नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा लालबन्दीमा देखियो

नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा लालबन्दीमा  देखियो

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १३, २०७७

सर्लाही ।  जिल्लाकोे लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ ।

लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिनु भयो ।

जिल्लाको  लालबन्दी नगरपालिका–२ स्थित तेलबाली अनुसन्धान कार्यक्रममा लगाइएको विभिन्न बालीमा सलह किराको प्रवेश देखिएको हो । '२०७७ असार १३ गते शनिबार बिहान फिल्ड भिजिट गर्ने क्रममा बदाम, घैँचा, धानको बेर्नालगायतमा सलह किराले झ्याप्पै छोपेको देखियो ।', तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ वैज्ञानिक डा विशेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । सलह किरा हजारौंको सङ्ख्यामा रहेको उहाँले बताउनुभयो ।

'शुक्रबार राति छिमेकी देश भारतबाट करिब एक हजार फट्याङ्गराजस्तो देखिने जातको सलह नामक किरा नेपाल प्रवेश गरेको बुझिएको' उहाँले भन्नुभयो । जिल्लाका किसान चिन्तित बनेका छन् ।

फट्याङ्ग्र वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको  केन्द्रले जनाएको छ ।

 सलह किराले  बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पुर्‍याउने जानकारले बताएका छन । विज्ञका अनुसार करोडौंको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्‍याउने विज्ञ बताएका छन् ।

'प्राविधिक टोली खटिएको छ, त्यसको क्षेतिको प्रकृति जातलगाएतका बारेमा चाडैँ पक्ता लगाउने'उहाँले बताउनुभयो । सलह किराको जातको पहिचान र व्यावस्थापन लगायतका काममा प्राविधिक टोली परिचालन भएको जनाएको छ ।