा, कान्छा बाका छोराहरूको, छोरीहरूको विवाह भइसकेको अवस्थाले पनि सायद रहर पनि थियो, आमा बिरामी भइरहने हुँदा बाध्यता पनि थियो ।

त्यो बेलामा मेरो उमेर २० वर्ष पुगेको र देवकीको उमेर १८ वर्ष पुग्नै लागेको थियो । हामीले एक अर्कालाई  बिहेकै मण्डपमा देख्यौँ, स्वयंवरको बेलाम । यसरी मागी विवाह भएपछि किन गर्नुपर्थ्यो र स्वयंवर तर भर्खर भर्खर सुरु भएको स्वयंवरको चलनमा हामी पनि संलग्न भयौँ ।  मलाई पनि लागेको थियो कस्ती होलिन् र उनलाई पनि लागेको थियो होला कस्तो होला जीवन बिताउने केटो ? जस्ता भए पनि ४६ वर्ष बित्यो । एकर्काका कहिल्यै भिन्न नहुने साथीको रुपमा छौँ । हाम्रा तीन जना छोरी र दुई जना छोराहरू छन् । जेठो छोरो सिद्धि विनोद, जेठी छोरी करुणा, माहिली छोरी अरुणा, कान्छी छोरी अर्चना र कान्छो छोरो पुलकित विनोद । अहिले जेठा छोराका दुई ओटा छोरीहरू मेरा प्यारी नातिनी विश्रुता र आरुषि, करुणाकी प्यारी छोरी नातिनी सुदेष्णा, अरुणाका प्यारी छोरी नातिनी प्रसिद्धि र अर्चनाकी प्यारी छोरी नातिनी अदिति गरी  पाँच जना नातिनीहरू छन् । 

जीवनका तरेलीहरूको सम्झना उकुस मुकुस गरेर बाहिर आउन तयार छन् ।

क्रमशः